१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

लक्ष्य बिर्सिदै भैरहवा भन्सार

रुपन्देहीको भैरहवास्थित भन्सार कार्यालय। तस्बिर : नागरिक

भैरहवा - मुलुककै दोस्रो ठूलो र प्रदेश ५ को पहिलो भन्सार नाकाको रुपमा रहेको भैरहवा भन्सार कार्यालयले फागुन महिनामा पनि लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेको छैन। चालु आर्थिक वर्ष २०७५/७६ को सबै महिनामा लक्ष्य हासिल गर्न नसकेको भन्सारले फागुनमा पनि लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसक्दा वार्षिक राजस्व संकलन लक्ष्य पनि प्रभावित हुने देखिएको छ। भन्सार कार्यालयले आवको फागुन मसान्तसम्ममा कुल ७१ अर्ब १७ करोड ९६ लाख ९६ हजार लक्ष्य पाएकामा ५८ अर्ब ७१ करोड नौ लाख ३५ हजार राजस्व असुली गरेको छ। विगत वर्षमा भन्दा यस आर्थिक वर्षमा एम एस बिलेट, सिमेन्ट क्लिंकर, डिजेल, बस ट्रक, ग्यासलगायत आयातमा कमी भएकाले राजस्व असुली लक्ष्यको ८२.४८ प्रतिशत मात्र लक्ष्य हासिल भएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत पूर्णप्रसाद लम्सालले जानकारी दिए।

कार्यालयलाई फागुनमा मात्र आठ अर्ब ४७ करोड पाँच लाख ३१ हजार लक्ष्य दिएको थियो। विविध कारणले लक्ष्यको ७४.२४ प्रतिशत अर्थात ६ अर्ब २८ करोड ८९ लाख सात हजार मात्र असुली भएको छ। खुला सिमाना, छोटी भन्सारहरु मूल भन्सारको रुपमा परिणत हुनु, भैरहवा भन्सार मातहत रहेका भन्सार आफैं सञ्चालन हुनुलगायत विविध कारणले राजस्व संकलन केही कमी भए पनि गत वर्षभन्दा बढी लक्ष्य दिएकाले पूरा गर्न ग्राह्रो भएका हो। गत वर्ष दिएको लक्ष्यमा कार्यालयले साढे १२ प्रतिशत लक्ष्य पूरा गर्न सकेको थिएन। गत वर्षको लक्ष्यमा १३ प्रतिशत थप गरेर यस वर्ष लक्ष्य कार्यालयले पाएको छ । कार्यालयलाई भन्सार विभागले एक खर्ब ६ अर्ब ८८ लाख ८६ हजार वार्षिक लक्ष्य दिएकामा फागुनसम्म कार्यालयले लक्ष्यको ५५.३८ प्रतिशत मात्र असुली गर्न सकेको छ। गत वर्षको तुलनामा यस वर्ष भन्सारले हालसम्म कुल वार्षिक लक्ष्यको दुई प्रतिशतले पछाडि छ, गत वर्ष फागुनसम्म कार्यालयले ५७.४२ प्रतिशत वार्षिक असुली गरेको थियो।  

चालु आर्थिक वर्ष २०७५/७६ को सबै महिनामा लक्ष्य हासिल गर्न नसकेको भन्सारले फागुनमा पनि लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसक्दा वार्षिक राजस्व संकलन लक्ष्य पनि प्रभावित हुने देखिएको छ।

दैनिक पाच सयदेखि सात सयसम्म मालबाहक गाडी आउने यो नाकाबाट दैनिक सरदर २३ करोडभन्दा बढी राजस्व संकलन हुँदै आएको छ। निर्यात घट्दो भन्सार कार्यालयका अनुसार आयातबाट राजस्व संकलन राम्रो भए पनि निर्यातबाट भने न्यून संकलन भएको छ। विगत केही महिनादेखि भएको आर्थिक मन्दीका कारण समग्र अर्थतन्त्रका साथै भन्सारको निर्यातमा समेत असर परेको छ। अघिल्लो वर्षको तुलनामा यस वर्ष निर्यात कम हुँदा व्यापार घाटासमेत बढेको छ। भैरहवा भन्सार कार्यालयको तथ्यांकअनुसार आव २०७५/७६ को फागुनसम्म दुई अर्ब ८० करोड ६५ लाख ९३ हजारको मालसामान भारत तथा तेस्रो मुलुक निकासी भएको भए पनि सो परिमाण अहिले २७ करोड ५७ लाख ३१ हजारले घटेर दुई अर्ब ५३ करोड ८ लाख ६२ हजार भएको छ। कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत पुण्यप्रसाद लम्सालका अनुसार फागुन महिनासम्म नेपालबाट काँच, खोटो रेजिन, पिना, प्लास्टिक पाइप, भाडा, सेन्थेटिक यार्न (बोरा, झोला), अदुवा, जडीबुटी, चाउचाउ, चुनढुंगा, बियर, कोदो, फापर, कुचोलगायत वस्तु निर्यातबाट ५० लाख ४२ हजार राजस्व असुली भएको छ।

दैनिक एक हजार मालबाहक गाडी पास
भैरहवा भन्सार कार्यालयले प्रशासनको सम्पूर्ण काम अन्तर्राष्ट्रिय स्तरको आसिकुडा प्रणालीबाट गरिरहेको छ। भन्सार कार्यालयले व्यापार सहजीकरण, सामाजिक सुरक्षा र राजस्व संकलनका नियमित कार्यलाई सजिलो बनाउन भैरहवासहित देशका सबै मूल भन्सारमा प्रशासनको सम्पूर्ण काम विद्युतीय आसिकुडा प्रणालीबाट गरिरहेको हो। जाँचपास प्रणालीलाई सूचना प्रविधिमा आधारित बनाउन भन्सार जाँचपासका लागि स्वचालित प्रणाली सञ्चालनमा ल्याइएपछि काममा जवाफदेही, पारदर्शी र समयको बचतसँगै राजस्व संकलनमा वृद्धि भएको भन्सार कार्यालय प्रमुख कमल भट्टराईले बताए। केन्द्रीय सर्भर काठमाडौंमा रहने र सबै ठाउँबाट अवलोकन गर्न मिल्ने व्यवस्था रहेको यो प्रणलीमा सबै काम पेपरलेस प्रोसेसिङबाट हुन्छ, स्वचालित प्रणाली भएकाले इन्टरनेट माध्यमबाट काम भइरहेको छ। विभागबाट नै सर्भर डाउन हुने समस्याले कहिलेकाहीँ काममा अवरोध आउने गरेको छ।

स्थानीय इन्टरनेटमा पनि समस्या आउने हुँदा अहिले तीनवटा फरक नेटको प्रयोग गर्दै सेवा दिइरहेका छौं। पहिला म्यानुअल पक्रियाबाट भन्सार गर्दा दैनिक दुई सय मालबाहक गाडी भन्सार हुँदै आएकामा आसिकुडा प्रयोगसँगै दैनिक एक हजारसम्म मालबाहक गाडी भन्सार पास गर्ने क्षमता छ, अहिले दैनिक सरदर पाँच सय मालबाहक गाडी भन्सार गरिरहेका कार्यालयले जनाएको छ। भन्सार विभागका कामलाई प्रभावकारी, लागत मैत्री र व्यवस्थित गर्न तीन वर्षअघि सो प्रणाली भैरहवा भन्सार कार्यालयमा पनि सञ्चालनमा आएको थियो। अन्तर्राष्ट्रिय स्तरको प्रणालीलाई नेपालसहित ९० भन्दा बढी देशमा सञ्चालन भइरहेको छ। डिजिटल कस्टम प्रणालीको सुरु भएसँगै भन्सार प्रशासनको सेवा व्यवस्थित र सेवाग्राहीलाई सहजता प्रदान भएको छ भने भन्सारमा हुने राजस्व चुहावट घटेको छ।

प्रकाशित: ६ चैत्र २०७६ ०२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App