१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कोरोना परीक्षण गर्न साधन अभाव

काठमाडौं – विश्वमा कोरोना संक्रमणले त्रास फैलाएपछि नेपाली जनसमुदायमा पनि रोग परीक्षणको माग बढिरहेको छ। तर सरकारसित परीक्षणका लागि आवश्यक पर्ने पिसिआर (पोलिस्मेयर चेन रिएक्सन) मागअनुसार मौज्दात छैन। हाल १५ सय मात्र पिसिआर रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। सरकारले २ हजारजति पिसिआर ल्याएमध्ये करिब ५ सय प्रयोग भइसकेका छन्।

पिसिआर कम भएका कारण शंका लागेजति सबै र निजी क्लिनिकका चिकित्सकको सिफारिसका बिरामीको नमुना परीक्षण नगरिएको एक निजी क्लिनिकका चिकित्सकले सुनाए। ‘लामो समय सेवा दिएका चिकित्सकको सिफारिसका आधारमा जाँच हुनुपथ्र्यो’, उनले भने।

जनस्वास्थ्य प्रयोगशालामा जम्मा १५ सय पिसिआर

उनले आफूकहाँ आएका शंकास्पद दुई बिरामीले कोरोना परीक्षण गर्न नपाएको गुनासोसमेत सुनाए। यस विषयमा बुझ्न खोज्दा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोेकेको दायराभित्र परेका व्यक्तिको मात्र जाँच  गर्न मिल्ने व्यवस्था गरिएको बताए। दायराभित्र नपरेकाको कोरोना जाँच हुन नसकेको राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले पनि पुष्टि गरे। उनले शंकास्पद सबैको परीक्षण गर्न नपाउँदा बिरामी अन्योलमा परेको स्वीकार गरे। परीक्षणको दायरा फराकिलो बनाउन प्राविधिक समिति र विश्व स्वास्थ्य संगठनसित छलफल अघि बढाइने पाण्डेले बताए।

साधन नहुँदा शंका लागेजति सबैको कोरोना परीक्षण हुन सकेको छैन।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकृत डा. राजेशकुमार गुप्ताका अनुसार अहिलेको पिसिआरले अहिलेकै दरमा थप २५ दिन धान्न सक्छ। तर बढेको अवस्थामा भने पुग्ने स्थिति छैन। सुरुमा दैनिक आठजनाजतिको नमुना परीक्षण हुने गरेकोमा अहिले दैनिक २५ जनाको परीक्षण हुने गरेको छ। विश्व स्वास्थ्य संगठनले दक्षिण एसियाली तथा उष्ण प्रदेशीय हावापानी भएका देशहरुमा तोकेको मापदण्डभित्रै जाँच गर्ने हो भने थप एक महिना पनि पुग्न सक्छ। तर सुरुको दिनमा भन्दा अहिले जाँचको माग र दैनिक जाँच संख्या बढेको छ। ‘पहिला विदेशबाट आउनेको मात्र जाँच हुन्थ्यो, अहिले आइसियूमा बसेका र शंकास्पद सबैको जाँच हुने गरेको छ’, गुप्ताले भने।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुग्ना झा र स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले एक साताभित्रै थप पिसिआर ल्याइसक्ने दाबी गरेका छन्। ‘टेन्डर प्रकाशित भइसकेको छ, एक साताभित्रै आइपुग्छ’, महानिर्देशक श्रेष्ठले भने।

डा. गुप्ताले दैनिक ८ सयजनाको कोरानो परीक्षण गर्ने क्षमता प्रयोगशालाको रहेको जानकारी दिए। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार रुघाखोकी लागेको, ज्वरो आएको, कोरोना प्रभावित देशबाट आएको र दुई साताभित्र ती देश घुमेर आएको अवस्थामा त्यस्ता बिरामीको मात्र कोरोना जाँच गरिन्छ। यस्ता बिरामीलाई चिकित्सकले जाँच गरी शंका लागेको अवस्थामा आइसोलेसनमा राखेर मात्र नमुना परीक्षण गर्न पठाउने नियम छ।

सरकारले पछिल्लो समय आइसियूमा बसेका बिरामी, श्वास–प्रश्वास तथा फिजिसियन विशेषज्ञ चिकित्सकले सिफारिस गरेका बिरामी र आइसियूमा भर्ना भएका बिरामीको हकमा समेत कोरोना परीक्षण गर्ने नियम बनाएको छ। यसअघि आइसोलेसनमा बसेका र कोरोना प्रभावित देशबाट आएका बिरामीको हकमा मात्र जाँच  गर्ने व्यवस्था थियो।

मंगलबार ५२ नमुना संकलन
कोरोना परीक्षणका लागि मंगलबार सबैभन्दा बढी नमुना संकलन भएको छ। यसअघि दैनिक १० देखि २५ जनाको नमुना संकलन हुने गरेकोमा मंगलबार ५२ जनाको नमुना संकलन भएको हो। सरकारले परीक्षणको दायरा फराकिलो पारेकाले धेरै नमुना संकलन भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकृत डा. राजेश गुप्ताले बताए। उनले भने, ‘उपत्यकाबाहिर र भित्रका सबै अस्पतालबाट नमुना आएका छन्।’ सबैको रिपोर्ट बुधबार आइपुग्ने उनले बताए।

प्रकाशित: ५ चैत्र २०७६ ०१:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App