१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पुलिसलाई राजर्षि जनक कप

सर्लाही - सर्लाहीको बागमतीमा जारी चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले चुमेको छ। आइतबार भएको फाइनल खेलमा पाहुना टोली भारतको कञ्चनजंघा फुटबल क्लब सिक्किमलाई २–१ ले पराजित गर्दै पुलिसले उपाधि चुमेको हो। उपाधिसँगै पुलिसले नगद १० लाख हात पारेको छ भने उपविजेतामा सीमित सिक्किमले पाँच लाखमै चित्त बुझायो।

खेलको दोस्रो मिनेटमै पुलिसका तीर्थ रानामगरले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए।  डी बक्सबाहिरबाट लामाले गरेको सशक्त प्रहारले सिक्किमको जाली चुम्यो। त्यस्तै खेलको १२औं मिनेटमा पुलिसका कप्तान जुमानु राईले अर्को गोल थप्दै अग्रता दोब्बर पारे। पदम भट्टराईले गरेको फ्रिकिक प्रहारलाई राईले हेडमार्फत सिक्किमको जाली चुमाएका हुन्। खेलको १९ मिनेटमा सिक्किमका अमिर लामाले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। डी बक्सभन्दा निकै परबाट लामाले गरेको सशक्त प्रहारले पुलिसको जाली चुम्यो।

पटक–पटक गोलपोस्ट आक्रमण गरेर खेललाई बराबरीमा ल्याउन सिक्किमले गरेको प्रयासमा पुलिसका गोलरक्षक बाधक बने। आफ्ना अनेकौं प्रयास गोलमा परिणत हुन नसक्दा अभागी साबित हुँदै सिक्किम उपविजेतामै सीमित बन्यो। पोखरामा शनिबार सम्पन्न आहा रारा गोल्डकपको फाइनलमा पहिलो रोजाइका खेलाडीसहित मैदानमा उत्रिएको पुलिसले मनाङ मस्र्याङ्दी युवा क्लबसँग हार व्यहोर्दा राजर्षि जनक कपमा भने राष्ट्रिय पूर्वस्ट्राईकर जुमानु राई र राष्ट्रिय पूर्वडिफेन्डर रविन श्रेष्ठबाहेक सम्पूर्ण दोस्रो रोजाइका खेलाडीबाट पुलिसले पाहुना टोलीलाई हराउँदै उपाधि चुम्यो।

नेपाल पुलिसका प्रशिक्षक सञ्जीव जोशीले आफ्ना खेलाडीले अत्यन्त राम्रो प्रदर्शन गरेकाले उपाधिको हकदार बन्न पाइएको प्रतिक्रिया दिए। ‘अधिकांश दोस्रो रोजाइका भाइ भए पनि सशक्त विपक्षी टोलीविरुद्ध समेत राम्रो प्रदर्शन गरे, त्यसैले उपाधि चुम्न पायौं’, जोशीले भने। चर्चित राष्ट्रिय खेलाडी विमल घर्तीमगर, बुद्ध चेमजोङ, सुनील बल तथा दुई अफ्रिकी मूलका विदेशी खेलाडीसहितको आयोजक बागमती नगरपालिकालाई पराजित गरेको सिक्किमका खेलाडी आइतबार भने पुलिससँगको खेलमा केही फितला देखिन्थे। लगातार दुई दिन खेल्नुपर्दा खेलाडीले रेस्ट नपाएको र घाम परेका कारण गोल खान पुगेको सिक्किमका प्रशिक्षक दिनकर क्षेत्रीले बताए।

‘केटाहरूले सके जति राम्रै खेलेका हुन्’, क्षेत्रीले भने, ‘तर हिजो र आज दुई दिन नै खेल्नुपर्दा केटाहरू निकै थाकेका थिए र घामले पनि गोलकिपरलाई साथ नदिँदा असोचनीय गोल खान पुग्यौं।’ शनिबार जावलाखेललाई हराउँदै फाइनल पुगेको सिक्किमले आइतबार पुलिससँग भिडेको हो। आइतबारको खेलमा सिक्किमका सुब्रोतो सुरेन म्यान अफ दी म्याच घोषित भए। उनले नगद १० हजारसहित ट्रफी प्राप्त गरे। प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै सर्लाही निवासी नेपाल पुलिसका कप्तान जुमानु राईले नगद ५१ हजार प्राप्त गरे भने उत्कृष्ट प्रशिक्षकको रूपमा पुलिसका सञ्जीव जोशीले नगद २० हजार र ट्रफी हात लगाए।

प्रतियोगितामा सबैभन्दा बढी अर्थात् ४ गोल गर्दै पुलिसका तीर्थ रानामगरले बेस्ट स्कोररको ट्रफीसहित नगद २० हजार प्राप्त गरे। त्यस्तै उत्कृष्ट गोलकिपरको रूपमा पुलिसका सन्जित श्रेष्ठलाई नगद २० हजार दिइयो। उत्कृष्ट डिफेन्डर भने सिक्किमका कप्तान निवास राना घोषित हुँदै नगद २० हजार प्राप्त गरे। २० हजार राशिकै बेस्ट मिडफिल्डरको ट्रफी भने जावलाखेल युथ क्लबका रूपबहादुर लामालाई घोषित गरियो। प्रतियोगितामा खेल्ने सर्लाही निवासी उदीयमान खेलाडीको रूपमा भने बागमती युवा क्लबबाट खेलेका विजय घलानलाई घोषणा गर्दै एक थान पल्सर मोटरसाइकल प्रदान गरिएको थियो। फागुन २२ गतेदेखि जारी खेलमा दुई भारतीयसहित १२ टोली सहभागी थिए।

प्रकाशित: ३ चैत्र २०७६ ०१:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App