१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भारतद्वारा महोत्तरीको मटिहानीमा दशगजा मिचेर सडक र नाला निर्माण

महोत्तरी- भारतीय पक्षले महोत्तरीको सीमावर्ती नाका मटिहानीसंगै टाँसिएको मधवापुरमा दशगजा मिचेर सडक र नाला निर्माण गर्न लागेको छ।  

भारतीय पक्षले ७.३१ मिटर दशगजा भित्र पर्ने भुभाग मिचेर सडक र नाला निर्माण गर्न लागेको स्थानीयले बताए। यसैबीच भारतीय पक्षले दशगजा मिचेर भौतिक संरचना निर्माण गर्न लागेको जानकारी पाए लगतै सशस्त्र प्रहरी वेस क्याम्प मटिहानलीले उक्त संरचना निर्माण कार्यमा रोक लगाएको छ।

सशस्त्र प्रहरीको मटिहानी स्थित विओपीले दशगजा मिचेर भारतीय पक्षले पक्की (पिच)सडक र नाला निर्माण गर्न लागेको जानकारी पाए लगैतै सशस्त्र प्रहरीले उक्त काम रोक्न लगाएको सशस्त्र प्रहरी सीमा सुरक्षा वल जलसागरका एसपी प्रकाश श्रेष्ठले बताए।

दशगजा भन्दा ३० मिटर वारि र पारि कुनै पनि प्रकारको भौतिक संरचना निर्माण नगर्ने अन्तराष्ट्रिय मान्यता र सम्झौता रहेपनि भारतीय पक्ष उक्त सम्झौतालाई लत्याउँदै दशगजा मिचेर सडक र नाला निर्माण गर्न लागेको हो।

सडक र नाला निर्माणको काम रोक्न सशस्त्र प्रहरीले भारतीय एसएसवीलाई अनुरोध गरेको थियो।

भारतीय पक्षले सन् २००८ तिर नेपाल तर्फको मटिहानी वडा नं. ८ र भारत तर्फको मधवापुरलाई छुटयाउन गाडिएको पिलर नं. २९४ र २९५ नम्वर पिलरको बीचको भुभागमा दशगजा मिचेर पहिल्यै देखि त्यहाँ सडक निर्माण गरिएको थियो। त्यहि सडकलाई आधार मानेर फेरि पनि पक्की सडक र नाला निर्माण गर्न लाग्दा सशस्त्र प्रहरीलाई नयाँ संरचना निर्माण भएको क्षेत्र दशगजा मिचेर निर्माण गर्न लागेको शंका लागेपछि जलेश्वर नापी कार्यालयबाट दुई जना अमिनलाई बोलाई नाप नक्सा गर्दा दशगजा मिचिएकै प्रमाणित भएको थियो।

अमिनहरुको नाप नक्सा अनुसार भारतीय पक्षले ७.३१ मिटर दशगजा मिचेर संरचना निर्माण गर्न लागेका थिए।

भारतीय एसएसवीका कमाण्ड शंकर देले पनि भारत तर्फको अमिनलाई समेत बोलाएर नाप नक्सा गर्दा अहिले नयाँ निर्माण गर्न लागेको संरचना दशगजा मिचेर निर्माण भई रहेको पुष्टि भएपछि उनले तत्कालको लागि काम रोकेर नियम अनुसार काम अघि वढाउन ठेकेदारलाई निर्देशन दिई सकेको एसपी श्रेष्ठले बताए।

अहिले निर्माण कार्य रोकिएको संरचना अनुसार त्यही ठाउँमा निर्माण गरिएको एक वटा सरकारी भवन र केहि निजीघरहरु पनि दशगजा मिचेर नै निर्माण गरिएको पुष्टि हुन्छ।

पहिले भारतीय पक्षले दशगजा मिचेर भौतिक संरचना निर्माण गर्दा पनि कुनै कसैले सोधिखोजि समेत नगर्ने गर्नाले उनीहरुले दशगजा मिचेर नै पहिल्यैदेखि केहि संरचनाहरु निर्माण गरि सकेका छन। तर अव भने नयाँ संरचना हामी बनाउन दिदैनौं सशस्त्र एसपी श्रेष्ठले बताए। 

अहिले नयाँ निर्माण गर्न लागिएको संरचनाका लागि नेपाल तर्फ र भारत तर्फका बीच विवाद बढन नदिन तत्कालै दुई पक्षिय वैठक बसेर विवाद समाधान गर्न पहल भई रहेको एसपी श्रेष्ठले बताए।

दशगज्जा मिचिएको वारे प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवलाई समेत जानकारी गराई सकेको र छिट्टै उनी लगायत नेपाल तर्फका स्थानीय प्रशासन र भारत तर्फका स्थानीय प्रशासनबीच बैठक बसेर समस्याको निकास निकालिने उनले बताए।

नेपाल तर्फको मटिहानी र मधवापुर पहिल्यैदेखि पनि सिमाविवाद भई राख्ने ठाउँको रुपमा चिनिदै आएको छ।

त्यहाँ दुवै तर्फ निर्माण भएको निजि र सरकारी भौतिक संरचनाले भारत र नेपाल छुट्टयाउन समेत गाह्रो पर्ने स्थिति रहँदै आएको छ।

 

 

 

 

प्रकाशित: २३ पुस २०७३ १०:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App