१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

फोहोर नउठ्दा भैरहवा दुर्गन्धित

भैरहवा नगरमा उठ्न नसकेको फोहोर ।

भैरहवा- भैरहवा नगरको फोहोर बुधबारदेखि उठ्न सकेको छैन। डण्डा नदी किनारमा फालिदै आएको फोहोर स्थानीय फाल्न अवरोध गरेपछि बिहीबार नगरको फोहोर उठ्न सकेको छैन।

सिद्धार्थनर नगरपालिकाले नगरको फोहोर अव्यवस्थित रुपमा डण्डा नदी किनारमा फाल्दै आएको थियो। दैनिक करिब ३० टन फोहोर अव्यवस्थित रुपमा बस्ती नजिक नदी किनारमा फालिदा सयौँ नागरिकको स्वास्थ्य प्रति नगरपालिकाले खेलवाड गरेको भन्दै स्थानीय वडा नं. १ र २ का नागरिकले फोहोर फाल्न अवरोध गरेका हुन्। बुधबार नगरका फोहोर संकलन गरी डम्पिङ साइड गएको बेला स्थानीयले फोहोर फाल्न नदिएपछि नगरपालिका परिसरमा ल्याएर राखिएको छ।

फोहोर व्यवस्थापनबारे सिद्धार्थनगर नगरपालिकाले प्रभावकारी काम गर्न नसकेपछि दैनिक रुपमा बढ्दै गइरहेको नेपाल भारतको सीमा दशगजा नजिकैको फोहोरले एकातर्फ नदीको जैविकता पनि गुम्दै गएको छ। भने अर्कातर्फ स्थानीयको स्वास्थ्यमा पनि समस्या पारिरहेको छ।

नगरपालिकाले फोहोर व्यवस्थापनमा चासो नदिएको वर्षौदेखि फालिदै आएको डम्पिङ साइडमा अव्यवस्थित फोहोरले दुर्गान्धित भएपछि बाध्य भएर फोहोर फाल्न रोक लगाएको स्थानीयले बताए।

नदीसँगै रहेको कृषि क्याम्पसमा अध्ययनरत विद्यार्थी, सीमा सुरक्षा कार्यालयका शसस्त्र प्रहरी, केही दुरीमै रहेको मेडिकल कलेज र नदी वरपरका बासिन्दालाई फोहोरले आजित बनाएको छ। पटक पटक नगरपालिकालाई फोहोर व्यवस्थापनबारे जानकारी गराउदा समेत नगरपालिकाले बेवास्ता  गरेकाले बुधबार फोहोर संकलन गरेर ल्याएको ट्याक्टर फर्काइएको थियो।

बुधबार स्थानीयहरुले फोहोर फ्याक्न नदिएपछि नगरपालिकाको एकीकृत सहरी विकास आयोजना कार्यान्वयन इकाई परिसरमा फोहोर राखिएको नगरपालिका कार्यालयको सरसफाई शाखाका प्रमुख केशव पौडेलले बताए। 'संकलित फोहोरले भरिएका ८ वटा ट्याक्टर परिसरमा राखिएको छ, स्थानीयको अवरोध गरेसँगै बिहीबार नगरको फोहोर उठेको छैन, स्थानीयसँग समस्या समाधानका लागि छलफल भइरहेको छ,' पौडेलले भने। फोहोर उठ्न नसकेपछि भैरहवा शहरभित्र फोहोरको डङगुर छ, स्थानीयहरुले विधुतीय पोल, सडक छेउमा फोहोर फालेका छन् भने वडा नं. २ कार्यालय अगाडी फोहोर थुपारेका छन्।

पटक पटक चेतावानी दिँदा पनि २० वर्षदेखि फोहोर फाल्न दिएका थियौ, हामी सडकमै छौ अबदेखि फोहोर फाल्न दिँदैनौ भन्दै स्थानीयले आक्रोश पोखे। दीर्घकालिन विकल्पका लागि नगरपालिकाले व्यवस्था गर्नुपर्छ, भोट माग्न घरदैलो पुगेका जनप्रतिनिधिहरु जीरो प्वाइनटमा आएर काम गर्नुपर्छ उनीहरुले भने।

नगरपालिकामा दैनिक उत्पादन हुने ३०देखि ४० टन फोहोर नियमित रुपमा संकलित गर्ने र डण्डा खोला किनारमा डम्पिङ गर्दै आएको थियो। ९ वटा ट्याक्टर, २६ वटा ठेला र ७६ जना जनशक्तिबाट नगरका फोहोरहरु व्यवस्थापन गरिरहेका छौ, घरायसी सम्पूर्ण फोहर अहिले नदीको किनारमा नै डम्पिङ गरिरहेको थियो।

एशियाली विकास बैंकको लगानीमा फोहोरमैला प्रशोधन केन्द्र बनाउने योजना स्थानीयलाई बुझाउन नसक्दा फेल भएकै हो, हालसालै तिलोत्तमा नगरपालिकासँग पनि सहकार्यमा बनाउने बारे छलफल गरेको भए पनि सफल हुन नसकेपछि यसले ठूलो चुनौती दिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि अधिकारीले बताए।  

'दीर्घकालिन समाधानका लागि एडिबी, क्षेत्रीय शहरी विकास आयोजना, केन्द्र र प्रदेश सरकारसँग पनि लविङ गरिरहेको छौ, विकास बजेटलाई रोकेर भए पनि फोहोर व्यवस्थापनका लागि बजेट विनियोजन गर्ने सोच बनाएका छौ,' नगर प्रमुख अधिकारीले नागरिक न्युजलाई भने।
 

 

प्रकाशित: २९ फाल्गुन २०७६ ०८:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App