१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

मेघौली विमानस्थल पुनः सञ्चालनमा ल्याइने

सुनसान मेघौली विमानस्थल। तस्बिर : सुर्यप्रकाश/नागरिक

चितवन - ६ वर्षभन्दा लामो समयदेखि बन्द रहेको ६ दशक पुरानो मेघौली विमानस्थल पुनः सञ्चालनमा ल्याउन पहल सुरु गरिएको छ। चितवनको पश्चिमी भेगमा अवस्थित मेघौली पर्यटकीय हिसाबले महत्वपूर्ण छ।

नेपालकै पुरानो मेघौली विमानस्थल बन्द हुँदा पर्यटकीय गतिविधिमा असर परेको भन्दै नेपाल भ्रमण वर्षको अवसर पारेर पुनः सञ्चालनका लागि पहल भइरहेको वाग्मती प्रदेशका सांसद कृष्ण भूर्तेल बताउँछन्। पर्यटकीय विकासका लागि यातायात, सडक र विमानस्थल महत्वपूर्ण हुने भएकाले भएका संरचनालाई सञ्चालन गर्न पहल सुरु गरिएको उनले जानकारी दिए। चितवनका पर्यटन व्यवसायी तथा सरोकारवालाबीच भएको विभिन्न चरणको बैठकले चार वर्षअघि मेघौली विमानस्थलमा हवाईजहाज अवतरण गराउनका लागि पहल गरेका थिए। त्यतिबेला केही समय मेघौली विमानस्थलमा चार्टर गरिएका विमानको उडान र अवतरण भए पनि टिक्न सकेन।

‘मेघौली एयरपोर्टको स्तरोन्नतिको विषयमा पर्यटनमन्त्री योगेश भट्टराईसँग कुरा गर्दैछु’ सांसद भूर्तेलले भने, ‘पछिल्ला केही वर्षयता मेघौलीमा ठूला होटल निर्माण भई सञ्चालनमा आएर पर्यटकीय दृष्टिले मेघौली आकर्षणको केन्द्र बन्दै जाँदा विमानस्थलको आवश्यकता अझ बढेको छ।’ विसं २०१६ मा निर्माण भई केही वर्षपछि प्रयोगमा आएको मेघौली विमानस्थल तत्कालीन राजपरिवार सदस्यले चितवन राष्ट्रिय निकुञ्जमा शिकार खेल्न आउँदा प्रयोग गर्थे। २०१६ मा बेलायतकी महारानी एलियाजावेथ प्रथम चितवन आउँदा मेघौली विमानस्थल निर्माण भएको थियो।

पर्यटकीय दृष्टिले मेघौली आकर्षणको केन्द्र बन्दै जाँदा विमानस्थलको आवश्यकता अझ बढेको छ।

भरतपुर विमानस्थलभन्दा जेठो मेघौली विमानस्थलमा दैनिक १० वटासम्म उडान र अवतरण भएको तथ्यांक छ। निकुञ्जभित्र रहेको टाइगर टप्स होटलमा आउने पर्यटक चार्टर गरेर विमानमा आउने भएकाले २०३० देखि मेघौली विमानस्थल नियमित सञ्चालनमा आएको थियो। निकुञ्जभित्रका सातवटा होटल बन्द भएपछि मेघौली विमानस्थल पनि बन्द भयो। मेघौली क्षेत्रमा करोडौं लगानीमा अहिले चौधरी ग्रुपको मेघौली सेराई होटल र पोखराको होटल बाराही ग्रुपको बाराही जंगल रिसोर्ट सञ्चालनमा आइसकेको छ। मेघौली आउने विदेशी पर्यटक धेरै खर्च गर्नसक्ने हैसियतका हुने भएकाले यहाँको विकासका लागि विमानस्थल सञ्चालन जरुरी भएको भूर्तेल बताउँछन्।

एक महानगर, दुई विमानस्थल
भरतपुर महानगरपालिकामा भरतपुर र मेघौली गरी दुईवटा विमानस्थल छन्। एक हजार दुई सय मिटर धावनमार्ग (रनवे) भएको मेघौली विमानस्थलमा २५ सिट क्षमताका ट्विनअटर (साना जहाज) अवतरण गर्न सक्छन्। कच्ची रनवे भएकाले मेघौलीमा ठूला जहाज भने अवतरण गर्न सक्दैनन्। धावनमार्ग पिच गरेर केही विस्तार गर्ने हो भने मेघौली विमानस्थल भरतपुर विमानस्थलको विकल्प बन्न सक्छ। भरतपुरको चौबीसकोठीबाट २५ किलोमिटर पश्चिममा पर्ने मेघौली विमानस्थलको धावनमार्ग विस्तारका लागि सहजै जग्गा प्राप्त हुने सांसद भूर्तेल बताउँछन्।

मेघौली क्षेत्रमा रहेका १० होटलमा तीन सय ५५ र १० वटा होमस्टेमा ८० पर्यटकलाई खाने र बस्ने सुविधा रहेको छ। प्रदेश सांसद भुर्तेल दुईवटा विमानस्थल रहेको एकमात्र स्थानीय निकायका रुपमा रहेको भरतपुर महानगरपालिकाले भरतपुर विमानस्थललाई आन्तरिक र मेघौली विमानस्थललाई पर्यटकीय विमानस्थलका रुपमा विकास गर्नु पर्ने सुनाउँछन्। मेघौली विमानस्थलको स्तरोन्नतिका लागि प्रदेश र संघीय सरकारमार्फत आवश्यक पहल गरिने उनले बताए।

प्रकाशित: २९ फाल्गुन २०७६ ०२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App