१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आर्मी सेमिफाइनलमा

आर्मीका नवयुग श्रेष्ठ विपक्षी संकटा क्लवका खेलाडी रोशन पहारीलाई छक्याउने प्रयास गर्दै। तस्बिर : नागरिक

पोखरा - पोखरामा जारी आहा ! रारा गोल्डकपअन्तर्गत  मंगलबारको खेलमा त्रिभुवन आर्मी क्लब संकटा क्लबलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्‍यो। यसअघि थ्री स्टार, नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दि क्लब आहा ! रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। अब नेपाल पुलिस क्लबविरुद्ध थ्री स्टार भिड्नेछ भने मनाङ र आर्मीबीच अर्काे खेल हुनेछ।

लिगमा दोस्रो भएको आर्मी मंगलबारको खेलमा संकटाविरुद्ध हाबी भयो। लिगमा संकटालाई १–१ को बराबरी रोकेको आर्मी इलाममा भएको माइभ्याली गोल्ड कपमा २–१ को जित निकाल्न सफल भएको थियो। तर यहाँ आर्मीले खेल अवधिभर एकतर्फी पेल्यो। सुरुदेखि नै आक्रामक खेलेको आर्मीले खेलको १५औं मिनेटमा गोलको खाता खोलेको थियो। आर्मीका लागि सुदिल राईले गोलको खाता खोले। उनले नवयुग श्रेष्ठको पासमा फस्ट बार च्यापेर हानेको प्रहारले सीधै जाली चुमेको थियो।

एक गोल गरेपछि थप आक्रामक देखिएको आर्मीले ७१औं मिनेटमा दोस्रो गोल गर्दै अग्रता दोब्बर पार्‍यो। आर्मीका लागि दोस्रो गोल नवयुग श्रेष्ठले गरे। सन्तोष तामाङले प्रहार गरेको कर्नर किकमा विकास तामाङले हेड गरेपछि किपरले समात्ने क्रममा रिबाउन्ड भएको बललाई पोस्टको दिशा दिएका हुन्। हूलमूलमा बल भेट्टाएका नवयुगले फस्ट बार च्याप्दै गोल गरे। तेस्रो गोल भने सब्स्टिच्युट खेलाडी विवेक बस्नेतले गोल गरे। ६८औं मिनेटमा सुदिल राईको सट्टामा मैदान छिरेका विवेकले मैदान छिरेको ७ मिनेटमै गोल गरे। उनले सेसेहाङ आङ्देम्बेको पासमा  सट हान्दै जाली चुमाएका हुन्।

लगातार आक्रमण बुनेको आर्मीले आधा दर्जन बढी गोल गर्ने अवसर खेर फाल्यो। ६२औं मिनेटमा नवयुग श्रेष्ठको पासमा जर्ज प्रिन्स कार्की गोल गर्न चुके। डी–एरियानजिकैबाट उनले प्रहार गरेको बल क्रस बारभन्दा केही माथिबाट बाहिरियो। ७२औं मिनेटमा सुमन अर्यालको किक विपक्षी गोलकिपरले पन्च गरेर मुस्किलले बचाए। लगत्तै ७३औं मिनेटमा सन्तोष तामाङको प्रहारमा पनि विपक्षी गोलकिपर राजाबाबु थापा नै बाधक बने। ८४औं मिनेटमा कप्तान भरत खवासको पासमा अनमार्क रहेका जर्ज प्रिन्स कार्की गोल गर्न चुके। उनले प्रहार गरेको बललाई विपक्षी गोलकिपर राजाबाबु थापाले सजिलै नियन्त्रणमा लिए। दोस्रो हाफअन्तर्गत इन्जुरी समयको अन्तिम मिनेटमा जर्ज प्रिन्स कार्कीले २ डिफेन्डरलाई छक्याउँदै फस्ट बारमा गरेको प्रहार पनि खेर गयो। उनको प्रहारलाई विपक्षी गोलकिपर राजाबाबुले डाइभ हानेर बचाए।

आर्मीसामु निरीह देखिएको संकटाले पनि केही राम्रा गोल गर्ने अवसर खेर फाल्यो। ४१औं मिनेटमा ड्याडी अम्बाले ओभरल्यापमा गएर गरेको प्रहार क्रस बारभन्दा केही माथिबाट बाहिरियो। ६०औं मिनेटमा मेस्सौके पिएरेले विपक्षी डिफेन्डरको खुट्टाबाट खोसेर गरेको प्रहार फस्ट बार हुँदै बाहिरियो। ८९औं मिनेटमा पिएरेले नै गरेको फितलो प्रहार सेकेन्ड बार हुँदै बाहिरियो। मंगलबारको खेलमा त्रिभुवन आर्मी क्लबका नवयुग श्रेष्ठ म्यान अफ दी म्याच भए।

विजयी त्रिभुवन आर्मी क्लबका प्रशिक्षक नवीन न्यौपानले लिग खेलेको सेट टिम धेरैपछि खेल्दा पहिलो हाफ सोचेजस्तो नभएको बताए। उनले भने, ‘टिम सेट भएपछि दोस्रो हाफ भने राम्रो भयो।’ पराजित संकटा क्लबका प्रशिक्षक सल्यान खड्गीले खेल तलमाथि हुने भन्दै पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा पराजित हुनुपरेको बताए। बुधबारको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लवबिरुद्ध थ्री स्टार भिड्ने अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए।

प्रकाशित: २८ फाल्गुन २०७६ ०१:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App