१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

एक कराेड ९० लाखकाे मदिरा निर्यात

वीरगन्ज सुक्खाबन्दरगाहमा निर्यातका लागि राखिएको नेपाली बियर र रम । तस्बिर : रितेश/नागरिक

वीरगन्ज - नेपालको समुद्रपार व्यापारमा आयात धेरै र निर्यात न्यून रहेको बेला यहाँबाट निर्यात हुने वस्तुमा मदिरा पनि थपिएको छ। पोहोरदेखि विदेशतिर नेपाली मदिराको निर्यात अपवादको दायराबाट निस्केर ठोस तथ्यांकमा देखिन सुरु भएको पाइन्छ। गत वर्षको तुलनामा चालु आर्थिक वर्ष ०७६/०७७ को भन्सार तथ्यांकले मदिरा निर्यात बढेको देखाएको छ।

यस आर्थिक वर्षको साउनदेखि माघसम्मको तथ्यांक अनुसार वीरगन्ज सिर्सियास्थित, सुक्खा बन्दरगाह भएर एक लाख ३० हजार ९ सय ४० लिटर मदिरा निर्यात भएको छ। रेल लाइनमार्फत भारतका बन्दरगाहसँग जोडिएको सुक्खा बन्दरगाह नेपालबाट तेस्रो मुलुकमा वस्तु निर्यात र आयातका लागि प्रमुख बिन्दु हो। गत वर्ष यस्तै अवधिमा यो बाटो एक लाख २१ हजार दुई सय २४ लिटर मदिरा निर्यात भएको थियो। गत वर्षको भन्दा यसपालिको मदिरा निर्यात आठ प्रतिशतले बढी हो।

निर्यात भएको माल वस्तुको मूल्यको हिसाबले हेर्दा पनि मदिरा निर्यातबाट आर्जन हुने रकम बढेको छ। यसपालि मदिरा निर्यातबाट एक करोड ८९ लाख ९७ हजार रूपैयाँ आर्जन भएको छ। पोहोर यो रकम एक करोड ७९ लाख ८४ हजार थियो। नेपालबाट रम, बियर र अन्य प्रकारका मदिरा निर्यात भएको देखिन्छ। नेपाली रम र बियर लगायत आयात गर्नेमा जपान, हङकङ, अस्ट्रेलिया, बेल्जियम र दक्षिण कोरिया छन्। ‘नेपालबाट निर्यात भइररहेको छ र निर्यात हुनेको सूचीमा कुनै नयाँ वस्तु देखापरेको छ भने यो देशको लागि साकारात्मक पक्ष हो,’ सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले नागरिकसित भने, ‘मदिराको कुरा गर्दा खास गरी बियर र रम निर्यात हुन थालेको छ, अन्य प्रकारका मदिराको पनि अलिअलि निर्यात देखिन्छ।’

नेपालबाट निर्यात गरिने वस्तुको सूचीमा पूर्ण रूपमा कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्ने सामान, पूर्ण रूपमा स्वदेशी कच्चा पदार्थबाट बन्ने सामान र स्वदेशी तथा आयातित दुवै किसिमका कच्चा पदार्थ प्रयोग हुने वस्तु छन्। आर्थिक मामिलाका जानकार निम्बस समूहका अध्यक्ष जगदीश अग्रवाल विदेशबाट कच्चा पदार्थ आयात गरी बनाइएको भन्दा स्वदेशीमात्रै र दुवैथरी कच्चा पदार्थबाट बनेका वस्तु निर्यातबाट हुने लाभ बढी हुने बताउँछन्। यस्ता वस्तुको पहिचान गरी त्यसको उत्पादन र अभिवृद्धिको नीति ल्याउनुपर्ने उनको राय छ।

मदिरा भने तिनै किसिमबाट उत्पादन हुने गरेको छ। मदिरामा थप सम्भावना खोजी गर्नुपर्ने वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोधकुमार गुप्ता बताउँछन्। ‘मदिरा भनेको विश्वमै प्रतिस्पर्धा रहेको वस्तु हो, यसको उत्पादन गरी विश्व बजारमा ठाउँ पाउनु आफैंमा चुनौतीपूर्ण कुरा हो। यस्तोमा कुनै नेपाली ब्रान्डले आफ्नो बजार विदेशतिर बढाइरहेको छ भने यो साकारात्मक पक्ष हो,’ गुप्ताले भने, ‘यस क्षेत्रमा थप सम्भावनाको खोजी हुनुपर्छ। अहिले यसको निर्यात प्रारम्भिक स्तरमा छ। त्यसलाई अझ अगाडि बढाउने वातावरण बन्नु पर्छ।’

मदिराले देशलाई अन्तःशुल्कको रूपमा उल्लेखनीय आम्दानी दिन्छ। मदिरामा लिटरमा तीन सय ७० देखि एक हजार पाँच सयसम्म प्रतिलिटर गुणस्तर अनुसार शुल्क लाग्ने गरेको छ। बियरमा एक लिटरमा सरकारले एक सय ६५ रूपैयाँ अन्तःशुल्क लिने गरेको छ।

 

प्रकाशित: २६ फाल्गुन २०७६ ०४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App