१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

सामूहिक कला प्रदर्शनी सुरु

काठमाडौं बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा बिहीबारदेखि ‘आर्ट विथआउट बोर्डस्’ शीर्षकको सामूहिक कला प्रदर्शनी सुरु भएको छ। ह्युमेन फर ह्युमेन नेपालले आयोजना गरेको  प्रदर्शनीमा नेपालका सात  र जापानका पाँच चित्रकारका कला राखिएका छन्।

प्रदर्शनीमा एनबी गुरुङले ‘लभ’ शीर्षकको चित्रमा घोडालाई शक्तिको बिम्ब बनाएर  प्रस्तुत गरेका छन्।  ‘नीलो र रातो रंग एक–आपसमा नमिल्ने रंग भए पनि मायामा भने मिलन सम्भव छ,’ वाटर कलर सोसाइटीका अध्यक्षसमेत रहेका गुरुङ भन्छन्, ‘शक्तिले पनि धेरै कामलाई सफल पार्ने भएकाले यसमा घोडा प्रयोग गरेको छु।’ त्यस्तै, गुरुङले  ‘प्रोट्रट अफ तामाङ हुमेन’ मा गोरखाकी तामाङ महिलाको मुहारलाई आकर्षक तरिकाले प्रस्तुत गरेका छन्। तामाङ जातिको संस्कृति झल्काउने कोसिस गरेका उनले चित्रमा तामाङ जातिले लगाउने गरगहना र वेशभूषालाई विशेष महत्व दिएका छन्।

कृष्णभक्त डंगोलका धर्मसम्बन्धी  तीनवटा चित्रहरु प्रदर्शनीमा राखिएको छ। ‘भैरव’ शीर्षकको चित्रमा उनले भैरवको रिसाहा रूपलाई प्रस्तुत गरेका छन्। चित्रलाई अझ रोचक बनाउन  भैरवको देव्रेतर्फको कानमा सर्पको आकृति बनाएको उनले सुनाए। सर्पसँगै उनले भैरवको वरिपरि कंगालका स–साना चित्र कोरेका छन्। ‘भैरवलाई महादेवको नामले पनि चिनिन्छ,’ उनले चित्र देखाउँदै भने, ‘महादेव मसानमा पनि बस्ने भएकाले यसमा कंगाललाई समेटेको हुँ। कंगाल महादेवको माला जस्तै हो ।’ एक्रेलिक प्रयोग गरिएका उनका ‘अचल’ र ‘सुतिभैरव’ शीर्षकका चित्र पनि प्रदर्शनीमा छन्।

सविता डंगोलले ‘कपल’ सिरिजका आठवटा चित्र प्रदर्शनीमा राखेकी छन्। काइँयोलाई मुख्य केन्द्रमा राखेर महिला र पुरुषको चित्र कोरेकी उनले फूल, थाङ्का, पौभा, छाता, हात्ती लगायत वस्तु  प्रयोग गरेकी छन्। डंगोलले काइँयोमार्फत सकारात्मक कुरालाई जीवनमा अघि बढाउनुपर्ने सन्देश दिएको जानकारी दिइन्। त्यस्तै, इशान परियारले आफ्नो कलामा सकारात्मक विषयलाई नै जोड दिएका छन्। गणेशलाई मुख्य विषयवस्तु बनाएका उनी जीवनमा सकारात्मक पक्षलाई जोड दिएर अघि बढ्नुपर्ने बताउँछन्।

नेपाल र जापानबीचको सम्बन्धलाई कलामार्फत झल्काउने उद्देश्यले आयोजित प्रदर्शनीमा कलाकारले आ–आफ्ना देशका कला, संस्कृति र पहिचानलाई प्रस्ट्याउने प्रयास गरेका छन्। जापानी चित्रकारले आफ्ना कलामा प्रयोगात्मक शैलीलाई बढी प्राथमिकता दिएका छन्। उनीहरूले आधुनिक र प्रंयोगात्मक शैलीका चित्र र स्कप्चर बनाएका छन्, ती  विचारप्रधान चित्र हुन्। प्रदर्शनी फागुन २५ सम्म जारी रहनेछ।

प्रकाशित: २४ फाल्गुन २०७६ ०६:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App