१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रहरी छैनन् कोरोनाबारे सचेत

काठमाडौं – सबैजसो सरकारी कार्यालयहरूले कोरोना भाइरसको संक्रमणबाट बच्न सचेतता अपनाइरहेको बेला प्रहरी कार्यालयहरूमा भने यसबारे कुनै पूर्वतयारी तथा सचेतताका कार्यक्रम गरिएका छैनन्। सेवाग्राहीको भिड लाग्ने प्रहरी कार्यालयहरूमा कोरोना भाइरसबारे सुरक्षा र सचेतनाको स्तर कमजोर देखिएकसिभिल प्रहरी, ट्राफिक प्रहरी र ड्युटीमा खटिएका प्रहरीले मास्कसमेत प्रयोग गरेको देखिँदैन।

ड्युटीमा खटिने तल्लो दर्जाका प्रहरीहरूलाई कोरोनाबारे आवश्यक सचेतना कार्यक्रम कुनै पनि प्रहरी कार्यालयले आयोजना गरेका छैनन्। बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले प्रेस विज्ञप्ति जारी गर्दै भिडभाडमा उपस्थित नहुन, अत्यावश्यक कामकाजमा मात्रै उपस्थित हुन्, सभा–समारोह रोक्न, साबुन–पानीले हात धुनलगायत विषयमा ध्यान दिन आग्रह गरेको छ। प्रहरी प्रधान कार्यालयले भने आफ्ना मातहतका प्रहरी कार्यालयहरूमा यसबारेमा औपचारिक वा अनौपचारिक जानकारी गराएको छैन। प्रहरी कार्यालयहरूले मास्कसमेत जोही गर्न सकेका छैनन्। महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरमा सबैभन्दा बढी सेवाग्राहीको भिड लाग्छ। यी कार्यालयहरूमा सबैभन्दा बढी वैदेशिक रोजगारबाट फर्किएका पीडितहरू न्याय माग्न आइपुग्छन्। तर सेवाग्राहीको घुइँचो लाग्ने प्रहरी कार्यालयहरूमा कोरोना भाइरस संक्रमणबाट रोक्न कुनै तयारी सुरु भएको छैन। मातहतका कार्यालयहरूले भने प्रहरी प्रधान कार्यालयबाटै औपचारिक पत्र वा आदेश नआइकन सचेतताका कार्यक्रम नगरिएको जानकारी दिए। महानगरीय अपराध महाशाखाका प्रमुख सहकुलबहादुर थापाले प्रहरी प्रधान कार्यालयबाट औपचारिक आदेश नआएकाले कोरोना भाइरसबारे जनचेतनामुलक कार्यक्रम नगरिएको जानकारी दिए। ‘कार्यालयभित्रका कर्मचारीलाई सचेत रहन आग्रह गरेका छौं, त्यस्तो बाहिर कार्यक्रम गर्नलाई अनुमति चाहिन्छ,’ उनले भने। उनका अनुसार प्रधान कार्यालयले यसबारेमा तयारी नगर्दा ड्युटीमा खटिएका प्रहरीहरूलाई मास्कसमेत वितरण गर्न सकिएको छैन।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी शैलेश थापाले मातहतका कार्यालयहरूलाई कोरोना भाइरसबारे सचेतता अपनाउन आग्रह गरिएको दाबी गरे। ‘हामीले भित्री रूपमा तयारी र सावधानी अपनाएकै छौं, अब भिडभाड हुने प्रहरी कार्यालयमा कसरी सचेत रहने र सुरक्षा प्रदान गर्ने भन्ने विषयमा छलफल गर्दैछौं,’ उनले भने, ‘प्रहरी र सेवाग्राही दुवै सचेत हुनेगरी प्रहरीले सेवा प्रवाह गर्छ।’ उनका अनुसार प्रहरी कार्यालयहरूमा रहेका आइसुलेसन वार्ड तयारीसाथ राखिएको छ। प्रहरीले गर्ने समुदाय साझेदारी कार्यक्रमअन्तर्गत हाल कोरोना भाइरसबारे नै जनचेतना प्रवाह गर्ने कार्य गरेको प्रहरीको दाबी छ।

सुरक्षा गोष्ठी स्थगित
सबै क्षेत्रका सुरक्षा निकायलाई समेटेर फागुन २३ र ३४ गते धनगढीमा सुरक्षा निकायको गोष्ठी आयोजना गर्ने तयारी प्रहरी प्रधान कार्यालयको थियो। कोरोना भाइरसप्रति सचेत रहने भन्दै उक्त कार्यक्रम हाललाई स्थगित गरिएको छ। प्रधान कार्यालयका प्रवक्ता डिआइजी थापाले हाललाई गोष्ठी स्थगित गरेर समायोजनको विषयमा सुरक्षा निकायसँग छलफल भइरहेको बताए। प्रहरी समायोजनको संघारमा आयोजना गरिएको उक्त गोष्ठीमा प्रदेश तहको सुरक्षाको बारेमा छलफल हुने बताइएको थियो। ‘हाललाई यो कार्यक्रम स्थगित भएको छ,’ थापाले भने।

त्यसैगरी, प्रहरी प्रधान कार्यालयले कोरोना भाइरसको संक्रमण हुनेसक्ने भन्दै ट्राफिक प्रहरीलाई मापसे जाँच नगर्न आग्रह गरेको छ। बुधबार ट्राफिक प्रहरी महाशाखालाई पत्राचार गर्दै प्रधान कार्यालयले मापसे जाँच रोक्न आग्रह गरेको थियो। यद्यपि प्रधान कार्यालयले भने मुख्य मुख्य सडकमा ब्रेथलाइजरको प्रयोग गरी जाँच गर्न आग्रह गरेको छ। महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले पूर्णरूपमा मापसे जाँच नरोकिएको बताए। ‘रोक्ने भनेर पूरै ठप्प भएको होइन, हामीले गर्नसक्ने काम नियमित नै हुन्छ, मापसे गरेर सवारी हाक्नेलाई छुट छैन,’ उनले भने।

मास्कमा कालोबजारी
अरूबेला पाँच रुपैयाँमा पाइने मास्कलाई अहिले ३० रुपैयाँसम्म तिर्नुपर्छ। चर्को मूल्य तिरेरसमेत सर्वसाधारणले कोरोना भाइरसबाट बच्न मास्कको प्रयोग गर्न सकिरहेका छैनन्। मेडिकल तथा फार्मेसीहरूमा सहजै मास्क पाइन्न। सहज रूपमा मास्क नपाउँदा धेरैजसोले सर्जरी र कपडाको मास्क प्रयोग गरेको देखिन्छ। विज्ञहरूका अनुसार यो मास्कले कोरोना तथा बजारी धुलोधुँवाबाट बच्न मद्दत भने गर्दैन। कोरोनाबाट बच्न नाकमुख ढाक्नेगरी ‘एन–९५’ र ‘एन–९९’ मापदण्डअनुसारको मास्क लगाउँदा उत्तम हुने चिकित्सक तथा विज्ञहरू सुझाउँछन्। तर हाल बजारमा यी मास्कको चरम अभाव छ। व्यापारीहरूले भएका मास्क पनि लुकाउँदै कालोबजारी गरिरहेका छन्। कहीं–कतै मास्क भेटिए पनि एक सय ५० रुपैयाँ पर्ने मास्कलाई तीन सय ५० रुपैयाँसम्म तिर्न सर्वसाधारण बाध्य छन्। तथापि मास्कका होलसेल व्यापारी रत्न डंगोलले कालोबजारी नभएको दाबी गरे। उनले चीनबाट आयात गरिएका फेस र सर्जरी मास्क चिनियाँ व्यापारीहरूले नै दुई महिनाअघिदेखि उठाउँदै हिँडेको बताए। ‘हामीकहाँ अभाव हुन्छ भन्ने जानकारी कसैलाई भएन, चिनियाँहरू पहिल्यै आएर यहाँ भएका मास्कहरू चीन लगे, त्यसकारण अभाव भएको हो,’ उनले भने।

मास्क तथा अन्य उपभोग्य वस्तुमाथि कालोबजारी हुन थालेपछि यसबारेमा जिल्ला प्रशासन कार्यालय ललितपुरले बजार अनुमगन थालेको छ। बिहीबार सरकारको नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता युवराज खतिवडाले मास्कको उत्पादन बढाउन निजी क्षेत्रसँग सहकार्य गर्ने र कालोबजारी रोक्न सबै निकायलाई आग्रह गरेका थिए। जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि बिहीबार अभावको बेला फाइदा उठाउनेगरी कसैले कालोबजारी नगर्न आग्रह गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले मास्क तथा अन्य दैनिक उपभोग्य वस्तुमाथि कसैले पनि कालोबजारी र रोकथाम गर्न नपाइने बताए। ‘बजारमा केही कुराको अभाव हुन थाल्यो भने कालोबजारी गर्नेहरू सल्बलाउन थाल्छन्,’ उनले भने, ‘त्यस्तामाथि हामीले कडा कारबाही गर्छौं।’

प्रकाशित: २३ फाल्गुन २०७६ ००:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App