२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

बिक्रेतालाई गल्ती गर्ने छुट छैन

नेपालमा पछिल्लो समय अनलाइन व्यापार बढ्दै गएको छ । विकसित मुलुकमा यो व्यवसायले सर्वसाधारणलाई धेरै सेवा र सुविधा दिए पनि नेपालमा सबैको पहुँचमा पुगिसकेको छैन । अनलाइन व्यापार भर्खरै सुरु भएका कारण यसको सुविधा र जोखिमबारे सबैलाई थाहा भइसकेको छैन । कतिपय सर्वसाधारणलाई अनलाइन व्यापारमा विश्वास गर्न  पनि समय लाग्छ । नेपालमा अनलाइन व्यवसाय कसरी अगाडि बढिरहेको छ ? यसलाई सर्वसाधारणले कसरी हेर्ने गरेका छन्? अनलाइन व्यापारमा कम्पनीको बिक्रेतासँगको सम्बन्ध, नयाँ बिक्रेता थप्ने चुनौती लगायत विषयमा दराज नेपालकी मार्केटप्लेस, अपरेसन म्यानेजर स्तुति श्रेष्ठसँग गरिएको कुराकानी :

अनलाइन बजार भनेको के हो?नयाँ बिक्रेतालाई समावेश गर्ने दराजको नीति के हो?
अनलाइन बजार नेपालमा एउटा नयाँ तर बढ्दो अवधारणा बन्न गइरहेको छ । यो एक भर्चुअल प्लेटफर्म हो । जहाँ हजारौं बिक्रेता नेपालभरका खरिदकर्तासँग जुट्न तथा व्यापारिक लेनदेन गर्न सक्छन्। देशभरका ग्राहकसम्म पुग्न सकिने भएकोले धेरै बिक्रेताले इन्टरनेटमार्फत सामान बेच्न थालेका छन्। दराजले बिक्रेतालाई उनीहरूको व्यवसायलाई अनलाइनमार्फत लैजान सिकाएर अहिलेको बढ्दो चलनको हिस्सा हुन प्रोत्साहित गर्दै आएको छ । फलस्वरूप, दराज युनिभर्सिटीमार्फत हामीले प्रत्येक महिना पाँच सय नयाँ बिक्रेतालाई निःशुल्क तालिम दिइरहेका छौं ।

दराजले बिक्रेताको व्यापार बढाउन कसरी मद्दत गर्छ? दराजमा बिक्रेताको रूपमा दर्ता कसरी गर्न सकिन्छ ?
दराजले बिक्रेतालाई बिना कुनै दर्ता शुल्क प्लेटफर्म र टेक्नोलोजी प्रदान गर्छ । जसले उनीहरुलाई नेपालभरका ग्राहकसम्म पुग्न मद्दत पुग्छ। हामी व्यवसायीलाई डेलिभरी कम्पनीहरू र पेमेन्ट पार्टनर(भुक्तानी साझेदारहरू) को साथ मिली व्यापार गर्न मद्दत गर्छौं। यसले बिक्रेताको पहुँच बढ्नुको साथै ग्राहकले पनि नेपालभरबाट सामान तथा उत्पादन किन्न सक्छन्। दराजसँग बिक्रेताको प्रचार गर्न धेरै उपकरण छन्, जुन बिक्रेताले प्रयोग गरी उनीहरूको व्यवसायलाई एक वर्षमै तीन गुणा बढाउन सक्छ।

कुनै पनि बिक्रेता दराजमा बिक्रेता हुन चाहन्छ भने उसको व्यवसाय प्यान वा भ्याटमा दर्ता भएको र आधिकारिक बैंक खाता भएको हुनुपर्छ । बाँकी काम हाम्रो टिमले गर्छर बिक्रेतालाई थप चरणहरूमा सहयोग पनि गर्छ।

इ–कमर्समा नयाँ बिक्रेता समावेश गर्न सबैभन्दा ठूलो चुनौती के हो?
इ–कमर्स नेपालमा नयाँ भए पनि नयाँ र युवा बिक्रेताले यसका फाइदा बुझेकाले छिट्टै अपनाएका छन्। धेरै समयदेखि परम्परागत व्यापारमा सम्बन्धित बिक्रेतालाई इ–कमर्सप्रति आकर्षित गर्न सुरुमा चुनौती थियो । तर अहिले भने यी बिक्रेता इ–कमर्सका फाइदाबारे बढी सचेत छन् र हामीले उनीहरूबाट सकारात्मक प्रतिक्रिया पाएका छौं।

बिक्रेताले उपलब्ध गराउने सेवाको सन्तुष्टि र असन्तुष्टिलाई दराजले कसरी हेर्छ ?
बिक्रेताको कामप्रतिको सन्तुष्टि र असन्तुष्टि ग्राहकको प्रतिक्रियामार्फत मापन गर्न सकिन्छ। ग्राहकले दुवै बिक्रेता र प्राप्त उत्पादनबारे टिप्पणी र समीक्षा छोड्न सक्छन्। साथै सोसल मिडिया जस्ता विभिन्न माध्यमबाट पनि ग्राहकले प्रतिक्रिया दिन सक्छन्। यसलाई हेरेर दराजले आफ्नो नीति बनाउने गर्छ ।

दराजमा आवद्ध व्यवसायीले नराम्रो काम गरे उनीहरुप्रति कस्तो व्यवहार गर्छ ?
ग्राहक सन्तुष्टि दराजको प्रमुख प्राथमिकताहो र यो तब सम्भव छ जबउनीहरूले प्राप्त गरेको उत्पादन र हामीले प्रदान गरेको सेवाबाट उनीहरु खुसी हुन्छन्। यसमा बिक्रेताको भूमिका महत्वपूर्ण छ।

एकजना बिक्रेताको व्यवहारले हाम्रो ग्राहकको अनुभवलाई प्रत्यक्ष असर गर्छ । कुनै बिक्रेता दराजको नीतिविरूद्ध जान्छ भने हामी केही कदम चाल्न बाध्य हुन्छौं । जस्तै उनीहरूको अनलाइन पसलमा ग्राहकको ट्राफिक सीमित गर्ने, केहीदिनका लागि अर्डर दिन प्रतिबन्ध गर्ने, नयाँ उत्पादन अपलोड गर्न प्रतिबन्धगर्ने र अन्ततः दराजबाट पसलनै हटाइदिने । यसले गर्दा व्यापारको अवसरनै हराउँछ। त्यसैले बिक्रेतालाई गल्ती गर्ने छुट छैन ।

बिक्रेताको संख्या बढाउन दराजको योजना कस्तो छ?
दराजको बिक्रेता बढाउने यात्रा काठमाडौं उपत्यकाबाट सुरु भएको हो। अहिले हामीले पोखरा, भरतपुर, विराटनगर, बुटवल, जनकपुर र वीरगन्जबाट पनि बिक्रेता समावेश गरेका छौं। तसर्थ अहिले हामीसँग तीन हजारभन्दा बढी बिक्रेता आवद्ध छन्। २०२१ को अन्तिमसम्ममा बिक्रेता संख्या १० हजार बनाउने योजना छ।

प्रकाशित: २० फाल्गुन २०७६ १३:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App