१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

सीमा अतिक्रमणको केन्द्रमा ‘काँडेतार’

काठमाडौं – ‘आमा विक्षिप्त छिन्। भर्खरै बिरामी अवस्थाबाट तंग्रिदै छिन्। उनी बिरामी हुँदा उनको सुन्दर घरको स्थिति बिग्रिदै गयो। तर अहिले घरको अवस्था सुध्रिदै गएको उनी बताउँछिन्। त्यो घरमा उनको सन्तान हिमाल, पहाड र तराई छन्। सन्तानहरू विभिन्न कारण देखाइ विवाद गरिहन्छन्। कहिलेकाहीँ एक आपसमा आरोप प्रत्यारोप गर्दै झगडा समेत गर्छन्। उनीहरू अशंवण्डा गरी छुट्टिएर बस्नुपर्छ भन्न भ्याउँछन्। यत्तिकैमा करेसावारी जोडिएको छिमेकी गाउँका केही मान्छेसहित आमाको आँगनमा प्रवेश गर्छन्।

आमाका सन्तानहरू एक आपसमा मिल्नुहुँदैन भन्ने तर्कसहित उपस्थित भएका छिमेकी गाउँका मान्छेहरू आमाका सन्तानलाई मिलाइदिने वाहनामा झन झन उकास्न थाल्छन्। उनीहरूले कोठेबारीको एकछेउ हठप्ने योजना बनाउँछन्। यत्तिकैमा नालापानीको युद्वमा मारिएकी एक महिला सपनीमा आएर आफू र आफ्ना पूर्खाहरूले बचाइदिएको घरबारी कसैलाई दिनुहुँदैन भन्दै आमाका सन्तानलाई सचेत गराउँछिन्। अन्ततः हिमाल, पहाड र तराईलाई चेतना आउँछ। उनीहरू एक आपसमा मिलेर बस्ने प्रतिबद्धता गर्छन्।’ सोमबार जमलस्थित राष्ट्रिय नाचघरमा मञ्चनरत ‘काडेंतार’ नाटकमा देखिएको दृश्य हो यो।

मातृभूमीप्रतिको आगाध प्रेम बोकेको प्रस्तुत नाटकमा बिम्व र प्रतिकको भरपूर मात्रामा प्रयोग गरिएको थियो। नाटकमा आमा पात्रलाई नेपाल आमाको प्रतिकको रूपमा उभ्याइएको थियो। हिमाल, पहाड र तराईको नाममा देशमा भइरहेका विभिन्न विवादलाई जोडिएको देखिन्छ। नेपालीहरू विभिन्न विवादका कारण झगडा गरिरहेको र त्यसको फाइदा अन्यले उठाएको कुरा नाटकमा प्रष्ट देखिन्छ। एउटा घरभित्र अशान्ति हुँदा वाह्य शक्तिले घरकै सदस्यलाई प्रयोग गर्न सक्छन्, त्यसैले यसमा नेपालीहरू सचेत हुनुपर्छ भन्ने सन्देश नाटकमार्फत दिएको छ।

प्रगतिशिल नाटककार किशोर अनुरागको लेखन तथा निर्देशनमा बनेको उक्त नाटकलाई बालुवाटारस्थित आर्शिवाद बोर्डिङ स्कुलका कक्षा ८ र ९ का ११ जना विद्यार्थीमार्फत प्रस्तुत गरिएको थियो। दुई महिना अघि नाचघरमा सीमा अतिक्रमणबारे बनेको ‘जङ्गे पिलर’ नाटक मञ्चन गरेका निर्देशक अनुराग भन्छन्, ‘सीमा अतिक्रमणको विरुद्धमा तथा पार्टीहरू सचेत भएर एकै ठाउँमा उभिएको र पहल भइरहेको नेताहरूले दाबी गरेता पनि देशमा पार्टीहरू बिचमा रहेको असम्झदारी र सिमा अतिक्रमण नरोकिएका कारण काँडेतार नाटक लेखेको हुँ।’

सीमा विवादको मुद्दामा पार्टीहरू एक ठाउँमा उभिए पनि अन्य विवादतिर फर्केपछि सीमा विवाद छायाँमा परेको सन्दर्भको उठान नाटकमा गरिएको थियो। नाटकमा मनुश्रीया श्रेष्ठ, आशिका गुरुङ, मनिष गौतम, कुशल मगर, अनुपा नेपाल, रिभा भुजेल, स्नेहा भारती, स्पर्श लामा, जोरन सलामी, लक्ष्मी बस्नेत र प्रियंका चौधरीको अभिनय रहेको थियो।

प्रकाशित: २० फाल्गुन २०७६ ०३:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App