१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

प्रदेशस्तरीय खेलकुदको तयारी तीव्र

मकवानपुर - प्रथम बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगितालाई भव्य रूपमा गर्न धमाधम तयारी भइरहेको छ। बागमती प्रदेश खेलकुद विकास परिषद्को आइतबार बसेको बैठकले प्रतियोगिताको कार्यविधि पनि पारित गरेको छ। बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयअन्र्तगतको प्रदेश खेलकुद विकास परिषद्ले चैत २१ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने प्रदेशस्तरीय खेलकुद प्रतियोगिताको कार्यविधि समेत पारित गरेको हो। कार्यविधिमा प्रतियोगिताका लागि उपसमिति गठनको निर्णय गरिएको प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले बताए।

प्रदेशस्तरीय खेलकुद प्रतियोगिता नेपालमै पहिलो र ठूलो प्रतियोगिता हुने सदस्यसचिव भण्डारीले दाबी गरे। प्रतियोगिताको उद्घाटन कार्यक्रम प्रदेश राजधानी हेटौंडा र समापन कार्यक्रम चितवनमा हुने जनाइएको छ। प्रतियोगिताका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयबाट प्राप्त ८ करोड रुपैयाँ बजेट पनि बैठकले पारित गरेको प्रदेश खेलकुद विकास परिषद्का सदस्य माधव तिमल्सिनाले बताए। ‘प्रतियोगितामा खेलाडी, प्रशिक्षक, व्यवस्थापकसहित २ हजार ७ सय जना सहभागी हुनेछन्,’ उनले भने, ‘खेलाडी छनोट र व्यवस्थापनका लागि १३ वटै जिल्ला खेलकुद विकास समितिलाई ८ लाख रुपैंयाका दरले उपलब्ध गराइनेछ।’

प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा ८ वटा खेल समावेश गरिएका छन्। महिला र पुरुष दुवैतर्फ फुटबल, भलिबल, क्रिकेट, तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स र ब्याडमिन्टन खेल खेलाइनेछ। क्रिकेटमा महिला टोली नरहेकाले महिला र पुरुष दुवै गरी ८ वटा खेलका १५ विधामा प्रतिस्पर्धा गराइने सदस्यसचिव भण्डारीले बताए।

हेटौंडा र चितवनमा सञ्चालन गरिने प्रतियोगितामा प्रदेशका १३ वटा जिल्लाका खेलाडी, प्रशिक्षक र आयोजक गरी करिब ३ हजार को सहभागिता रहने प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ। सदस्य सचिवको संयोजकत्वमा रहेको प्रतियोगिताको कार्यकारी समितिले स्थान तय गर्ने बताइएको छ।

प्रदेश खेलकुद विकास परिषद्ले प्रतियोगिताको क्रममा खेलाडी प्रशिक्षक तथा निर्णायकले पाउने सुविधामा पनि उल्लेख्य वृद्धि गरेको छ। खेलाडीले खेलअवधिभर खाना र बस्नको लागि दैनिक दुई हजारका दरले भत्ता पाउनेछन्। जबकि राष्ट्रिय खेलकुद परिषद्ले अहिले पनि १४ सय रुपैयाँ दिने गरेको छ। परिषद्ले प्रतियोगिता अवधिभर खेलाडी घाइते भएमा १५ लाखसम्मको र निधन भएमा ३० लाखको अनिवार्य बिमा गरिदिने भएको छ। यस्तो प्रावधान पनि पहिलो पटक प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले सुरुआत गरेको हो।

प्रकाशित: २० फाल्गुन २०७६ ०१:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App