१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

१ सय ७३ थान लागुऔषधसहित युवक पक्राउ

उदयपुर- उदयपुरको चौदण्डीगढी नगरपालिकाबाट एक युवा भारी मात्राको लागूऔषधसहित पक्राउ परेका छन्। बिहीबार राति चौदण्डीगढी ४ को स्वामीचोकबाट २५ वर्षीय रोशन मगर १ सय ७३ थान बिभिन्न किसिमका लागुऔषध र गाँजासहित पक्राउ परेको प्रहरी चौकी बसाहालाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

मगरलाई प्रहरी चौकी बसाहाबाट खटेको टोलीले शंका लागी सोधपुछ गर्दा उनको साथबाट स्पास्पेन नामक लागुऔषध १ सय १० थान र एप्काडोल नामक प्रतिबन्धित लागुऔषध ६३ ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ। त्यस्तै मगरको साथबाट ५० ग्राम गाँजासमेत बरामद भएको चौकीलाई उद्धृत गर्दै जिल्ला प्रहरी प्रवक्ता डिएसपी हरिकृष्ण केसीले बताए।

पक्राउ मगरलाई प्रहरीले सोधपुछ गर्दा सोही ठाउँका राजकपुर यादवले सञ्चालन गरेको मेडिकलबाट किनेको वयान अनुसार स्वामी चोकस्थित लक्ष्मी मेडिकलमा छापा मार्दा यादव नभेटिएको बताइएको छ। उनी फरार रहे पनि उनको मेडिकलमा प्रहरीले छापा मार्दा झण्डै २ हजार थान ट्याव्लेट फेला परेको छ। यादवको मेडिकलबाट प्रहरीले प्रतिबन्धित स्पास्पेन ९ सय १० ट्याव्लेट, एप्काडोल ९ सय ४८ ट्याव्लेट तथा टाईफेनिकोल नामक लागुऔषध ५७ थान गरी १ हजार ९ सय १५ थान लागुऔषध बरामद भएको छ।

पक्राउ मगरलाई इलाका प्रहरी कार्यालय बेलटार ल्याएर अनुसन्धान सुरु गरिएको छ भने फरार यादवको खोजी तीव्र पारिएको छ। यादवको मेडिकलबाटै यसरी भारी परिमाणमा प्रतिबन्धित लागुऔषध बरामद हुनुले औषधि बेच्ने बहानामा वैधानिक मेडिकलहरु भित्रभित्रै गैरकानुनी काम गर्दै समाज विगार्ने मुख्य भूमिका खेल्दै रातारात धनी हुने धन्दामा लाग्ने गरेको प्रमाणित भएको छ।

यसअघि पनि जिल्लाका बिभिन्न मेडिकलहरुले लागुऔषध बेच्ने गरेको समाचार बाहिरिदै आएको छ। गतवर्ष आयोजित नगरपालिकाभरीका मेडिकल व्यवसायीहरुको भेलामा चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईले अवैध लागुऔषधको किनबेच मेडिकलहरुबाटै हुने गरेको गुनासो आएको भन्दै वैधानिक कामको आवरणमा अवैधानिक गतिबिधि नगर्न सुझाएका थिए। त्यसको केही महिनापछि बेलटारस्थित एक मेडिकल हलबाट लागू औषध बिक्री गरेको तथ्य बाहिरिएपछि प्रहरीले सबै मेडिकलहरुलाई सचेत गराएको थियो।

अहिले चौदण्डीगढीकै लक्ष्मी मेडिकलबाट पुनः यत्ति ठूलो परिमाणको लागुऔषध बरामद हुनुले वैधानिक व्यापारको आवरणभित्र अवैधानिक गतिबिधि गर्दै समाज विगार्ने क्रियाकलाप हुने गरेको तथ्य उजागर भएको छ। सदरमुकाम गाईघाटस्थित एक मेडिकलमा पनि लागुऔषध किनबेच हुन्छ भन्ने दुव्र्यसनीको बयान अनुसार प्रहरीले छापा मारेको थियो। तर, त्यहाँ भने लागुऔषध बरामद नभएको प्रहरीले जनाएको छ।

वैधानिक व्यापारको पर्दाभित्र बसेर गैरकानुनी काम गर्दै लाखौं युवायूवतीको भविष्य बर्बाद गर्ने मेडिकल सञ्चालकहरुलाई प्रमाण जुटाएर हदैसम्मको कारबाही गर्नुपर्ने चौदण्डी नगरप्रमुख खगेन्द्र राईको भनाई छ। औषधि बेच्ने बहानामा प्रतिबन्धित लागुऔषध बेच्ने जोकोही व्यापारी व्यवसायी कानुनी रुपमा दण्डनीय हुने भन्दै उनले यस्तो गैरकानुनी गतिबिधिविरुद्ध प्रशासन, प्रहरी, मेडिकल व्यवसायी संघ, उद्योग बाणिज्य संघ र सम्पूर्ण जनप्रतिनिधि एकजुट भएर लागी पर्नुपर्ने आग्रह उनले गरेका छन्।

प्रकाशित: १६ फाल्गुन २०७६ १४:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App