१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

त्यागका प्रतिमूर्ति भागवत ज्ञवाली

प्रजातन्त्रका प्रणेता बिपी कोइरालाको सानिध्यमा रही प्रजातान्त्रिक निष्ठा र आदर्शप्रति आजीवन समर्पित नेपाली कांग्रेसका सिद्धान्तनिष्ठ त्यागी नेता थिए– भागवत ज्ञवाली। गुल्मीको खज्र्याङ मानकोटमा माता दुर्गादेवी र पिता जनार्दन ज्ञवालीका एक मात्र छोराका रूपमा २००१ कात्तिक २५ गते जन्मिएका उनी सांसद पनि हुनुभएको थियो। पूर्वसांसद ज्ञवालीको यही २०७६ फागुन ६ गते ललितपुरस्थित अल्का अस्पतालमा निधन भयो। 

मानकोटकै श्रीराम पाठशालाबाट प्रारम्भिक शिक्षा लिएका ज्ञवालीले भारतको वाराणसीबाट विश्वविद्यालय तहको अध्ययन पूरा गर्नुभएको थियो। वाराणसीको विराला सेन्टरबाट माध्यमिक र त्यसभन्दा माथिको शिक्षा उहाँले सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय र काशी विश्वविद्यालयबाट हासिल गर्नुभएको थियो। संस्कृत साहित्य र दर्शनशास्त्रमा शास्त्री  गरेका ज्ञवालीमा पूर्वीय दर्शनको गहिरो ज्ञान थियो। वेदान्त दर्शनका अध्येता उहाँमा श्रीमद्भागवत गीतामा हरेका राजनीतिक दर्शन र  कर्मयोगबारे छुट्टै र विशिष्ट ढंगले व्याख्या गर्ने विशेष क्षमता थियो। उहाँको सम्पर्कमा पुग्ने जुनसुकै विषयका जिज्ञासु तृप्त बनेर फर्कन्थे।

काशी हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्र र अंग्रेजी साहित्यमा स्नातक तहको शिक्षा प्राप्त गर्ने सिलसिलामा उहाँले अर्थशास्त्र, समाजशास्त्र तथा पूर्वीय र पाश्चात्य दर्शनको गहिरो अध्ययन गरेको पाइन्छ। त्यस क्षेत्रका विशिष्ट विद्वान् डा. टीकाराम पन्थीको प्रचुर प्रतिभाका प्रशंसक बिपी कोइरालाकै प्रेरणामा बहुप्रतिभा–सम्पन्न भागवत ज्ञवालीले विद्यार्थी अवस्थामै राजनीति र शैक्षिक जागरणको नेतृत्व गर्न पुग्नुभयो। फलतः २०२२ सालमा बनारसको नेपाली छात्र परिषद्को अध्यक्षमा प्रजातन्त्रवादीका तर्फबाट प्रतिस्पर्धामा उत्रनुभयो। सँगसँगै परिवर्तनको शंखघोष गर्ने ‘बिहानीपख’ पत्रिकाको सम्पादक भई यसको प्रकाशनलाई प्रभावकारी बनाउनुभयो।

सिद्धान्तलाई व्यवहारमा उतार्ने बिरलै व्यक्तिमध्ये उहाँ पर्नुहुन्छ।

उहाँका समकालीनहरू शैलजा आचार्य, चक्र बास्तोला, प्रदीप गिरिसँग उहाँको राजनीतिक र वैचारिक यात्रा आजीवन निरन्तर रह्यो। २०२३ सालमा बिपीलगायत नेता कारावासबाट मुक्त भई बनारस प्रवासमा गएपश्चात् नेपाली कांग्रेसको मुखपत्र ‘तरुण’ प्रकाशनमा शैलजा आचार्यसँगै ज्ञवालीको सक्रिय योगदान रहेको देखिन्छ। बिपीको सम्पर्कमा रही नेपाली कांग्रेस पार्टीको राजनीति, तत्कालीन रणनीति र योजना निर्माणमा उहाँको सहभागिता देखिन्छ।

२०३३ सालमा बिपी कोइरालासँगै  गणेशमान सिंह, शैलजा आचार्य, रामबाबु प्रसाईं, नीलाम्बर पन्थी र खुमबहादुर खड्का भारत प्रवासबाट राष्ट्रिय मेलमिलाको नीति लिएर नेपाल आएपछि नेपाली राजनीतिमा नयाँ तरंग सिर्जना भयो। राष्ट्रियता  र प्रजातन्त्र सँगसँगै जानुपर्ने तथा दुवै बलियो हुनुपर्ने बिपीको धारणा थियो। त्यसपछि देशव्यापी रूपमा पार्टीमा नयाँ हलचल आयो। स्वदेशमै रहेका कृष्णप्रसाद भट्टराई र बिपी कोइरालाको सल्लाहमा हरेक जिल्लामा राष्ट्रिय एकता र प्रजातान्त्रिक आन्दोलन तयारीका लागि जिम्मेवारी बाँडफाँड गरियो। गुल्मीमा प्रेमनाथ अर्याल र भागवत ज्ञवालीलगायतलाई पार्टी नेतृत्वको जिम्मा दिइयो। सोही नेतृत्वले २०३६ सालको जनमत संग्रहमा विशेष भूमिका निर्वाह गरेको तथ्य नेपाली कांग्रेस, गुल्मीको इतिहासबाट अवगत हुन्छ। 

२०४८ सालसम्म नेपाली कांग्रेस (गुल्मी)को सभापति रहेका ज्ञवालीको नेतृत्वमा २०४८ सालको आम निर्वाचनमा गुल्मीका तीनवटै संसदीय निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए। ज्ञवाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो। ज्ञवाली कुशल र योग्य जनप्रतिनिधिका रूपमा प्रतिनिधिसभामा रहनुभयो। प्रतिनिधिसभाको परराष्ट्र तथा मानव अधिकार समितिको सभापति समेत भएका उहाँलाई तत्कालीन सांसदहरू मुक्तकण्ठले प्रशंसा गर्दै स्मरण गर्छन्।

विभिन्न स्थानमा यात्रा गर्न रुचाउने ज्ञवाली धार्मिक स्थलको अध्ययन/भ्रमण एवं राजनीतिक–सामाजिक काममा जीवनको उत्तराद्र्धसम्मै सक्रिय हुनुहुन्थ्यो। यस्ता निष्ठा र त्यागका प्रतिमूर्ति ज्ञवालीको समग्र जीवन नै एक पाठशाला हो। सिद्धान्तलाई व्यवहारमा उतार्ने बिरलै व्यक्तिमध्ये उहाँ पर्नुहुन्छ। आजको राजनीतिमा आदर्श र सिद्धान्तका कुरा गर्ने तर व्यवहार उल्टो भएका भ्रष्ट व्यक्ति हावी भएका छन्। यस्ता छद्मभेषी क्रियकलापले समग्र राजनीति धूमिल बनाएको यो अवस्थामा ज्ञवालीको पदचिह्न पछ्याउन सकियो भने मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ।

प्रकाशित: १६ फाल्गुन २०७६ ०४:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App