४ पुस २०८१ बिहीबार
image/svg+xml
विचार

कोरोना महामारी र नेपालको तयारी

ज्ञानुमाया राई
‘नेपालको विमानस्थलबाट त सजिलै बाहिरियौं, गाह्रो त चीनमै भो,’ सामान्य रुघाखोकी लागेको अर्को साथीलाई उडान अनुमतिका लागि चीनमा बेहोरेको सास्ती बयान गर्दै उनले भने, ‘काठमाडौं पुगेपछि अस्पतालसम्म जान बाध्य पार्ला कि भन्ने आशंकाबीच चीनदेखि नेपालसम्मको यात्रा तय गरेका थियौं, तर त्यो हैरानी बेहोर्नुपरेन।’

उल्लिखित संवाद–अंश केही दिनअघि चीनको उहानबाट स्वदेश फर्किएका एकजना भाइले नेपाल पुगेपछि खुसी हुँदै विच्याटमार्फत व्यक्त गरेका अनुभव हुन्। उनको भनाइले कोरोना आतंक चरम अवस्थामा पुगिरहेका बेला हामीले गरिरहेको रोकथाम प्रयास कति प्रभावकारी र पर्याप्त छ भन्ने वास्तविकता छर्लङ्ग पार्छ।

यतिबेला चीनको कोरोना–प्रभावित क्षेत्रमा रहेका नेपालीको उद्धार र क्वारेनटाइन व्यवस्थापन गरेपछि बाँकी प्रकोप स्वतः रोकथाम हुनेछ भन्ने मानसिकता सरकारमा रहेको उसको कार्यशैलीले देखाएको छ। दिन दुईगुना, रात चौगुना प्रगतितर्फ लम्किरहेको चीनजस्तो देशलाई त कोरोनाभाइरस प्रकोपले अहिले शिथिल बनाइरहेको छ।

कोरोना प्रकोप रोकथाम भनेको चीनबाट १ सय ७५ नेपालीको उद्धार र तिनलाई क्वारेनटाइनमा राख्नु मात्र हो भन्ने ठानिएको देखिन्छ।

यस्तो अवस्थामा कोरोना महामारीको उच्च जोखिममा रहेको नेपाल समयमै सचेत बन्नुपर्ने हो, तर यो प्रकोप रोकथामका लागि भनेर गरिएका काम हेर्दा राज्य संयन्त्र अझै गम्भीर भएको देखिँदैन। चीनमा जस्तो महामारी यहाँ हुँदै हुँदैन भनेर सरकार ढुक्क भएजस्तो देखिन्छ। नत्र चीनको जस्तै भयावह अवस्था आयो भने हाम्रो हालत के होला भनेर नेपाल निकै संवेदनशील हुनुपर्ने हो। तर नेपाली जनताले त्यस्तो अनुभूति अझै गर्न सकिरहेका छैनन्।

कोरोना प्रकोप रोकथाम भनेको चीनबाट १ सय ७५ नेपालीको उद्धार र तिनलाई क्वारेनटाइनमा राख्नु मात्र हो भन्ने ठानिएको देखिन्छ। यतिबेला विश्वकै लागि चुनौती बनिरहेको कोरोना नियन्त्रण कति गाह्रो छ भन्ने कुरा चीनले बेहोरिरहेको सास्तीबाटै जगजाहेर भइसकेको छ। यो प्रकोपबाट नेपालीलाई जोगाउने हो भने राज्यले आफ्नो कार्यशैलीमा पुनरवलोकन गर्न जरुरी छ। कसैगरी कोरोना संक्रमण फैलियो भने त्यो नियन्त्रण नेपालजस्तो देशको वशको कुरा होइन भन्ने प्रस्ट छ।

त्यसैले भाइरस भित्री नै नदिनेतर्फ नेपाल सक्रिय हुन आवश्यक छ। त्यसका लागि सुरक्षा व्यवस्थासँगै कोरोनाविरुद्ध सचेतना नै तत्कालका लागि एक मात्र उपाय हो। सरकार र राज्य संयन्त्र गम्भीर बन्ने हो भने नेपालजस्तो सीमित अन्तरदेशीय नाका भएको मुलुकका लागि संक्रमण छिर्न नदिन त्यति धेरै गाह्रो होलाजस्तो लाग्दैन। संक्रमण आशंका गरिएका दुई चिनियाँ नागरिक पोखराबाट बेपत्ता हुनु, अनि चीनबाट फर्किएर त्यहीं जँचाउन पुगेका दुई नेपाली विद्यार्थी आइसोलेसन वार्डमा भर्ना हुन चिकित्सकले गरेको आग्रह अटेर गरी घर फर्केको समाचार सत्य हुन् भने गम्भीर चिन्ताको विषय हो। यस्ता गतिविधिले भुसको आगोजस्तै भित्रभित्रै कोरोना संक्रमण फैलिइरहेको त छैन भन्ने आशंका बढाइरहेको छ।

परदेशमा अप्ठेरो अवस्थासँग जुधिरहेका आफ्ना नागरिकप्रतिको दायित्व पूरा गर्न सफल भइयो कि भइएन भनेर सरकार र दूतावास दुवैले समीक्षा गर्ने बेला हो यो।

कोरोनाभाइरस संक्रमणको त्रासदी कस्तो हुन्छ भनेर चिनियाँ जनता र चीनमा बसिरहेका हामीजस्ता नेपालीले भोगिरहेका छौं। जुन त्रासदी स्वदेशका आफन्तहरूले भोग्न नपरोस् भनेर यो चिन्ता व्यक्त गरिरहेका छौं। चीनमा बसिरहेका हामीजस्ता विद्यार्थी हुन् वा अन्य कामविशेषले रहेका नेपाली, जसका दिनचर्या साँच्चै सकसपूर्ण बनिरहेका छन्। यतिबेला पूरै चीन त्रसित छ। कहाँ कति बेला कोरोनाको संक्रमणमा परिने हो भन्ने डरले यहाँका मानिस घरबाहिर निस्किन सकिरहेका छैनन्। अत्यावश्यक कामबाहेक कोही कोठाबाहिर निस्किँदैनन्। सवारीसाधन पनि नगण्य मात्रामा चलिरहेका छन्। मानिसको चहलपल शून्यप्रायः छ। विश्वविद्यालयका थोरै क्यान्टिन (खाजा घर) मात्र खुलेका छन्।

मानिसहरूबीच बोलचाल कमै मात्र हुने गर्छ। अहिले विश्वविद्यालयका होस्टल र होटलमा बसेर अध्ययन गरिरहेका विद्यार्थीबीच च्याटमा बाहेक भेटघाट हुँदैन। सबैका अनुहार मास्कले छोपिएका छन्। विगतमा मानिसको अधिक भिडभाड हुने स्थान अहिले सुनसान बनेका छन्। सबैतिर एक प्रकारको सन्नाटा छाएको छ। कोरोनाभाइरस संक्रमणको त्रासले सबैलाई गाँजिरहेको छ।

यस्तो संकटको घडीमा पनि जनजीवन समान्य बनाउन चीन सरकारले जुन प्रयास गरिरहेको छ, त्यो सबैका लागि शिक्षाप्रद छ। यस्तो अवस्थामा पनि दैनिक उपभोग्य वस्तुको अभाव हुन दिइएको छैन। सक्रंमणबाट जोगिन सचेतना कार्यक्रमदेखि ठूला सपिङ हलहरूसम्म स्वयंसेवक परिचालन गरी निःशुल्क मास्क वितरण तथा निर्मलीकरणका सबै उपाय अवलम्बन गरिएको छ। सार्वजनिक यातायातमा एक–अर्को यात्रुबीच स्पर्श नहुने गरी व्यवस्था मिलाइएको छ।

अहिले अति प्रभावित क्षेत्रहरूमा सचेतना बढाउन तथा संक्रमणविरुद्ध लड्न हजारौं कार्यकर्ता परिचालन गर्न सुरु गरिएको छ। कोरोना सक्रंमितको उपचारका लागि छुट्टै अस्पताल निर्माणसँगै हजारौं स्वास्थ्यकर्मी युद्धस्तरमा खटिएका छन्। कोरोना सक्रंमण रोक्न यतिबेला देशको पूरै शक्ति केन्द्रित भएको छ। यति हुँदाहँुदै पनि संक्रमण नियन्त्रण गर्न हम्मेहम्मे परिरहेको छ। हिमालपारिको छिमेकी मुलुकले बेहोरिरहेका यो सास्तीबाट हिमालवारिको नेपालले सचेत नहुनु भनेको संकटलाई खुला आमन्त्रण गर्नुजस्तै हो।

यहाँको यी सबै अवस्थाबारे यहाँ (चीन)स्थित नेपाली दूतावास पूर्ण जानकार छन्। यो प्रतिकूल अवस्थामा राजदूतावासको अहम् भूमिका हुन्छ। उहान सहरमा रहेका केही नेपालीलाई स्वदेश फर्काउनासाथ सबै दायित्व पूरा भयो भनेर बस्नु हुँदैन। यहाँ अध्ययनरत विद्यार्थीप्रति अभिभावकीय भूमिका निर्वाह गर्ने दायित्वसमेत दूतावासको हो, तर त्यो अनुभुति हुन सकिरहेको छैन। उहानबाहेक चीनका अन्य प्रान्त र सहरमा बस्ने नेपालीको अवस्थाबारे नेपाली दूतावास बेखबर बन्न मिल्दैन। उनीहरूको अवस्थाबारे निरन्तर सूचना लिने तथा उनीहरूलाई आवश्यक सहयोग गर्ने काममा राजदूतावास सक्रिय हुनुपर्छ। आफ्नै तहबाट होस् वा सरकार गुहारेर, आफ्ना नागरिकप्रतिको दायित्व निर्वाह गर्न जरुरी छ।

नेपाल सरकारले पनि आफ्ना नागरिकको सुरक्षाबारे चीन सरकारसँग कुरा गर्नुपर्छ। यसबीच पाकिस्तानले आफ्ना नागरिकलाई फिर्ता नलगे पनि उनीहरूका लागि अत्यावश्यक सामग्री जहाजमार्फत ल्याइदिएको छ। नेपाल सरकारले पनि यस्तै दायित्व यहाँ बसिरहेका आफ्ना नागरिकप्रति निर्वाह गर्न पर्दैन ?

यस्तै चीन नेपालको घनिष्ठ छिमेकी मुलुक हो। नेपालको समग्र विकासमा चीनको योगदान महत्वपूर्ण छ। छिमेकी मित्र–राष्ट्रलाई परेका बेला कसरी र कुन रूपमा सहयोग गर्न सकिन्छ भनेर पनि नेपालले सोच्न जरुरी छ। मित्र–राष्ट्रसँगको सौहार्दता वृद्धि गर्दै गुन लगाउने समय र अवसर पनि हो यो। यसमा नेपाल चुक्नु हुँदैन।

राजदूतावासले उता (नेपाल)बाट जे अह्रायो त्यो मात्र गर्ने, नभए चुप लागेर बस्नु हुँदैन। परिस्थितिको आकलन गरेर आफ्ना नागरिकको अवस्थाबारे सरकारलाई जानकारी गराई दूतावासले आफ्नो आवश्यकता र औचित्य पुष्टि गर्ने अवसर पनि हो यो। परदेशमा अप्ठेरो अवस्थासँग जुधिरहेका आफ्ना नागरिकप्रतिको दायित्व पूरा गर्न सफल भइयो कि भइएन भनेर सरकार र दूतावास दुवैले समीक्षा गर्ने बेला हो यो। यस्तै असहज अवस्थामा हो– नागरिकले राज्यको सहारा खोज्ने। यस्तो बेला राज्य, नागरिकप्रतिको दायित्व पूरा गर्न चुक्न हुँदैन।
(हाल ः बेइजिङमा विद्यावारिधि गर्दै)

प्रकाशित: १५ फाल्गुन २०७६ ०५:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App