१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चिलिमे त्रिशूली प्रसारण लाइन निर्माणमा ढिलाइ

रसुवा - चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइन निर्माणमा ढिलाइ हुने भएको छ। चीनमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण सामग्री आयात, कामदार परिचालन तथा कामदारलाई रकम भुक्तानीमा समस्या आएको हो।
आयोजना निर्माण गरिरहेको चिनियाँ ठेकेदार पिङ्गाओ ग्रुप लिमिटेडको कार्यालय चीनको हुनान प्रान्तमा रहेको छ। यो प्रान्त कोरोना भाइरस फैलिएको प्रान्तसँग जोडिएकाले समस्या आएको आयोजना प्रमुख सुभारम्भ विक्रम शाहले बताए। ‘त्यहाँ रहेको बैंक तथा ठेकेदारको कार्यालयसमेत खुल्न सकेको छैन,’ उनले भने, ‘त्यहाँबाट हुनुपर्ने सबै काम रोकिएको छ।’

चीनबाट आउनुपर्ने सामग्री आएको छैन। कामदारलाई दिनुपर्ने रकम भुक्तानी हुन सकेको छैन। आयोजनामा करिब चारजना कार्यरत थिए। तर अहिले त्यहाँ करिब एक सय ८० ले काम गरिरहेका छन्। आयोजनाको सबस्टेसनका लागि आवश्यक सामग्रीको परीक्षण चीनमा र प्रसारण लाइनका लागि आवश्यक सामग्री परीक्षण भारतमा भइसकेको छ। चीनबाट आउने सामग्री कोलकात्ता हुँदै आउने भएकाले यतिखेर सामग्री ढुवानी सुरु भइसक्नुपर्ने हो। तर त्यो हुन सकेको छैन।

चालु आर्थिक वर्ष ०७६/७७ भित्र जिल्लाका दुईवटा जलविद्युत् आयोजनाले उत्पादन सुरु गर्ने तयारी गरेका छन्। यो प्रसारण लाइन निर्माण नभएमा उत्पादन भएको विद्युत् खेर जाने छ। प्रसारण लाइनको ५५ प्रतिशत काम सकिएको छ।

आठवटा टावरको फाउन्डेसनको काम सकिएको छ। बाँकी टावरको एस्काभेसनको काम जारी छ। सामग्री ढुवानी गर्नका लागि ग्रेमा रोपवे निर्माण भइरहेको छ। सडक नपुगेको क्षेत्रमा सामग्री लैजानका लागि तीन स्थानमा रोपवे स्थापना गर्ने तयारी भइरहेका आयोजना प्रमुख शाहले बताए।

सन् २०१७ डिसेम्बर २० देखि प्रसारण लाइन निर्माण सुरु भएको आयोजनाको सन् २०१९ जुन १३ मा निर्माण सम्पन्न गर्ने कार्ययोजना रहेको थियो। सम्झौताअनुसार काम गर्न नसकेपछि आयोजनाले निर्माणको म्याद थपेको छ। थपिएको समय सीमाअनुसार सन् २०२० अप्रिल ३० सम्ममा सबस्टेसनको निर्माण गरिसक्नु पर्छ। तर यो नसकिने देखिएपछि म्याद थप्न लागिएको हो।

भौगोलिक विकटता, सडकको पहुँच नपुगेको, डिजाइनमा धेरै समय लागेका कारण निर्माणमा ढिलाइ भएको उनले बताए। रसुवाको माथिल्लो क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि प्रसारण लाइन निर्माण गरिएको हो। प्रसारण लाइन निर्माणका लागि सन् २०१७ नोभेम्बर १३ मा ठेक्का सम्झौता भएको थियो।

रसुवाको आमाछोदिङ्मो गाउँपालिकास्थित गोल्जुङदेखि नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली थ्री बी हबसम्म प्रसारण लाइन निर्माण हुने छ। प्रसारण लाइनको दूरी साढे २७ किलोमिटर रहेको छ। गोल्जुङदेखि मैलुङसम्म २२० केभी डबल सर्किट र मैलुङदेखि त्रिशूली थ्री बीको हबसम्म ‘फोर सर्किट’ प्रसारण लाइन निर्माण हुनेछ। गोल्जुङदेखि थ्री बी हबसम्म ७८ वटा टावर रहने बताइएको छ।

प्रसारण लाइन र सब–स्टेसन निर्माणका लागि नेपाल सरकार, जर्मन सहयोग नियोग केएफडब्लुको अनुदान तथा युरोपियन इन्भेस्टमेन्ट बैंकको ऋण लगानी छ। प्रसारण लाइन निर्माणपछि जिल्लाको गोसाइँकुण्ड गाउँपालिका र आमाछोदिङ्मो गाउँपालिकामा निर्माणाधीन जलविद्युत्को विद्युत् जोडिने छ।

सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहणमा ढिलाइ, वैदेशिक सहायता पर्खनुपर्ने, जग्गा सट्टा, रुख कटानका लागि समयमै अनुमति नपाउनु लगायत कारणले ढिलाइ भएको हो। यो प्रसारण लाइनमा दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली एक, एक सय २० मेगावाटको रसुवा भोटेकोशी, एक सय ११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सान्जेन खोला, ४२.५ मेगावाटको सान्जेन, २० मेगावाटको लाङटाङखोला, १४.८ मेगावाटको माथिल्लो सान्जेन, ६.४२ मेगावाटको माथिल्लो मैलुङ ए जलविद्युत् आयोजनाको विद्युत् जोडिने छ। यो प्रसारण लाइनमा पाँच सय मेगावाट विद्युत् जडान गर्न सकिने छ।

प्रकाशित: १५ फाल्गुन २०७६ ०४:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App