१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको जन्मोत्सवमा यतीको केक

प्रधानमन्त्री केपी ओलीको जन्मदिन मनाउन तेह्रथुमको आठराईस्थित उनको जन्मघर पुगेका यती ग्रुपका अध्यक्ष लाक्पा सोनाम शेर्पा (क्याप लगाएका)सँगै दायाँतर्फ नेपाल ट्रस्ट सञ्चालक समितिका सदस्यद्वय याङजोम शेर्पा र सीताराम सापकोटा ।

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मोत्सव पनि यती होल्डिङ्सका कारण विवादमा परेको छ। यती ग्रुपका अध्यक्ष लाक्पा सोनाम शेर्पाले आफ्नै निजी हेलिकोप्टर एयर अल्टिच्युडमार्फत आइतबार नेपालको नक्सास्वरुपमा तयार पारिएको १५ किलोको केक प्रधानमन्त्री ओली जन्मिएको घर तेह्रथुमको आठराई पु-याएका थिए।

आठराईमा ओलीको ६९औं जन्मदिनको अवसर पारेर नेपालको नक्सास्वरुपको केक काटिएपछि अहिले सामाजिक सञ्जालमा उनको तीव्र आलोचना भएको छ। नेपाल ट्रस्टको जग्गा कौडीको भाउमा भाडामा लिएको र अन्य सरकारी जग्गामा पनि हालीमुहाली गरेको भन्दै विवादमा तानिएको यतीले केकको व्यवस्थापन गरेपछि ओली थप विवादमा परेका छन्। कम्युनिस्ट पृष्ठभूमिका प्रधानमन्त्री ओलीले राजसी ठाँटमा हजारौंको उपस्थितिमा जन्मोत्सव मनाएपछि उनको आलोचना भएको हो।

हेलिकोप्टरबाट यती ग्रुपका अध्यक्ष शेर्पासँगै नेपाल ट्रस्ट सञ्चालक समितिका सदस्यद्वय सीताराम सापकोटा र याङजोम शेर्पा पनि आठराई पुगेका थिए (हेर्नुस् फोटो)। अल्टिच्युड एयरका मार्केटिङ प्रमुख सापकोटा र यतीसँगै स्वार्थ जोडिएकी याङजोमलाई ट्रस्टको सञ्चालक सदस्य बनाइएको आरोप लागिरहका बेला यो घटनाले त्यसको थप पुष्टि गरेको छ। नेकपाभित्रबाटै पार्टी यतीसँगै सती जान लागेको आरोप लागिरहेका बेला यतीले हेलिकोप्टरमा ओलीको जन्मोत्सव केक पु¥याएपछि पार्टीभित्र उनको थप आलोचना भएको छ। प्रधानमन्त्री ओलीले केक काट्ने बेलामा शेर्पासँगै गएकी ट्रस्ट सञ्चालक सदस्य याङजोमले सहजकर्ताको भूमिका निर्वाह गरेकी थिइन्।

नेपालको नक्सास्वरुपको केट काटिएको विषयमा सामाजिक सञ्जालमा विरोध र समर्थन गर्नेको जुहारी चलेको छ। विरोध गर्नेले ‘जन्मदिनको केक होइन देश’ भन्ने गीतलाई जोडेर प्रधानमन्त्री ओलीले राष्ट्रियतालाई मजाकमा उडाएको आरोप लगाएका छन्। उनका समर्थकले भने अन्य देशमा पनि सरकार प्रमुखले जन्मोत्सवमा राष्ट्रिय झन्डा र देशको नक्सा अंकित केक काट्ने गरेको उदाहरण दिँदै बचाउ गरेका छन्।

नेकपाले जन्मोत्सव, विवाह, पास्नी ब्रतबन्धजस्ता कार्यक्रम मितव्ययी ढंगले मनाउन र तडकभडक नदेखाउन जारी गरेको आचारसंहिता स्वयं अध्यक्ष ओलीले उल्लंघन गरेका छन्। पार्टीको आचारसंहिता उल्लघंन गरेको भन्दै कतिपयले ओलीलाई कारबाही हुन्छ कि हुँदैन भनेर प्रश्नसमेत गरेका छन्।

प्रकाशित: १३ फाल्गुन २०७६ ०१:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App