२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दोषीलाई कारबाही माग गर्दै प्रदर्शन

कलैयामा बरियारपुर घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दैै बारा कांग्रेसले गरेको प्रर्दशन। तस्बिर: नागरिक

बारा – नेपाली कांग्रेस बाराले बरियारपुर घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ। उक्त घटनाका दोषीहरूले महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादव र आफ्ना कार्यकर्तालाई फसाउन खोजेको भन्दै बारा कांग्रेसका सभापति जयचन्द चौरसियाको नेतृत्वमा आइतबार कलैयामा शान्तिपूर्ण प्रदर्शनसमेत गरिएको छ। पार्टी कार्यालयबाट सुरु गरिएको प्रदर्शन कलैया उपमहागनरपालिकाका विभिन्न भाग हुँदै जिल्ला प्रहरी कार्यालयमा पुगेर टुंगिएको थियो। सोही क्रममा प्रहरी उपरीक्षक कृष्ण पंगेनीलाई कांग्रेस कार्याकर्ता र नगरपालिकाका कर्मचारी कुट्नेलाई तत्काल कारबाहीका माग गर्दै उजुरीसमेत दिएको सभापति चौरसियाले बताए। बरियारपुरको विवाद मिलाउनुको सट्टा समाजवादी पार्टी नेपालका महासचिव तथा बारा–२ का प्रतिनिधिसभा सदस्य रामसहाय यादव, प्रदेशसभा सदस्य पारस साह, बच्चा यादवलगायत नेता–कार्यकर्ताले कांग्रेस समर्थक आठजनाविरुद्ध ज्यान मार्ने उद्योगमा प्रहरीसमक्ष मुद्दा दिएर घटनालाई राजनीतिक बनाएको आरोप उनले लगाए।

केही दिनअघि बरियारपुरको मैनी टोलमा नालाको विषयमा छलफल हुँदा नगर प्रमुख यादवलाई स्थानीयले कुटपिट गरेको भनी सामाजिक सञ्जालमा आएको थियो। झुटो आरोप लगाएर आफूहरूको अपमान गरेको भन्दै नगर प्रमुख यादवले समाजवादी युवा संघका केन्द्रीय उपमहासचिवसमेत रहेका मुकेश कुशवाहा र अर्का दीपेन्द्र कुशवाहालाई कारबाही गर्न प्रहरीमा उजुरी दिएका थिए। प्रहरीमा उजुरी परेपछि दीपेन्द्र कुशवाहा पक्राउ परे पनि मुकेश कुशवाहा भने फरार भएका थिए।

उजुरी दिनुअघि नगर प्रमुख यादवले मुकेश कुशवाहाका बुवा हरेन्द्र महतोलाई नगरपालिकामा बेलाएर नभएको घटनामा मुकेशले सामाजिक सञ्जालमा लेखेर चरित्र हत्या गरेको र छोरालाई सम्झाउन आग्रह गरेको प्रहरी उपरीक्षक पंगनीले सुनाए। बरियारपुरस्थित सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थितिमै बोलाएर छोरोलाई सम्झाउन आग्रह गरी घर पठाए पनि हरेन्द्रले नगर प्रमुखले शौचालयमा थुनेर दुर्व्यहार गरेको भनी बनावटी कुरा गरेको र त्यसको सत्यतथ्य बुझ्न प्रहरी उपरीक्षकसँग नगर प्रमुख यादवले आग्रह गरेको बताइएको छ।

फरार मुकेश महागढीमाई नगरपालिकाको बरियारपुर बजारमा शुक्रबार पुगी नगर प्रमुख यादवलाई अपशब्द बोलेका भन्दै कांग्रेस समर्थक कार्यकर्ताले त्यसको प्रतिवाद गर्दा दुई पक्षबीच झडप भएको थियो। झडपमा परी नगरपालिकाका ट्याक्टर चालक साहेब यादव, धीरेन्द्र लहेरा, साजन गुप्तालगायत घाइते भएका थिए भने अर्कोतर्फ समाजवादी युवा संघका केन्द्रीय उपमहासचिव मुकेश कुशवाहा घाइते भएको बारा प्रहरीले जनाएको छ। शुक्रबारको झडपमा दुवैतर्फ घाइते भए पनि बारा प्रहरीले एक पक्षको मात्रै उजुरी लिएर कारबाही प्रक्रिया बढाएको आरोप सभापति चौरसियाले लगाए। बारा प्रहरीले घटनाको निष्पक्ष छालबिन नगरी कांग्रेस कार्याकर्तालाई मात्रै पक्राउ गर्न थालेकोमा शान्तिपूर्ण प्रदर्शन गर्न बाध्य भएको उनले सुनाए। प्रहरी उपरीक्षक पंगेनीले दुवै पक्षबाट लिखित जाहेरी आएको र त्यसको सत्यतथ्य बुझेर अगाडि बढ्ने प्रतिबद्धत व्यक्त गरे।

घटनामा देखिएका नगरप्रमुख यादव र अर्को पक्ष आपसी समझदारीमा त्यसलाई समाधान गर्दा राम्रो हुने सुझाव पंगेनीले दिए। सभापति चौरसियाको नेतृत्वमा गरिएको प्रदर्शनमा नेपाली कांग्रेस बाराका सचिव मनोज भट्ट, कोषाध्यक्ष चन्द्रशेखर यादव, क्षेत्रीय सभापति रामप्रवेश यादव, महागढीमाई नगर सभापति भुलेन्द्र यादव, कलैया उपमहागनरपालिका प्रमुख राजेश राय यादव, महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवलगायतको सहभागिता थियो। आफ्ना सहकर्मी कुटिएको विरोधमा महागढीमाई नगरपालिकाका कर्मचारीहरूले पनि कारबाहीको माग गरेका छन्। जिल्ला प्रशासन कार्यालय बारामा आइतबार ज्ञापनपत्र बुझाएर कर्मचारी कुट्नेलाई कारबाही गर्न माग गरेका हुन्।

प्रकाशित: १२ फाल्गुन २०७६ ०२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App