८ वैशाख २०८१ शनिबार
अर्थ

तीन महिना काम गरेर साउदीबाट रित्तो हात

तीन महिना साउदीमा काम गरेर रित्तो हात घर फर्किएका रुपन्देही, मायादेवी–५ का भीमनारायण र दीपनारायण यादव। तस्बिर : रुद्र/नागरिक

काठमाडौं -  रुपन्देहीको मायादेवी–५ का २८ वर्षीय भीमनारायण अहिर यादवको सकेसम्म स्वदेशमा कुनै न कुनै उद्यम गरौं भन्ने रहर थियो। तर उनले चाहेजस्तो स्वदेशमा उद्यम गर्नसक्ने अवस्था सिर्जना नभएपछि वैदेशिक रोजगारीमा जाने निर्णय गरे। सोही निर्णय अनुसार तीन महिनाअघि साउदी अरेबिया गएका यादवका लागि यतिखेर वैदेशिक रोजगारी थप समस्या बनेर आएको छ। वैदेशिक रोजगारीबाट आर्थिक अवस्था सुधार गर्ने लक्ष्य बोकेका उनी बिहीबार तीन महिनापछि रित्तो हात घर फर्किए।

‘स्वदेशमा जागिर खोज्न आवश्यक शिक्षा थिएन,’ उनले भने, ‘अन्य उद्यमका लागि लगानी गर्न पर्याप्त रकम भएन। त्यसैले वैदेशिक रोजगारीमा जाने निर्णय गरेको हुँ।’ स्वदेशको रोजगारी तथा उद्यम गर्न कुनै उपाय नभएपछि साउदी पुगेका उनी रोजगारदाताले तीन महिनासम्म पारिश्रमिक नदिएपछि स्वदेश फर्केका हुन्। ‘साउदी जानुअघि मासिक एक हजार आठ सय साउदी रियाल पाउने सम्झौता थियो,’ उनले भने, ‘तर तीन महिनासम्म काम गर्दा कम्पनीले खानाका लागि चाहिनेबाहेकको पारिश्रमिक दिएन।’ उनी जबवल्र्ड इन्टरनेसनल ओभरसिज नामको म्यानपावरलाई एक लाख ४० हजार रुपैयाँ बुझाएर साउदी उडेका थिए। ‘घरको आर्थिक अवस्था कमजोर भएपछि वैदेशिक रोजगारी सहारा होला भन्ने लागेको थियो,’ उनले भने, ‘अहिले त्यही वैदेशिक रोजगारीले भएको घरखेत पनि जाला भन्ने समस्या आइलागेको छ।’


साउदी पुगेको एक महिनादेखि नै उद्धारका लागि विभाग र म्यानपावर कम्पनीलाई पटकपटक आग्रह गर्दा पनि सहयोग पाउन नसकेको यादवद्वयको भनाइ छ।

रोजगारदाताले तोकेको पारिश्रमिक नदिएपछि उनले साउदीबाट फर्केकै दिन वैदेशिक रोजगार विभागमा पुगेर सहयोगको याचना गरे। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्धनगरमा रहेको विभागसम्म पुग्न तथा खाना र खाजाका लागि खर्च नभएपछि विभागको टोल फ्री नम्बरमा काम गर्ने कर्मचारीले ट्याक्सी खर्च र खानाको बन्दोबस्त गरिदिएका थिए। ‘साउदीबाट रित्तो हात घर फर्कन लागेको जानकारी पाएपछि विमानस्थलबाटै विभागमा पु-याएका हौं,’ टोल फ्रीमा काम गर्ने सुजना रानाले भनिन्। यादवसँगै रुपन्देही, मायादेवी–५ का २५ वर्षीय दीपनारायण यादव पनि रित्तो हात घर फर्किएका छन्। एकै घरका दाजुभाइ रहेका भीमनारायण र दीपनारायणको समस्या एउटै हो।

दुबै दाजुभाइलाई साउदी पठाउने म्यानपावर पनि एउटै (जबवल्र्ड इन्टरनेसनल ओभरसिज) भएको दीपनारायणले बताए। उनका अनुसार दुवै जनाले प्रतिव्यक्ति एक लाख ४० हजार रुपैयाँका दरले म्यानपावरलाई शुल्क बुझाएका थिए। साउदी चार वर्षअघि नै सरकारले निःशुल्क भिसा र टिकटको निर्णय लागू गरेको गन्तव्य हो। उक्त निर्णयपछि म्यानपावरले साउदी जाने कुनै पनि कामदारसँग १० हजार रुपैयाँभन्दा बढी रकम असुल गर्न पाउँदैन। म्यानपावरलाई प्रतिव्यक्ति एक लाख ४० हजार रुपौयँ बुझाए पनि रसिद भने नदिएको उनीहरूको भनाइ छ। यादवका अनुसार म्यानपावरले साउदीमा ड्राइभरको काम गर्ने सम्झौता गरेर पठाए पनि धुरुब अल इत्तिहाद नामको निर्माण कम्पनीले लेबरको काम गर्न लगाएको थियो। ‘लेबरको काम गर्दासमेत कम्पनीले भनेको मानिरहेका थियौं,’ दीपनारायणले भने, ‘तर ती महिनासम्म पारिश्रमिक नदिएपछि टिक्न सक्ने अवस्था भएन।’

साउदीमा बस्न नसकेपछि सोही ठाउँमा काम गर्दै आएका आफन्तसँग पाँच–पाँच सय साउदी रियाल ऋण लिएर हवाई जहाजको टिकट किनेर घर फर्केको उनको भनाइ छ। ‘तीन महिना काम गर्दा कम्पनीले एक हजार दुई सय रियाल दिएको थियो,’ यादवले भने, ‘त्यो रकम खानामै सकियो।’ पारिश्रमिक माग गर्दा उक्त कम्पनीमा काम गर्ने व्यक्तिले उल्टै हत्या गर्नेसम्मको धम्की दिने गरेको उनको भनाइ छ। ‘धेरै किचकिच गर्ने हो भने मारिदिन्छु भन्नेसम्मको पटकपटक धम्की दिइरहन्थे,’ उनले भने, ‘त्यस्तो धम्कीले गर्दा हामी झनै आत्तियौं।’ पारिश्रमिक नपाउँदा जुन कपडा लगाएर साउदी गएको हो, तिनै कपडामा घर फर्केको उनीहरूले बताए।

यादवका अनुसार अझै पनि सोही कम्पनीमा तीन महिनादेखि बिनापारिश्रमिक ६ नेपालीले काम गरिरहेका छन्। ‘विष्णु भुसाल, राजेश बिक, रामकुमार चौधरी, नारायण चौधरी, प्रताप चौधरी र राजु परियार पारिश्रमिकबिना काम गरिरहेका छन्,’ यादवले भने, ‘उनीहरूलाई चाँडो उद्धार गर्न नसक्ने हो भने अप्रिय घटना हुनसक्छ।’ साउदी पुगेको एक महिनादेखि नै उद्धारका लागि विभाग र म्यानपावर कम्पनीलाई पटकपटक आग्रह गर्दा पनि सहयोग पाउन नसकेको यादवद्वयको भनाइ छ। वैदेशिक रोजगार ऐन २०६४ मा रोजगारीको क्रममा गन्तव्य मुलुकमा सम्झौता अनुसार पारिश्रमिक र काम नपाएको खण्डमा म्यानपावरले खर्चको साढे एक गुनासम्म रकम पीडितलाई उपलब्ध गराउनु व्यवस्था गरेको छ।

प्रकाशित: ९ फाल्गुन २०७६ ०४:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App