१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सीमावर्ती बजारमा स्वदेशी जुत्ताचप्पल उद्यमी

वीरगन्जमा चलिरहेको ‘फुटवेयर एक्सपो–२०७६’ मा किनमेल गर्दै ग्राहक। तस्बिर : रितेश/नागरिक

वीरगन्ज - सीमावर्ती क्षेत्रको स्वदेशी बजारमा कुनै बेला भारतीय जुत्ताचप्पलले कब्जा थियो। अहिले भने नेपालमै बनेका जुत्ताचप्पलले आफ्नो बलियो उपस्थिति देखाएको छ। नेपाली जुत्ताचप्पलको डिजाइन र गुणस्तरले अहिले भारतीय ग्राहकलाई समेत आकर्षित गरिरेहेका बेला कतिपय नेपाली उपभोक्ताको अहिले पनि भारतीय जुत्ताचप्पलबाट मोह हटेको छैन। यसको मुख्य कारण हो नेपाली ब्रान्डका जुत्ताचप्पलबारे उनीहरु जानकार नहुनु। अहिले स्वदेशी जुत्ताचप्पल उद्योगीले ‘फुटवेयर एक्सपो–२०७६’ प्रदर्शनीमार्फत सीमावर्ती क्षेत्रका स्वदेशी ग्राहक आकर्षित गर्ने प्रयास थालेका छन्।

जुत्ताचप्पलमा नेपालमा नाम चलेका सातवटा उद्योगको सहभागितामा नेपाली जुत्ताघर प्रालिले सीमावर्ती बजारमा जुत्ताचप्पल मेलाको अभियान थालेको छ। यसै क्रममा पूर्वी बजार विराटनगरपछि अहिले वीरगन्जमा जुत्ताचप्पल व्यापार मेला सञ्चालन भइरहेको छ। उत्पादकले उपभोक्तासम्म पुगेर नेपाली ब्रान्ड उपभोग सुरु गर्ने वातावरण बनाउने र उपभोक्ताको ‘माग र रोजाई’ बुझेर उत्पादनमा विविधीकरण गर्ने अवसरका रुपमा जुत्ताचप्पल व्यापार मेलालाई उपयोग गरिरहेको जुत्ताघर प्रालिका अध्यक्ष होमनाथ उपाध्यायले बताए। भारतबाट वैध र अवैध तरिकाले भित्रिने जुत्ताचप्पलले स्वदेशी उत्पादनको ठाउँ ओगोटेको स्वदेशी उत्पादकको बुझाई छ।

बजारमा स्वदेशी उत्पादनले ठाउँ नपाएको भने होइन। केही वर्षअघिसम्म स्वदेशी जुत्ताचप्पलको बिक्री धेरै थिएन। अब भने स्वदेशी जुत्ताचप्पलका केही सोरुम नै बजारमा खुलेका छन्। अझ पनि धेरै उपभोक्ताको खुट्टामा भारतीय बजारमा समेत नाम नचलेका साधारण जुत्ताचप्पलले ठाउँ पाएको छ। यस्ता ग्राहकलाई स्वदेशी उत्पादन प्रयोगको बानी बसाल्न ५० प्रतिशतसम्म छुट दिएर जुत्ताचप्पल बिक्री गरिएको उपाध्यायले बताए। सीमावर्ती क्षेत्रका उपभोक्तामाझ स्वदेशी ब्रान्ड स्थापित गराउन बर्सेनि जुत्ताचप्पल व्यापार मेलालाई निरन्तरता दिइने उनले जानकारी दिए। सरकारले जुत्ता उद्योगलाई रोजगारी र निकासीयोग्य उत्पादनको सूचीमा राखेर प्रोत्साहन दिएकामा भने उत्पादक खुसी छन्। वीरगन्जको घण्टाघर नजिक रहेको बिपी उद्यानको जग्गामा आयोजित यस व्यापार मेलामा अहिले भारतीय ग्राहक पनि राम्रो संख्यामा आइरहेको बताइएको छ।

दैनिक ५ देखि ६ लाख रुपैयाँसम्मका जुत्ताचप्पल बिक्री भइरहेको सञ्चालकले जानकारी दिएका छन्। व्यापार मेलामा सात कम्पनीका तीन हजार थरि जुत्ताचप्पल राखिएका छन्। नेपालमा बर्सेनि सात करोड जोडी जुत्ता चप्पल खपत हुने अनुमान उद्यमीको छ। त्यसमध्ये चार करोड जोडी स्वदेशी उद्योगले उत्पादन गरेका छन् भने बाँकी आयात हुन्छन्। स्वदेशी उद्योगको संरक्षणका लागि आयातमा भन्सार दरसँगै मूल्यांकनसमेत बढाउनुपर्ने माग उद्योगीले गर्दै आएका छन्। चालु आव ०७६/७७ को बजेटमार्फत जुत्ताचप्पल आयातमा भन्सार महशुल ३० प्रतिशत पु-याएको छ। महशुल बढाइए पनि मूल्यांकन कम रहेको स्वदेशी उद्योगीको गुनासो छ।

थपियो समय
वीरगन्जमा चलिरहेको जुत्ताचप्पल व्यापार मेलाको समयावधि दुई दिन थप गरिएको आयोजकले जनाएका छन्। गत माघ ६ देखि जारी मेला फागुन ८ गतेसम्म चल्ने भनिएको थियो। मेलामा आकर्षण बढेको भन्दै मेला अवधि दुई दिन थप गरी फागुन ११ गतेसम्म चल्ने आयोजक नेपाली जुताघर प्रालिका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए। ग्राहक उत्साहपूर्ण रुपमा अवलोकन गर्न आइरहेका कारण आफूहरुले यस्तो निर्णय लिएको उनले बताए।

प्रकाशित: ७ फाल्गुन २०७६ ०३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App