१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गाडेको शव प्रहरी नियन्त्रणमा

शव गाड्नलाई बनाइएको खाल्डो, विवेक पासवानले लगाएको स्कुल ड्रेस देखाउदै हजुरआमा, शोकमा रहेको पासवानको उजैनीस्थित घर । तस्बिर : मोहम्मद हबिब

भैरहवा- जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले गाडेको शव नियन्त्रणमा लिएको छ। रामग्राम नगरपालिका-७ उजौनीका ९ वर्षिय विवेक पासवानको मृत्यु रहस्मय भएपछि प्रहरीले अन्तिम संस्कारकै क्रममा शव नियन्त्रणमा लिइएको हो।

गौतम बुद्धको अस्तु राखिएको नवलपरासीको रामग्राम स्तुपा नजिकै रहेको घाटमा परिवारले अन्तिम संस्कार गर्दै गरेको जानकारी प्रहरीमा आएपछि शवलाई नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डिएसपी विरेन्द्र थापाले जानकारी दिए।

स्थानीय निजी विद्यालयमा कक्षा १ मा पढ्दै आएका पासवानको रहस्यमय तरिकाले मृत्यु भएको भन्दै केही व्यक्तिको उजुरीपछि सदगत गर्दै गरेको अवस्थामा प्रहरीले शवलाई नियन्त्रणमा लिएर परासीको पृथ्वीचन्द्र अस्पतालमा पोष्टमार्टमको लागी पुर्‍याएको थियो।

परिवारले बालक भएको कारण सदगतको लागि जलाउनुको सट्टा जेसिभीले खनेर आधा गाडि सकेको अवस्थामा शवलाई प्रहरीले नियन्त्रणमा लिएपछि मृत्युबारे खबर बाहिरीएको हो।

प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक थापाका अनुसार स्थानीय स्कूलमा अध्ययनरत विद्यार्थीको शिक्षकद्वारा कुटपिट भई मृत्यु भएको र शवलाई गाड्न थालिएको जानकारी आएलगत्तै थप अनुसन्धानको लागि शवलाई नियन्त्रणमा लिइएको बताए। अहिले शव पोष्टमार्टमको लागि काठमाडौंस्थित टिचिङ हस्पिटल पठाइएको छ भने विद्यालयको सिसिटिभी फुटेज हेरेर सुक्ष्म तरिकाले अनुसन्धान गरि रहेको प्रहरीले जनाएको छ।

रामग्राम नगरपालिका वडा नम्बर ७ उजैनी बस्ने ९ वर्षिय विवेक पासवान स्थानीय रामग्राम ईङलिस स्कूलमा कक्षा १ मा अध्ययनरत थिए। अन्य दिन जस्तै सामान्य रुपमा विद्यालय गएका विवेक गत शुक्रबार विद्यालयबाट घर फर्किदा सोही विद्यालयमा ७ कक्षामा अध्ययनरत फुफु अंकिता पासवानले बोकेर करिब बेहोशीको हालतमा उनलाई घर ल्याएकी थिइन्।

विद्यालयमा होमवर्क नगरेको भन्दै शिक्षिका प्रतिमा रजकले कुटेपछि उनको स्थिति बिग्रेको र उनलाई विद्यालयले उपचारको लागि नलैजादा विवेकको अवस्था बिग्रेको अंकितालाई उदृत गर्दै पासवानकी हजुरआमाले बताइन्।

घर पुर्‍याइएका विवेकलाई नवलपरासीकै पृथ्वीचन्द्र अस्पताल, स्थानीय क्लिनिक, युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज भैरहवा हुँदै चितवन उपचारको लागी पुर्‍याइए पनि अन्ततः आइतबार उनको मृत्यु भयो। बाबु बैजनाथ पासवान वैदेशिक रोजगारीको लागि बाहिर छन्। उपचारमा आमा अंगिरा पासीले अथक प्रयास गरिन् तर उनको केही लागेन। अहिले उनको आँशु थामिएकै छैनन्। दुई छोरामध्ये जेठो छोराको मृत्यु भएपछि उनि अहिले अर्धबेहोसी अवस्थामा छिन्।

बिहान सामान्य रुपमै विद्यालयमा पु¥याएको छोरा शिक्षिकाको कुटाईबाट टाउकोमा गम्भीर चोट लागि मृत्यु भएको आमा अंगिरा पासीको आरोप छ। कुनै प्रकारको बिरामी नरहेको छोरा विवेकको ब्रेन ह्यामरेजबाट मृत्यृ भएको उनको आरोप छ। अस्पतालमा नै उनको टाउकोमा चोट देखिएको अंगिराको भनाई छ।

यता विद्यालयले भने उक्त आरोपको खण्डन गर्दै अनुसन्धानमा आफूहरुले पूर्ण रुपमा सघाउने प्रतिवद्धता जनाएको छ। रामग्राम ईङलिस स्कूलका प्राचार्य राधेरमण पाण्डेले विद्यालयमा विवेकलाई कुनै प्रकारको कुटपिट नगरिएको दावी गरे। उनले केही व्यक्तिले आफूलाई ब्ल्याकमेलिङ्ग गरि १० लाख रुपैयाँ माग गरिएको आरोप समेत लगाए। पाण्डेले प्रत्येक कक्षाकोठामा सिसिटभी क्यामेरा जडान गरिएको र क्यामेराबाट प्राप्त दृश्यहरुमा त्यस्तो केही नदेखिएको बताए।

प्राचार्य पाण्डेले भने ‘घटनाको सत्य तथ्य बाहिर ल्याउनु पर्छ, बच्चाले न्याय पाउनु पर्छ मेरो विद्यालयको दोष छ भने भएको सजाय भोग्न तयार छु र यो मेरो चरित्र हत्या गर्ने प्रयास हो।’
काठमाडौंको पोष्टमार्टम रिपोर्ट र प्रहरीको अनुसन्धानले मात्र घटनाको सत्य तथ्य बाहिर आउने छ। विद्यार्थीको मृत्यु भएपछि अहिले उजैनी गाउँ नै शोकमा छ।
 

प्रकाशित: ६ फाल्गुन २०७६ १३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App