१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

भौतिक विकास मन्त्री फुयाँलले लिए सपथ

मकवानपुर - बाग्मती प्रदेशकोे भौतिक पूर्वाधार विकास मन्त्रीमा नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का प्रदेशका मुख्य सचेतक रामेश्वर फुयाँलले सपथ लिएका छन्। प्रदेश प्रमुख विष्णु प्रसाईबाट सपथ लिए लगत्तै सोमबारै उनले पदभार समेत ग्रहण गरेका छन्।

मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, प्रदेश मन्त्रीहरुको उपस्थितिमा मन्त्री फुयाँलले सपथ लिएका हुन्। सत्तारुढ नेकपा प्रदेशका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पौडेलले काठमाडांै जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा २ बाट निर्वाचित फुयाँललाई मन्त्रीमा नियुक्त गरेका हुन्।

मन्त्री फुयाँलले सपथ ग्रहणपछि पत्रकारहरुलाई प्रतिक्रिया दिदै पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गबाट आफ्नो मन्त्रालयको काम सुरु गर्ने बताए। ‘प्रधानमन्त्रीको सपना सुखी नेपाली, समृद्ध नेपाल बनाउन वडा सदस्यसम्म लाग्नु पर्छ,’ उनले भने, ‘म उक्त महान् लक्ष्य प्राप्तीमा अहिलेदेखि नै लाग्नेछु।’

तीन–तीन महिनामा मन्त्रालयको प्रगती विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाउँदै उनले प्रदेशमा मौलिक ढंगले विकास गर्न दृढताका साथ लागिपर्ने दाबी गरे। यसअघि तीन पटकको मन्त्री पदको सपथको तयारी भए पनि पार्टीभित्रको विवादले रोकिएको थियो।

सात सदस्सीय मन्त्री परिषदमा फुयाँललाई नियुक्त गर्ने तयारी गरेपछि नेकपा बागमती प्रदेशकी अध्यक्ष अष्टलक्ष्मी शाक्यले एक जना पनि महिला नभएको भन्दै असन्तुष्टि जनाएकी थिइन्। उनले मुख्यमन्त्रीले आग्रहलाई सुनुवाई नगरेपछि अविश्वासको प्रस्ताव ल्याउने चेतावनी दिएपछि यसअघि तयारी गरे पनि मन्त्रीको सपथ रोकिएको थियो।

पहिलो पटक मन्त्री भएका फुयाँल यसअघि संविधानसभाका सदस्यसमेत रहेका थिए। मुख्यमन्त्री पौडेलले नियुक्त गरेको नौ महिनापछि २०७५ कात्तिक १६ गते भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितलाई बर्खास्त गरेका थिए। गुटबन्दी गरेको भन्दै पौडेल र स्थापित बिच चर्को विवाद भएपछि स्थापितलाई बर्खास्त गरी मन्त्रालयको जिम्मवारी पौडेलले लिएका थिए।
मुख्यमन्त्रीको निर्देशन नटेर्ने र मन्त्रालयको बजेट सबैभन्दा बढी भएपनि प्रगति शुन्य भएकाले बाध्य भएर बर्खास्त गरेको बताइएको थियो। स्थापित २०७४ माघ २९ गते भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका थिए।

फुयाँलको वैदारदेखी मन्त्रीको यात्रा
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका २ घर भएका फुयाँल सरकारी जागीरबाट बर्खास्तीमा परेपछि राजनीतिमा होमिएका हुन्। २०४९ बैशाख १७ गते सरकारले कर्मचारी भएर पनि आन्दोलन गरेको भन्दै उनी निलम्बनमा परेका थिए।

२०३८ चैत २९ गते बैदार पदबाट सरकारी जागिर सुरु गरेका फुयाँलले मुखिया, खरदार, नायव सुब्बाहुँदै शाखा अधिकृत भएका थिए। नेकपा बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक रहेका फुयाँल आलापोट गाउँ विकास समिति अध्यक्ष, काठमाडौं जिल्ला विकास समितिको उपसभापति, संविधान सभा सांसद रहेका थिए।

२०३६ सालदेखि विद्यार्थी राजनीतिमा लागेका फुयाँल अनेरास्ववियू हुँदै २०४१ मा तत्कालिन एमालेको जिल्ला सदस्य, २०४७ मा एमाले काठमाडौंको उपसचिव र सचिव पदमा काम गरे। एमालेको आठौं राष्ट्रिय महाधिवेशनपछि २०६५ मा केन्द्रीय सदस्य भएका उनी पार्टीमा जनपरिचालनमा विशेष दख्खल रहेको बताइन्छ।

प्रकाशित: ५ फाल्गुन २०७६ १४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App