१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अपराधी समात्ने आधार सिसी क्यामेरा

काठमाडौं – आपराधिक क्रियाकलापमा संलग्नलाई समात्न सिसी क्यामेरा महत्वपूर्ण साधन बन्न थालेको छ। प्रहरीका अनुसार सानाठूला अपराधमा संलग्नहरू सिसी क्यामेराकै सहायताले पक्राउ पर्दै आएका छन्। सीसी क्यामेरामा कैद भएका फुटेजको सहयोगमा फरार अभियुक्तलाई प्रहरीले समातेर कारबाहीको दायरामा ल्याएका उदाहरण धेरै छन्। कतिपय शंकास्पद घटनाको पुष्टि गर्न पनि सीसी क्यामेराकै प्रयोग हुने गरेको छ। यसको एउटा ज्वलन्त उदाहरण हो– माघ २४ गते शुक्रबार बिहान भएको कलंकीको अन्डरपासको दुर्घटना। त्यहाँ बा४ख ८५७९ नम्बरको टिपरले ठक्कर दिँदा प्रदेश २–०३००४ प ५५० नम्बरको मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै ज्यान गएको थियो। ठक्करपछि टिपर भोको थियो। तर प्रहरीले सोही दिन दिउँसोपख सिसीटीभी फुटेजका आधारमा टिपर र चालकलाई नियन्त्रणमा लियो।

साउनयता ट्राफिक नियम मिच्ने, दुर्घटना निम्त्याउने, भाग्ने, अपराधमा संलग्न सात हजार तीन सय ७६ जनालाई सिसी क्यामेराकै आधारमा प्रहरीले पक्राउ गरेको छ।

मंसिर ७ गते मर्निङ वाकमा निस्किएका चिकित्सक प्रभु जोशीलाई बानेश्वरस्थित जेब्राक्रसबाट सडक पार गर्ने क्रममा दुर्घटनामा परे। सिभिल हस्पिटलमा आबद्ध उनलाई ठक्कर दिएर गाडी भागेको थियो। महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले घटनाको तीन दिनपछि सिसीटिभी फुटेजका आधारमा रामेछापबाट बा३ख ६१४ नम्बरको बससहित चालकलाई नियन्त्रणमा लियो। त्यस्तै पुस ८ गते बिहान पौने ६ बजे गुर्जुधारा चोकमा ट्रकले प्रदेश ३–०२–००९ प ७६२९ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा चालक चन्द्रागिरिका अर्जुनबहादुर केसीको घटनास्थलमै ज्यान गयो। सिसीटिभी फुटेजका आधारमा ठक्कर दिएर भागेको ना८ख ३४२४ नम्बरको ट्रक दुई दिनपछि ललितपुरको चापागाउँबाट समातियो। गत सोमबार सानेपामा भएको हत्यापछिको आत्महत्या प्रकरणमा पनि प्रहरी सिसी क्यामेरोको फुटेजका आधारमा अनुसन्धान अघि बढाएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी जीवनकुमार श्रेष्ठले सीसी क्यामेरो अपराध र दुर्घटनाको तथ्य पत्ता लगाउन अचुक प्रमाण बनेको बताए। उनका अनुसार काठमाडौंका सबैजसो मुख्य चोक सिसी क्यामेरा जडित छन्। ती क्यामेराले ट्राफिक नियम मिच्नेलाई मात्र होइन, अन्य आपराधिक कार्यमा संलग्नलाई समात्न पनि सघाउ पु¥याएका छन्। उपत्यकामा अहिले एक हजार ६ सय ८४ स्थानमा सिसी क्यामेरा जडान गरिएका छन्। अपराध र दुर्घटनाको प्रमाण हेर्न ती सिसी क्यामेरा प्रयोग हुन्छन्। सिसी क्यामेरालाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) र ट्राफिक प्रहरी महाशाखाबाट ‘मोनिटर’ गरिन्छ। उपत्यकाभरिका सिसी क्यामेरा प्रहरी कार्यालयबाट हेर्न मिल्छ तर त्यसका लागि जिल्ला प्रशासन कार्यालयको अनुमति भने लिनुपर्छ। ‘दुर्घटना निम्त्याउने, लेन क्रस गर्ने, आपराधिक क्रियाकलाप गर्ने जोसुकैलाई पनि सिसी क्यामेराले पछ्याएको हुन्छ,’ एसपी श्रेष्ठले भने, ‘कतिपय अपराधीले सिसी क्यामेरा छल्न खोज्छन् तर ठाउँठाउँका सिसी क्यामेरालाई आधार मान्दै भागेर कहाँकहाँ पुगेको भन्ने अध्ययन गरिन्छ।’ उनका अनुसार महानगरपालिकाहरू, विभिन्न संघसंस्था, समूह, समिति, व्यापारी र प्रहरी कार्यालयले उपत्यकाका विभिन्न ठाउँमा सीसी क्यामेरा जडान गरेका छन्।

साउनयता ट्राफिक नियम मिच्ने, दुर्घटना निम्त्याउने, भाग्ने, अपराधमा संलग्न सात हजार तीन सय ७६ जनालाई सिसी क्यामेराका आधारमा प्रहरीले पक्राउ गरेको छ। गत वर्ष आठ हजार नौ सय ३१ जनालाई प्रहरीले पक्राउ गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। अपराध पत्ता लगाउन अत्यावश्यक भएपछि प्रहरीले यस विषयमा बढी चासो दिँदै आइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी किरण बज्राचार्यले बताइन्। उनले विभिन्न ठाउँमा राखिएका सिसीटीभीका कारण अपराध अनुसन्धानमा सजिलो भएको बताइन्। प्रहरीले सिसी क्यामेरालाई आधार मानेर अनुसन्धान गर्नुपर्नेमा उनले जोड दिइन्।

सिसीटीभी जडान तथा सञ्चालनसम्बन्धी कार्यविधि–२०७२ को संशोधन २०७५ ले आवश्यकताका आधारमा प्रयोग गर्न पाइने व्यवस्था गरेको छ। त्यसका लागि निजी, सार्वजनिक र व्यापारिक क्षेत्र छुट्ट्याइएको छ। ‘सबैतिर क्यामेरा हुने हो भने अपराध गर्ने मान्छे झस्कन्छ, आपराधिक क्रियाकलापमा न्यून हुँदै जान्छ तर सिसी क्यामेरा भने गुणस्तरयुक्त हुनु आवश्यक छ,’ उनले भनिन्। उनका अनुसार पुरै उपत्यकालाई सुरक्षित राख्न १७ हजार सीसी क्यामेरा आवश्यक पर्छ। तर अहिले क्यामेराको संख्या न्यून छ। जसका कारण सडक दुर्घटना, ट्राफिक नियम र अन्य अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गर्न असहज बनेको छ।

५० मिटरको दूरीमा सिसी क्यामेरा जडान गर्ने हो भने उपत्यकालाई सुरक्षित राख्न सकिने एसएसपी बज्राचार्यको भनाइ छ। उनले उपत्यकामा रातको समयमा भएका आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न उज्यालो ठाउँमा सिसी क्यामेरा जडानको आवश्यकता औंल्याए। सिसी क्यामेरा जडान गरिएका ठाउँमा उज्यालो नभएका कारण पनि अपराधीहरू उम्कने गरेका छन्। ‘सिसी क्यामेराको गुणस्तर पनि पुग्दो छैन, कतिपय बिग्रिएका छन्, अझ सडकको धुलाले सडकबत्ती र सिसी क्यामेरा छोप्दा फुटेज मधुरो देखिने गरेको छ,’ एसएसपी बज्राचार्यले भनिन्।

प्रकाशित: ३ फाल्गुन २०७६ ०१:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App