१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

चीनबाट नेपालीको उद्धार: यसरी गरिँदैछ तयारी

चीनबाट ल्याइएका बिद्यार्थीलाई राख्न तय भएको भक्तपुरको खरिपाटीस्थित विद्युत् तालिम केन्द्र। तस्बिर : नागरिक

काठमाडौं – सरकारले चीनको हुबेई प्रान्तबाट उद्धार गरेका ल्याइएका नागरिकलाई भक्तपुरको खरिपाटीमा क्वारेन्टाइन राख्न तयारी पूरा गरेको छ।

कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएको हुबेईको वुहानमा रहेका नेपाली नागरिकलाई तत्काल उद्धार गर्न चौतर्फी दबाब आएपछि सरकारले शुक्रबार नेपाल वायुसेवा निगमको वाइड बडी विमान चीनतर्फ पठाउन लागेको हो।

स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीका अनुसार स्वदेश फिर्ताका लागि चीनस्थित नेपाली दूतावासको सम्पर्कमा रहेको व्यक्तिलाई उद्धार गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेको र शनिबार उद्धार गर्नेगरी शुक्रबार वायुसेवा निगमको विशेष विमान चीनतर्फ पठाउने तयारी भएको छ। विशेष परिस्थतिका कारण समय तालिकामा फेरबदल नभए सरकारले शनिबार नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याउनेछ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता सागर दाहालले चीनमा रहेका नागरिकको उद्धार गर्न सरकारले तयारी गरिरहेको बताए।

राष्ट्रिय मानवअधिकार आयोगले परराष्ट्र, शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवलाई आयोगमा बोलाएर नेपाली नागरिकलाई तत्काल उद्धार गर्न निर्देशन दिएपछि सरकार तातेको हो। चीनबाट एक सय ८६ नागरिकलाई स्वदेश ल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद बिडारीको नेतृत्वमा स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, पर्यटन मन्त्रालय, नेपाली सेना, सहरी विकास तथा भवन निर्माण विभागलगायतका निकायका अधिकारी निरन्तर खटिरहेको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए।

चीनबाट उद्धार गरेर ल्याएका नागरिकलाई क्वारेन्टाइन राख्नुपर्ने भएपछि सहरी विकास तथा भवन निर्माण विभाग त्यसको व्यवस्थापनमा जुटेको छ। भवन विभागका एक अधिकारीका अनुसार उद्धार गरेर ल्याइएका एक सय ८५ जनालाई क्वारेन्टाइन राख्न विभागले आफ्नो भागमा परेको जिम्मेवारी पूरा गरेको छ। सबै व्यक्तिलाई एकै ठाउँमा राख्न कठिनाइ हुने भएकाले वैकल्पिक स्थान खोजिए पनि अन्तिममा खरिपाटीमा रहेको विद्युत् प्राधिकरणको भवनमै राख्न सक्ने गरी व्यवस्थापन गरेको ती अधिकारीको भनाइ छ। भवन विभागका महानिर्देशक मणिराम गेलालले व्यवस्थापनको तयारी अन्तिममा पुगेको बताए।

नेपाली सेनाका चिकित्सकको नेतृत्वमा दुईजना नर्स र एकजना ल्याब असिस्टेन्टसहित चार सदस्यीय टोली नेपालबाट चालक दलका सदस्यसहित उद्धारका लागि पठाइने निर्णय भएको स्वास्थ्य मन्त्रालय स्रोतले बतायो। उद्धार गर्नुअघि विशेषज्ञबाट फिर्ता हुन फर्म भरेका व्यक्तिको स्वास्थ्य परीक्षण गरिनेछ। विमानमा प्रवेश गर्नुअघि कुनै व्यक्तिमा कोरोनाको संक्रमण देखापरेमा ती व्यक्तिलाई उद्धार गरिनेछैन। विमानमा राखिसकेपछि पनि लक्षण देखा परेमा विमानभित्रै आइसोलेसनको व्यवस्था गरिएको स्रोतको भनाइ छ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता सागर दाहालका अनुसार उद्धार गरेर स्वदेश फिर्ता ल्याइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खरिपाटीमम्म पु-याउन स्वास्थ्य मन्त्रालयले पाँचवटा एम्बुलेन्स तयारी हालतमा राखेको छ। विमानस्थलमा छुट्टै हेल्थ डेस्कको व्यवस्थापन गरेर स्वास्थ्य परीक्षण गर्ने तयारी रहेको उनको भनाइ छ। इन्फ्रारेड गनमार्फत उनीहरूको स्वास्थ्य परीक्षण गर्ने तयारी भएको सहायक प्रवक्ता दाहालले बताए। विमानस्थलमा राखिएको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी र विमानमा रहेका स्वास्थ्यकर्मीले थर्मल स्क्यानसहितको पुनः स्वास्थ्य परीक्षण गर्नेछन्। विमानस्थलबाट खरिपाटीसम्म लान नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसहितको संयुक्त टोली तयारी हालतमा राखिएको दाहालले स्पष्ट पारे।

स्वास्थ्य परीक्षणको चरण पार गरिसकेपछि स्वास्थ्य मन्त्रालयले व्यवस्थापन गरेको एम्बुलेन्समार्फत खरिपाटीस्थित सहरी विकास तथा भवन निर्माण विभागले व्यवस्थापन गरेको भवनमा लगेर राखिनेछ। खानपिनको व्यवस्थापनको जिम्मा भने नेपाली सेनालाई दिइएको छ। नेपाली सेनाले तयार पारेको खानेकुरा मात्र क्वारेन्टाइनमा बसेका व्यक्तिहरूले प्रयोग गर्नुपर्नेछ। सरकारले सेनालाई अन्य ठाउँमा नै तयार पारेको खानेकुरा प्याक गरेर पठाउने गरी जिम्मा दिएको छ। क्वारेन्टाइनमा राखिएका व्यक्तिहरूको नियमित स्वास्थ्य परीक्षण हुने र त्यसका लागि स्वास्थ्य मन्त्रालय र सेनाबाट चिकित्सकको टोली खटाइनेछ। सरकारले क्वारेन्टाइनमा नै कपाल काट्नेदेखि अन्य सुविधाको व्यवस्था गर्नेगरी तयारी गरेको छ। उनीहरूलाई कम्तीमा १५ दिन क्वारेन्टाइनमा राख्ने सरकारको तयारी छ। क्वारेन्टाइनमा राख्दाराख्दै कोरोनाको लक्षण देखिए र संक्रमण पुष्टि भएमा तुरुन्त अस्पतालको आइसोलेसन कक्षमा राखिनेछ। त्यसका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, छाउनीस्थित नेपाली सेनाको अस्पतालमा आइसोलेसन कक्ष व्यवस्था गरिसकिएको छ। यता अभिभावकले भने क्वारेन्टाइन राख्दा वाइफाईको व्यवस्था गर्न सरकारसमक्ष माग राखेका छन्। आफन्तसँग सम्पर्क गर्न उनीहरूसँग भएको मोबाइल नचल्ने हुँदा वाइफाई व्यवस्थापन गर्नुपर्नेमा अभिभावकले जोड दिएको मन्त्रालयका अधिकारी बताउँछन्।

प्रकाशित: १ फाल्गुन २०७६ ०१:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App