१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पुस्तक पढेर सरकारको विरोध

काठमाडौं – प्रायः आन्दोलन भइरहने राजधानीको माइतीघरमा सोमबार फरक शैलीको विरोध प्रदर्शन आयोजना भएको थियो। विरोध प्रदर्शनीमा सहभागी करिब तीन दर्जन प्रदर्शनकारीहरू विभिन्न विषयका पुस्तकहरू पढिरहेका देखिन्थे।

सरकारले विदेशबाट आयात गरिने पुस्तकमा अतिरिक्त कर लगाएको विरोधमा उनीहरूले प्रदर्शन गरेका थिए। भारत तथा तेस्रो देशहरूबाट आयात हुने पुस्तकमा १० प्रतिशत कर लगाउने सरकारी नीतिविरुद्ध पाठकहरूले पुस्तक पढेर करको विरोध गरेका थिए। ‘मेक बुक ट्‍याक्स फ्रि’ लेखेर विरोध स्वरुप उनीहरूले पुस्तक प्रदर्शनीमा राखेका थिए।

विरोध प्रदर्शनीमा सहभागी गोविन्द कोइराला पाउलो कोहेलोको ‘द अल्केमिस्ट’ पुस्तक पढिरहेका थिए। उनीसँगै बसिरहेका उनका साथीहरू विभिन्न कोर्स बुकहरू पढ्न व्यस्त देखिन्थे। उनीहरूको अघिल्लो भागमा भने आर्थिक वर्ष २०७६/०७७ मा सरकारले पुस्तकमा लगाएको करको विरोधमा ब्यानर राखिएको थियो। ‘म राजनीति शास्त्रको विद्यार्थी हुँ। कोर्स बुकसहित सम्बन्धित विषयका अन्य पुस्तक पनि पढ्न पर्ने हुन्छ। सरकारले पुस्तक सस्तो बनाएर पढ्ने वातावरण तयार गर्नु त कता हो। उल्टो हामीले पुस्तक किन्न नसक्ने बनाएको छ,’ उनले भने।

सरकारले पुस्तकमा १० प्रतिशत कर लगाएपछि कोर्स बुक र अग्रेंजी साहित्यका पुस्तक बजारमा अभाव भएको भन्दै विगत १५ दिनदेखि त्रिचन्द्र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू आन्दोलनरत छन्। कहिले क्याम्पस गेटअघि कहिले माइतीघर मण्डला त कोही निषेधित क्षेत्र तोडेर सिंहदरबार पश्चिम गेट पुगेर विरोध गरिरहेका छन्।

‘हामीले पढ्ने कोर्स बुक पाएका छैनौं। सरकारले हाम्रो गुनासो सुनेन,’ त्रिचन्द्र क्याम्पसमा अध्ययरत विद्यार्थी सुनील बसौलाले भने, ‘क्याम्पसको पुस्तकालयमा सम्बन्धित विषयका पुस्तकहरू छैनन्। बजारमा कोर्स बुक पाइदैन। सरकारले पुस्तकमा लगाएको करका कारण हामीले कोर्स बुक पाएका छैनौं। त्यसैले पुस्तक पढेर आन्दोलन गरिरहेका छौं।’

प्रदर्शनकारी विद्यार्थीहरूका अनुसार कालोबजारी गरिरहेका छन्। ‘पुस्तक पसलेहरूले पुस्तक हामीलाई दिइरहेका छैनन्। दोब्बर तेब्बर मूल्यमा उनीहरू पुस्तक बेचेर कालोबजारी गरिरहेका छन्,’ उनले भने। बजारमा ए लेभल, विज्ञान र अंग्रेजी साहित्यका नयाँ पुस्तकहरू नपाइने गुनासो पाठकहरूले गरेका छन्।

पुस्तक प्रकाशन तथा विक्रेता संघका अध्यक्ष लिखत पाण्डे बजारमा कालोबजारी नभएको बताउँछन्। ‘कालोबजारी भएको हैन। सरकारले प्रिन्टेडमा अतिरिक्त कर लगाउन थालेपछि पुस्तकको शुल्क बढेको हो। त्यसले गर्दा व्यवसायी पुस्तक ल्याउन खासै उत्साहित देखिनन्,’ उनले भने।

बजारमा कोेर्स बुक नपाएपछि उनीहरू अर्थ मन्त्रालय पनि पुगेका थिए। ‘हामीले अतिरिक्त कर हटाएर पुस्तक सहज रूपमा पाइयोस् भनेर माग गरेका छौं। आन्दोलन गरेको १५ दिन भइसक्दा समेत सरकारले वेवास्ता गरिरहेको छ, ’ उनले भने। गत आइतबार सिहंदरबार पश्चिम गेटबाट पुस्तक पढिरहेका करिब एक दर्जन विद्यार्थीहरू पक्राउ परे।

निषेधित क्षेत्रमा विरोध प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेर अनामनगरस्थित प्रहरी हिरासतमा चार घण्टा राखेको थियो। प्रहरीले पक्राउ गरेर छाडेपनि उनीहरूको विरोध प्रदर्शनी रोकिएको छैन्।

यसअघि भन्सार विभागले पुस्तकबाट चालू आर्थिक वर्षको पहिलो चार महिनामा १ करोड ४५ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो। गत साउनदेखि कात्तिकसम्म १३ करोड २१ लाख ५३ हजारको ११ लाख ४९ हजार ७ सय ४७ वटा पुस्तक ( शब्दकोष, ब्रोसर र छापिएर आएका पर्चालगायत) आयात भएको थियो। सरकारले पुस्तकबाट संकलन गरेको राजस्व गत वर्षको भन्दा १० लाख ५३ हजार बढी हो।

प्रकाशित: २९ माघ २०७६ ०३:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App