१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

राष्ट्रिय बालनाटक महोत्सवमा शैली संवाद

काठमाडौं - रुसी सांस्कृतिक केन्द्र र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले संयुक्त आयोजना गरिएको ‘११ औं राष्ट्रिय बालनाटक महोत्सव’ को तेस्रो दिन ‘शैली संवाद’ शीर्षकमा छलफल गरिएको छ। रातोपुलस्थित शैली थिएटरमा बालबालिका र नाटकमा केन्द्रित भएर चार शीर्षकमा १६ जना वक्ताले आफ्नो धारणा राखेका थिए। संवादको बीचमा ६ जना विद्यार्थीले कविता वाचनसमेत गरेका थिए।

‘बाल्यकाल सम्झिँदा र नाटक’ विषयमा बोल्दै देशभक्त खनालले खाटलाई स्टेज बनाएर नाटक मञ्चन गरेको अनुभव सुनाए। देवेन्द्र बब्लु भने नाटक वाचलचित्रको पहुँचभन्दा धेरै पर रहेको हुँदा नाटक गर्छु भन्ने सपना बाल्यकालमा नबोकेको बताए। ‘पढ्न राजधानी आएपछि मात्र म नाटकतिर जोडिएको हो। पत्रकारिताको समय बालनाटक महोत्सवको रिपोर्ट गर्दा नाटकमा मन गयो,’ बब्लुले भने। ‘नाटक र बालअधिकार’ विषयमा नाटकमार्फत कसरी बालबालिकाको अधिकारबारे सचेत गर्न सकिन्छ भन्नेमा केन्द्रित थियो। अधिकारकर्मी कविता राज्य शाहले नाटकमार्फत बालबालिकाको अभिव्यक्तिको स्वतन्त्रताको भूमिका खेलिरहेको र यसले उनीहरूको शारीरिक तथा मानसिक विकासमा टेवा पुगेको बताउँछिन्। अशोक शिवाकोटी नाटकमार्फत सचेत गराएपछि भाइबैनीले आफूमाथि भएको दुव्र्यबहारबारे बोल्न सक्ने बताउँछन्। सुवास सुवेदीका अनुसार कचहरी वा सडक नाटकमार्फत यौन दुव्र्यबहार र बालअधिकारबारे नाटक देखाइएकाले बालबालिकालाई दीर्घकालीन रूपमा सचेत बनाएको छ।

‘बालनाटक महोत्सव ः अनुभव र अवसर’ शीर्षकमा नवराज बुढाथोकीले दश–एघार वर्षअघि सुरु गरेको बालनाटक महोत्सवले नाटकको दर्शक बढाउनुका साथै रंगकर्मीसमेत जन्माएको बताइन्छ। ‘बालनाटक महोत्सवले मलाई कलाकार, संयोजक एवं निर्देशक बन्ने अवसर दिएको हो,’ केदार श्रेष्ठले भने, ‘थिएटरमा काम गर्ने रंगकर्मीका लागि पनि शैलीले आयोजना गर्ने महोत्सवमा आफ्नो सिप देखाउने र जाँच्ने राम्रो ठाउँ बनेको छ।’

‘नाटकमा बालबालिका’ शीर्षकमा विजय बिस्फोटले बालनाटक महोत्सवले बालबालिकालाई नाटक घरसम्म ल्याउने वातावरण सिर्जना गरेको धारणा व्यक्त गरे। उनले भने, ‘बालनाटक महोत्सवले नाटक सिक्ने र सिकाउने प्रवृत्तिको विकास भएको छ।’ तर कलाकार लुनिभा तुलाधरले बालबालिकालाई ठाउँ दिने नाउँमा उनीहरू प्रयोग भइरहेको तर्क राखिन्। ‘बच्चाले नबुझ्ने विषयमा समेत अभिनय गराई राखिएको छ,’ उनले आलोचना गर्दै भनिन्, ‘नाटकमा बालबालिकाले सुन्न मिल्ने र हेर्न मिल्ने दृश्य छ कि छैन भन्ने विषयमा ध्यान दिएको छैन।’ नाटकले बालबालिकालाई खुल्न मद्दत गर्ने र जीवनोपयोगी पाठ पढाउने अशोक थापाको भनाइ छ।

प्रकाशित: २६ माघ २०७६ ०२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App