coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

स्वदेश फर्कन हिउँ तगारो

वीरेन्द्रनगर – हुम्ला सिमकोट–४ की रिन्जिन आमु लामा रोजगारीका लागि केही महिनाअघि चीनको स्वशासित क्षेत्र तिब्बतको बराङ काउन्ट्रीस्थित ताक्लाकोट पुगिन्। चीनको हुबेई प्रान्तको वुहान सहरबाट कोरोना भाइरस फैलिएसँगै उनी त्रसित भइन् र घर फर्कने निर्णयमा पुगिन्। तर नेपाल छिचोल्ने ठाउँमा जमेको बाक्लो हिउँ उनका लागि तगारो बनिदियो। यतिखेर उनले जति चाहेर पनि घर फर्कन सक्ने स्थिति छैन।

चीनसँग सीमा जोडिएको हुम्लाको नाम्खा गाउँपालिका–५ यारीस्थित पाँच हजार मिटर उचाइमा रहेको नारा लेकमा बाक्लो हिउँ जमेकाले चीनको ताक्लाकोट पुगेका नेपालीलाई घर फर्कन समस्या भएको हो। सिमकोट–४ की संगीता लामा पनि चीनमै रोकिएकी छिन्। कारण हो त्यही बाक्लो हिउँ। रोजगारीका लागि कर्णालीका विभिन्न जिल्लाबाट चीन गएकाहरू कोरोना भाइरसबाट त्रसित भई घर फर्कने मनस्थितिमा त छन् तर सम्भावना भने छैन। ‘बाटो बन्द भएपछि ताक्लाकोट बस्दै आएका हामीलाई चिनियाँ प्रहरीले यहाँ बस्न पाइँदैन छिटो घर जा भन्छ,’ संगीताले भनिन्, ‘हिउँले बाटो बन्द गरेपछि घर फर्किन सकिएको छैन।’ ताक्लाकोटमा करिब ६० जना नेपाली कामदार अलपत्र परेको रिन्जिनले जानकारी दिइन्। चीनमा दिनप्रतिदिन फैलँदै गएको कोरोना भाइरसको त्रास लिएर बस्न आफूहरू बाध्य भएको उनले बताइन्।

नेपाली कांग्रेसका जिल्ला सभापति जयपति रोकायले स्थानीय प्रशासन र स्थानीय सरकारले हुम्ली कामदारलाई चीनबाट फर्काउन पहल नगरेको भन्दै आक्रोश व्यक्त गरे। आफन्तहरूले कामदारलाई फर्काउन आग्रह गर्दै आए पनि सरकारले बेवास्ता गरेको उनको आरोप छ। हुम्लाका उत्तरी क्षेत्र नाम्खा, सिमकोट, खार्पुनाथ र सर्केघाटका कामदार रोजगारीका लागि चीन जाने गर्छन्। बाक्लो हिउँ जमेकाले हिल्सा नाका बन्द छ। त्यसकारण उनीहरूलाई जिल्ला फर्काउन समस्या भएको बताइएको छ।

चीनसँग सीमा जोडिएको हुम्लाको नाम्खा गाउँपालिका–५ यारीस्थित पाँच हजार मिटर उचाइमा रहेको नारा लेकमा बाक्लो हिउँ जमेकाले चीनको ताक्लाकोट पुगेका नेपालीलाई घर फर्कन समस्या भएको हो।

यहाँका स्थानीय रवीन भण्डारीका अनुसार हुम्लाबाट चीनको ताक्लाकोट गएकाहरू त्रासमा छन्। चीन फैलिएको कोरोना भाइरसबाट संक्रमित हुन सक्ने भन्दै उनीहरूले उद्धारका लागि पहल गर्न आग्रह गरेको बताए। ताक्लाकोटमा रहेकाहरूले आफूसँग दिनहुँ म्यासेन्जरमा भिडियो कल गर्दै त्रासमा बाँच्न विवश भएको जानकारी दिने गरेको बताए। हुम्लाका ८० भन्दा बढी कामदार काम गर्न चीन पुगेका छन्।

हुम्लासँगै कर्णालीका डोल्पा, मुगु, रुकुम पश्चिम, जाजरकोटलगायत र सुदूरपश्चिमका दार्चुलालगायत जिल्लाबाट कामदार ताक्लाकोटलगायत चीनका विभिन्न स्थानमा गएका छन्। यता कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले चीनसँग सीमा जोडिएका कर्णाली प्रदेशका जिल्लामा सजगताका लागि सचेत गराइएको बताए। आवश्यक स्वास्थ्यकर्मी सीमा नपठाएकोबारे उनले अहिले सीमा जोडिएका क्षेत्रमा चहलपहल नभएकाले आवश्यक कदम नचालेको बताए। चीनमा रहेका कर्णालीवासीको उद्धारबारे केही जानकारी नआएको उनले बताए।

प्रकाशित: २५ माघ २०७६ ०१:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App