१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेपाल-चीन सैन्य अभ्यास अर्को वर्ष

काठमाडौं- नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच पहिलो संयुक्त सैनिक अभ्यास अर्को वर्ष हुने भएको छ। भारतले भने नेपालमा यस्तो अभ्यास निरन्तर गर्दै आएको छ। चिनियाँ रक्षा मन्त्रालयले पत्रकार सम्मेलनमार्फत नेपाल र चीनबीच २०१७ मा संयुक्त सैन्य अभ्यास हुने औपचारिक जानकारी गराएको हो।

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता याङ युजुनले पछिल्लो समय चीन र नेपालबीच  आदान प्रदान भएका विभिन्न सहयोगअन्तर्गत सैन्य अभ्यास पनि एक हुने बताएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

रणनीतिक साझेदारीको विषय सरकारले निर्धारण गर्ने भन्दै नेपाली सेनाको स्रोतले भन्यो, 'चीनसँगको सैनिक अभ्यासको विषय प्रारम्भिक चरणमा छ। यस विषयमा अन्तिम टुंगो लागेपछि औपचारिक रुपमा घोषणा गर्नेछौं।'

प्रतिकार नाम दिइने सैनिक अभ्यासमा नेपाली  र चिनियाँ सेनाले आतंककारीबाट बन्धक कसरी छुटाउने विषयमा संयुक्त अभ्यास गर्नेछन्।

सुरक्षा मामिला विज्ञ दीपकप्रकाश भट्ट चीनसँगको रणनीतिक साझेदारीका लागि नेपालले चालेको महŒवपूर्ण कदममध्ये संयुक्त सैन्य अभ्यास  एक भएको बताउँछन्।

'यो सरकारको बोल्ड स्टेप हो। विश्वव्यापी रुपमा बढ्दै गएको सुरक्षा चुनौती सामना गर्न दुवै छिमेकीसँग राम्रो सहकार्य आवश्यक छ', भट्टले भने, 'छिमेकी देश भारतसँग पहिलादेखि नै संयुक्त सैनिक अभ्यास हुँदै आएको छ। अब चीनसँग पनि हुँदा राम्रो हुन्छ। चीन छिमेकी राष्ट्र मात्रै होइन, विश्वको शक्ति राष्ट्र पनि हो।'

विश्व शक्ति राष्ट्रको रुपमा अमेरिकासँग पनि संयुक्त सैन्य अभ्यास हुँदै आएको छ। भारतले पनि चीन र अमेरिकासँग छुट्टाछुट्टै रुपमा संयुक्त सैनिक अभ्यास गर्दै आएको छ। 'चीनले पनि पछिल्लो समयमा सैनिक क्षेत्रलाई आधुनिकीकरण गर्दै लगेको छ। यसबाट नेपालले प्रत्यक्ष फाइदा लिन सक्छ,' भट्टले भने।

चीन सैन्य क्षेत्रमा अमेरिकापछि विश्वमा सबैभन्दा बढी बजेट भएको देश हो। 

सुरक्षा मामिलाविज्ञ गेजा शर्मा वाग्ले भूराजनीतिक कारणले गर्दा दुुवै छिमेमी देशसँग कूटनीतिक र सामरिक रुपमा सन्तुलन कायम गर्नुपर्ने बताउँछन्। उनले चीनसँग हुने सैनिक अभ्यासले सामरिक सन्तुलन कायम राख्ने बताए। 'नेपालको भूराजनीतक अवस्थितिका कारण दुवै छिमेकीसँग कूटनीतिक र सामरिक सन्तुलन कायम गर्नुपर्छ। चीनसँग सैनिक अभ्यासले सामरिक सन्तुलन कायम गर्नेछ,' वाग्लेले भने, 'यस्तो गर्दा नेपालले दुवै देशको सुरक्षा संवेदनशीलतालाई समेत ध्यान दिनुपर्छ।'

नेपाल र निनियाँ सेनाको संयुक्त अभ्यासको विषयलाई लिएर भारत र चीने सरकारसँग निकट पत्रिका जुहारी सुरु भएसकेको छ। टाइम्स अफ इन्डियाले नेपाल र चीनको सैनिक अभ्यासले दिल्लीलाई चिन्तामा पारेको लेखेको छ।

नेपालले चीनसँग प्रस्ताव गरेको प्रतिआतंकवादी सैनिक अभ्यासले प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारमा आएपछि काठमाडौंसँग सुधारिएको सम्बन्धमा फेरि दिल्लीलाई चिन्तामा पारेको उल्लेख छ।

चीनको ग्लोबल टाइम्सले नेपाल–चीनबीचको सम्बन्धमा भारत थप खुला हुनुपर्ने जनाएको छ। टाइम्सका अनुसार नेपाललाई भारतले आफ्नो आँगन जस्तो ठान्ने र चीन–नेपाल सहकार्यमा जहिले पनि अनावश्यक दबाब दिने काम न व्यावहारिक छ न सम्भव नै छ। ग्लोबल टाइम्सले लेखेको छ, 'दक्षिण एसियाली क्षेत्रमा समायोजनको उच्च माग छ तर भारतले एक्लैले यो काम गर्न सकेको छैन। यस परिस्थितिमा यस क्षेत्रबाहेकका देशबीच समायोजनका लागि अन्य देश आउनु स्वाभाविक नै हो।'

प्रकाशित: १५ पुस २०७३ ०२:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App