१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चिनियाँलाई निषेध, ताइवानी ११३ जना २ घण्टा सीमामा रोकिए

भारतस्थित सुनौली अध्यागमन कार्यालयमा स्थापना गरिएको हेल्थ डेस्कसहित डाक्टर ।

भैरहवा- कोरोना भाइरसको संक्रमण फैलने क्रम झनै बढ्न थालेपछि भारतले पनि सतर्कता बढाइएको छ। भारतमा कोरोना भाइरसको लक्षण देखिन थालेपछि नेपालबाट स्थलमार्ग भई भारत प्रवेश गर्ने चिनियाँ पर्यटकलाई बुधबारबाट भारत सरकारले प्रवेशमा रोक लगाएको हो।

बढ्दो संक्रमण रोक्ने उद्देश्यले चिनियाँ नागरिकलाई भारतमा भित्रिन नदिने गरी प्रतिबन्ध लगाइएको छ। अध्यागमन कार्यालय सुनौलीका अनुसार सरकारको निर्णय बमोजिम बुधबारबाट नेपाल–भारत रुपन्देहीको सिमाना वेलहिया–सुनौलीबाट स्थलमार्ग भई आउने चिनियाँ पर्यटकलाई रोक लगाइएको जनाएको छ। बुधबार भन्दा पहिला प्रवेशाज्ञाको अनुमति लिइएका बाहेकलाई रोक लगाइएको छ, नेपाल हुँदै चीनबाट आएका नयाँ पर्यटकलाई भने प्रवेशको भीसा र आगमन दुबै अनुमति नदिने अध्यागमन कार्यालयका अधिकारी मिथिलेश तिवारीले जानकारी दिएका छन्।

भारत सरकारको प्रावधानका कारण बुधबार साँझ भारतबाट नेपालतर्फ आइरहेका ११३ ताइवानी पर्यटकलाई २ घण्टा बढि सीमामा रोकिनु परेको थियो। रोकको आदेशका कारण भारतबाट नै स्थलमार्ग भएर लुम्बिनी दर्शन गर्न आएका ताइवानीहरुलाई पुनः भारत प्रवेशको अनुमति दिने की नदिने विषयमा अध्यागमन कार्यालयलाई यथेस्ट परिपत्र नआएकोले केहीबेर रोकिएको थियो। कार्यालयले भारतीय उच्च अधिकारीहरुसँग छलफल गरे पश्चात २ घण्टापछि नेपाल जान अनुमति दिइएको थियो। चीनका नागरिक नेपालबाट भारत प्रवेश गर्नेलाई मात्र रोक लगाइएको छ, उच्च अधिकारीको छलफलपछि भारतबाट नेपाल जाने सबै पर्यटकहरुलाई भारत प्रवेशमा रोक नलगाउने बताए।

भारत प्रवेश गर्ने सबै विदेशी पर्यटकलाई नाकामा स्वास्थ्य जाँच गरेर मात्र प्रवेशाज्ञा दिइएको छ। कोरोना भाइरसलाई लिएर गत मंगलबारदेखि आदर्शनगर पंचायत सुनौलीले नेपालबाट भारत प्रवेश गर्ने पर्यटकहरुको स्वास्थ्य डेस्कबाट स्वास्थ्य चेकजाँच गर्न थालेको छ। पहिला परिक्षण गरिने, लक्षण शंकास्पद देखिएका बिरामीहरुलाई महाराजगंज जिल्ला अस्पतालमा पठाएर थप चेक एवं अनुसन्धान गर्ने व्यवस्था मिलाएको डाक्टर सेफाली गुप्ताले बताइन्।

भारतले चीन, जापान, सिंगापुर, थाईल्याण्ड, कोरिया र इटलीका नागरिकलाई विशेष निगरानी गर्दै सीमा क्षेत्रमा विशेष निगरानी बढाएको छ। इमिग्रेशन कार्यालय, प्रशासन र सीमा नाकामा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ। पर्यटकको पार्सपोर्ट हेर्दै, उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको गुप्ताले बताइन्।

डेस्कमा बिहीबार साँझसम्म १८४ जनाको परिक्षण गरेको छ। दैनिक रुपमा १५० देखि २ सयसम्मका विदेशी पर्यटक यस नाकाबाट भित्रि रहेका छन्, कुनै पनि पर्यटकमा भाइरसको संक्रमण देखिएको छैन अधिकांश चिनियाँ, मंगोलिया, थाईल्याण्डका पर्यटकहरु भारत तर्फ आइरहेका छन्।

 

प्रकाशित: २३ माघ २०७६ १२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App