१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेपाल र चीनले पहिलाे पटक संयुक्त सैन्य अभ्यास गर्ने

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता याङ युजुन। तस्बिरः चाइना पिपुल्स डेली

काठमाडौं–  नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच पहिलो पटक संयुक्त सैन्य अभ्यास अायाेजना गरिने भएकाे छ। चिनियाँ रक्षा मन्त्रालयले नेपाल र चीनबीच २०१७ मा संयुक्त सैन्य अभ्यास गर्न लागेको औपचारिक जानकारी गराएको हाे।

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता याङ युजुनले पछिल्लो समयमा चीन र नेपालबीच सैन्य आदान–प्रदानको विभिन्न स्वरुप मध्ये सैनिक अभ्यास पनि भएको मन्त्रालयले अायाेजना गरेकाे एक पत्रकार सम्मेलनमा जानकारी गराएकाे समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

रणनीतिक साझेदाररीको विषयलाई सरकारले निर्धारण गर्ने भन्दै नेपाली सेनाको स्रोतले भन्यो, ‘चीनसँगको सैनिक अभ्यासको विषय प्रारम्भिर चरणका छ। यस विषयमा अन्तिम टुङ्गो लागेपछि औपचारिक रुपमा घोषणा गर्ने छौं ।’
नेपालले यसअघि भारत र अमेरिकी सैनिकहरुसँग सैनिक अभ्यास गर्दै आएको थियो ।

'प्रतिकार एक' नामको सो सैनिक अभ्यासमा नेपाली सेना र चिनियाँ सेनाले आतंककारीहरुबाट बन्धक कसरी छुटाउने भनी संयुक्त रुपमा अभ्यास गर्ने समाचारहरु आएका छन् ।

त्रिभुवन विश्वविद्यालयलको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विभागका अध्यापन गराउँदै आएका सुरक्षा मामिला विज्ञ दीपकप्रकाश भट्ट चीनसँगका रणनीतिक साझेदारीमा नेपालले चालेको महत्वपूर्ण कदम भएको बताउँछन्।

‘यो सरकारको बोल्ड स्टेप हो । विश्वव्यापी रुपमा बढ्दै गएको सुरक्षा चुनौती सामना गर्न दुवै छिमेकीसँग राम्रो सहकार्य आवश्यक छ’ भट्टले भने, ‘छिमेकी देश भारतसँग यसअघिदेखि संयुक्त सैनिक अभ्यास हुँदै आएको थियो। अहिले चीनसँग पनि हुँदा राम्रो हुन्छ। चीनलको छिमेकी राष्ट्र मात्रै होइन छिमेकी विश्वको शक्ति राष्ट्र पनि हो।’

विश्व शक्ति राष्ट्रको रुपमा अमेरिकासँग पनि अभ्यास हुँदै आएको छ। भारतले चीन र अमेरिकासँग छुट्टाछुट्टै रुपमा संयुक्त सैन्य अभ्यास गर्दै आएको छ ।

‘चीनले पनि पछिल्लो समयमा सैनिक क्षेत्रलाई आधुनिकिकरण गर्दै लगेको छ। यसबाट नेपालले प्रत्यक्ष फाइदा लिन सक्छ,’ भट्टले भने ।

चीन सैन्य क्षेत्रमा अमेरिकापछि विश्वमा सबैभन्दा बढी बजेट भएको देश हो।  

सुरक्षा मामिलाका विज्ञ गेजा शर्मा वाग्ले भू राजनीतिक कारणले गर्दा दुुवै देशसँग कुटनीतिक र सामारिक रुपमा सन्तुलन कामय गर्नुपर्ने बताउँछन् । उनले चीनसँग हुने सैनिक अभ्यासले सामरिक सन्तुलन कायम राख्ने बताए ।

‘नेपालको भू राजनीतक अवस्थितिको कारण दुवै छिमेकीसँग कुटनीतिक र सामारिक सन्तुलन कायम गर्नुपर्छ । चीनसँग सैनिक अभ्यासले सामरिक सन्तुलन कायम गर्ने छ,’ वाग्लेले भने, ‘यस्तो गर्दा नेपालले दुवै देशको सुरक्षाका संवेदनशीलतालाई समेत ध्यान दिनुपर्छ ।’

नेपाल र चीन हुने संयुक्त सैनिक अभ्यासको विषयलाई लिएर भारत र चीनको सरकारसँग निकट रहेको पत्रिकाहरु दुवैतर्फ औपचारिक घोषणा शुरु हुनुअघि नै जुहारी शुरु भैसकेको छ । विदेश मन्त्रालयसँग निकट टाइम्स अफ इन्डियाले नेपाल र चीनको सैन्यक अभ्यासले दिल्लीलाई चिन्तामा पारेको लेखेको छ ।

नेपालले चीनसँग सैन्य अभ्यास गर्न प्रस्ताव गरेकोप्रति चासाे देखाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारमा आएपछि काठमाडौंसँग सुधारिएको दिल्लीकाे सम्बन्धप्रति फेरि दिल्लीलाई चिन्तामा पारेको उल्लेख छ ।

टाइम्स आफ इन्डियाले लेखेको छ – 'नेपालका यस प्रकारको सैनिक अभ्यासमा जाने निर्णयले नेपाल र चीन दुवैसँगका सम्बन्धमा नयाँ तहको जटिलता ल्याउने छ र ओलीको पछि दाहालले भारतसँग सम्बन्धमा सुधारका लागि गरेको प्रयासलाई टुटाउने छ।'

भारतले पुरै दक्षिण एशियाका देशहरु आफ्नो प्रभाव क्षेत्रभित्रको देशको रुपमा ठान्दछ र कुनै तेस्रो देशका सम्बन्ध विस्तारलाई प्रभाव क्षेत्रभित्रको अतिक्रमणको रुपमा लिन गरेको छ।

भारतसँग नेपालप्रति आतंकवादी सैन्य अभ्यास एक दशकभन्दा अघिदेखि नै गर्दै आएको छ । नेपाली सेनाका लागि भारत हातहतियारको प्रमुख स्रोतको रुपमा रहँदै आएको छ।

त्यसअघि नै चीनको ग्लोवल टाइम्सले नेपाल–चीनबीचका सम्बन्धमा भारत थप खुला हुनुपर्ने बताएको छ।

टाइम्स अफ इन्डियाले नेपाललाई भारतले आफ्नो आँगन जस्तो ठान्ने र चीन–नेपाल सहकार्यमा जहिले पनि दबाब दिने काम न व्यवहारिक छ न संभव नै छ। ‘पहिलो दक्षिण एशियाली क्षेत्रको परिस्थिति क्षेत्रीय समायोजनसँगै परिवर्तन भएको छ।

दक्षिण पूर्वी एशियाको समायोजनले उच्च रुपमा अघि बढेको छ, दक्षिण एशियामा यो निकैपछि रहेको छ,’ ग्लोबल टाइम्सले लेखेको छ, ‘दक्षिण एशियाली क्षेत्रले समायोजनका उच्च माग छ तर भारतले एक्लैले यो काम गर्न सकेको छैन। यस परिस्थितिमा यस क्षेत्र बाहेकका देशहरुबीचका समायोजनाका लागि अन्य देशहरु आउनु स्वभाविक नै हो।’

प्रकाशित: १४ पुस २०७३ १४:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App