१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पार्टीले गियर बदल्यो, अब दौडिन्छ : दाहाल

पोखरा विमानस्थलमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल दाहाल। तस्बिर : सन्देश/नागरिक

पोखरा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी अब दौडिने बताएका छन्। नेकपाको केन्द्रीय कमिटीको पूर्ण बैठक सकेको पर्सिपल्ट पोखरा आएका उनले पार्टीले गियर बदलेकाले अब दौडिने बताएका हुन्। नेकपा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले बैठकले पार्टीलाई एकढिक्का बनाएकोसमेत बताए। ‘हामीले जस्तो योजना बनाएका थियौं, बैठक त्यस्तै भयो, ’‘उनले भने, ‘केन्द्रीय कमिटीको बैठकले पार्टी अभूतपूर्व एकताको सन्देश दियो, बैठकको यो महत्वपूर्ण उपलब्धि हो।’

बैठक अन्तिमसम्म आइपुग्दा को पूर्व र को पश्चिम भन्नेसम्म बिर्सिएको दाहालले दोहो-याए। मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)बारे थप स्पष्ट हुन बनाइएको कार्यदलमा पूर्वमाओवादी केन्द्रबाट एकजना पनि सदस्य नपरेपछि भएको खासखुसप्रति अध्यक्ष दाहालले ‘ए हो त, मैले पनि यो कुरामा त ख्यालै गरेको रहेनछु,’ भन्ने जवाफ दिएकोबारे मंगलबारको कार्यकर्ता भेटघाटमा चर्चा भएको थियो। सोही प्रसंग कोट्याउँदै दाहालले भने, ‘बैठक अन्तिमसम्म पुग्दा को पूर्व भन्ने नै बिर्सिइएछ, यो हुनैपर्ने थियो, भयो र राम्रो भयो।’ बैठकपछि पार्टी ठिक ट्र्याकमा आएको छ,’ ‘उनले भने, ‘पार्टीले बाटो पक्डियो, गियरसमेत बदलिसकेको छ, अब पार्टी दौडिन्छ।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका दहालले सरकारले पनि चाँडै ट्र्याक समात्ने बताए। प्रदेश सरकारको के छ खबर भन्दै नजिकै बसेका प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाप्रति संकेत गर्दै उनले भने, ‘के छ प्रदेश सरकारको अवस्था ? प्रदेश सरकार पनि ट्र्याकमै होला नि ! अब प्रदेश सरकार पनि दौडिनुपर्छ।’

पोखरा पर्वतीय संग्रहालमा आयोजित शान्तिपूजाको समापन समारोहमा सहभागि हुन प्रचण्ड परिवारसहित पोखरा आएका हुन्। विश्व शान्तिको कामना र हिमाल आरोहणमा ज्यान गुमाएका आरोहीको आत्माको शान्तिका लागि मंगलबारदेखि आयोजना गरिएको विश्वशान्ति पूजा बुधबार समापन हुँदैछ।

प्रकाशित: २२ माघ २०७६ ०१:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App