१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

साढे २७ अर्ब रुपैयाँ राजस्व संकलन

रसुवा - रसुवा भन्सार कार्यालयले साढे चार वर्षमा साढे २७ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। साढे चार वर्ष अघिदेखि नाकामा नियमित कारोबार सुरु भएको थियो। कारोबार सुरु भएयता यो नाकाबाट २७ अर्ब ५० करोड एक लाख ५६ हजार सात सय ४४ रुपैयाँ राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ। नाकामा कारोबार बढेसँगै राजस्व संकलन बढेको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए।

रसुवागढी नाका सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि औपचारिक रूपमा सञ्चालनमा आएको थियो। अहिले तातोपानी नाका पनि सञ्चालनमा आइसकेको छ। तर पनि रसुवागढीमा कारोबार घटेको छैन। आर्थिक वर्ष २०७२/७३ मा दुई अर्ब चार करोड ४६ लाख ८७ हजार सात सय ४४, आव ०७३/७४ मा दुई अर्ब ९२ करोड १८ लाख दुई हजार, आव ०७४/७५ मा चार अर्ब ५९ करोड २३ लाख १९ हजार र ०७५/७६ मा १० अर्ब ६० करोड २४ लाख १९ हजार राजस्व संकलन भएको थियो।

साढे चार वर्षकाे अवधिमा २७ अर्ब ५० करोड एक लाख ५६ हजार सात सय ४४ रुपैयाँ राजस्व संकलन

त्यस्तै चालु आव ०७६/७७ को पहिलो ६ महिनामा सात अर्ब ३३ करोड ८९ लाख २९ हजार राजस्व उठेको छ। सामग्रीको आयातमा भएको वृद्धि, भन्सार व्यवस्थापन, प्रविधि प्रयोग लगायत कारणले राजस्व बढेको उनले बताए। ‘भन्सारको कार्यलाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि सबैबाट सहयोग मिलेका कारण यो सफलता मिलेको हो,’ उनले भने, ‘पछिल्लो समय हामीले प्रविधिलाई पनि प्राथमिकता दिएका छौं।’ पछिल्लो समय नाकाबाट परियोजनाका सामग्री आयात बढ्दै गएको छ। प्रविधिमा आधारित भएर मूल्य तथा मूल्यांकनलाई व्यवस्थित बनाइएको छ। केही सामग्रीमा भन्सार महसुल समेत बढाइएको छ।

पछिल्लो समय नेपाल तथा चीनतर्फको भन्सारले जाँचपासलाई सहज बनाएका छन्। बाहिरी जिल्लाका चालक तथा सहचालकलाई अस्थायी रूपमा पास उपलब्ध गराइएको छ। २०१३ नाकामा भन्सार कार्यालयको स्थापना भएको थियो। कार्यालयको स्थापना भएपनि नियमित कारोबार भएको थिएन। नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायत सामग्री आयात भइरहेको छ भने बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात भइरहेको छ।

प्रकाशित: १९ माघ २०७६ ०३:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App