काठमाडौं – राजधानीको राष्ट्रिय सभागृहमा आगामी फागुन १ देखि सुरु हुने नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) मा स्ट्रिमिङसम्बन्धी कार्यशाला हुने भएको छ।
नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले आयोजना गर्ने महोत्सवअन्तर्गत सञ्चालन हुने ‘फिल्म मेकिङ इन एन एज अफ स्ट्रिमिङ’ शीर्षकको कार्यशालामा हलिउडका ल्यारी कासानोफ, ज्याक स्टेन्ज र जोयलोन होफले जानकारी दिनेछन्। त्यसबाहेक ज्याक स्टेन्जले पटकथा लेखनको छोटो प्रशिक्षण समेत दिनेछन्। महोत्सवको यो तेस्रो संस्करण हो।
ल्यारी कोफले ‘टु लाइज’, ‘टर्मिनेटर २’ र ‘जजमेन्ट डे’ लगायत फिल्म र लेखक ज्याक स्टेन्जले ‘एक्स मेन : फस्ट क्लास’ र ‘थोर’ जस्ता फिल्म निर्माण गरिसकेका छन्। त्यस्तै जोयलोन होफ नेटफ्ल्क्सिसँग आवद्ध छन्। ‘स्ट्रिमिङ साइटलाई केन्द्रमा राखेर हलिउडबाट महोत्सवमा सहभागी हुने तीन फिल्मकर्मीले आफ्नो अनुभव नेपाली फिल्ममेकरहरूसँग बाँड्नु छन्। नेपालमा सक्रिय लेखक, निर्माता र फिल्ममेकरलाई यो कार्यशाला फाइदाजनक हुन्छ भन्ने विश्वास लिएका छौं,’ महोत्सव निर्देशक केपी पाठकले भने। महोत्सव आगामी फागुन ५ सम्म चल्नेछ।
महोत्सवअन्तर्गतको सो कार्यशाला भने राजधानीको -याडिसन होटलमा सञ्चालन हुनेछ। एकदिने कार्यशालाको दौरान आयोजना हुने बहसमा अभिनेत्री नम्रता श्रेष्ठ, निश्चल बस्नेत र नकिम उद्दिनले स्थानीय फिल्महरू अन्तर्राष्ट्रिय बजारमा पुग्न खेपिरहेका चुनौतीमाथि बोल्नेछन्।
प्रकाशित: १६ माघ २०७६ ०३:५५ बिहीबार