६ वैशाख २०८१ बिहीबार
समाज

चीनमा नेपाली सुरक्षित

बेइजिङ – विश्वमै सबैभन्दा धेरै मानवले आवतजावत गर्ने चिनियाँ वसन्त चाडमा नोवल कोरोना भाइरसको संक्रमणका कारण यो पटक निकै कमले यात्रा गरे। यस चाडको अवधिमा झन्डै ४ कराेड चिनियाँले यात्रा गर्ने अनुमान थियो तर चाडको दुई दिनअगाडि बेइजिङ नगरपालिकाले बेइजिङका विभिन्न भागमा लाग्ने मेला रद्द गरिदियो। बेइजिङको केन्द्रभागमा पर्ने तिथानमा लाग्ने मुख्य मेलासँगै मान्छेको भिड लाग्ने ठाउँहरु ग्रेटवाल, फर्बिडन सिटी र चिनियाँ नयाँ वर्ष अर्थात् वसन्त चाडका अवसरमा बेइजिङमा आयोजना हुने टेम्पल फेयरहरु सबै रद्द भए। लाखौं मानिस भेला भएर सात दिनसम्म चल्ने यस्ता मेलाको प्रवेश शुल्क, त्यहाँभित्र हुने मनोरञ्जनात्मक खेललगायतबाट करोडौंको आर्थिक कारोबार हुने गथ्र्यो। यात्रा गर्न लिइएका रेल र हवाइजहाजका टिकर रद्द गरिएका छन् भने होटल बुकिङ पनि सबै रद्द भएका छन्। रद्द गर्दा सम्बन्धित व्यक्तिले सबै रकम फिर्ता पाउने व्यवस्था चीन सरकारले गरेको छ। समग्रमा यो वसन्त चाडबाट चीनलाई ठूलो आर्थिक क्षति पुगेको छ।

कोरोना भाइरसका पीडितको उपचार गर्न उहानमा दुई सातामै चीनले अत्याधुनिक अस्पताल तयार पार्न काम सुरु गरिसकेको छ। उहानबाटै नेपाल फर्किएका एकजना नेपालीमा कोरोना भाइरस संक्रमण भएको पाइएपछि चीनमा रहेका आफन्तको नेपालीले चिन्ता गर्न थालेका छन्। तीन दिनदेखि उहानलाई चीनले सबै यातायातबाट विच्छेद गरेको छ। कोरोना भाइरस फैलिएको उहान र आसपासमा रहेका नेपालीले नागरिकसँग आफूहरु सुरक्षित रहेको बताएका छन्।

उहानमा मात्र सयको हाराहारीमा नेपाली विद्यार्थी अध्ययनरत छन्। उहानको प्राविधिक विश्वविद्यालयमा सिभिल इन्जिनियरिङमा स्नातकोत्तर गर्दै गरेका इटहरीका सन्दीप उप्रेती दुई वर्षअगाडि चीन आएका हुन्। पहिले क्यान्टिनमा खाने गरेको तर यति बेला वसन्त चाडले गर्दा रेस्टुरेन्ट र क्यान्टिन बन्द भएकाले आफूहरुले पकाएर खाँदै गरेको उप्रेतीले बताए। बिदा भएकाले केही विद्यार्थी नेपाल फर्किएको र उहानमा रहेका सबै सकुशल रहेको उनले बताए। उप्रेतीले भने, ‘अहिले उहान सुनसान छ। कुनै पनि सार्वजनिक सवारीसाधन चलेका छैनन्। विमानस्थलदेखि रेलवे स्टेसनसम्म बन्द छ।’

भक्तपुरका दिनेश सुकमनीले उहान प्राविधिक विश्वविद्यालयमा सिभिल इन्जिनियरिङमा विद्यावारिधि गरिरहेका छन्। उनले सोही विश्वविद्यालयबाट स्नातकोत्तर गरेका हुन्। उनकी श्रीमती पनि अहिले सोही विश्वविद्यालयमा व्यवस्थापनमा विद्यावारिधि गरिरहेकी छन्। वसन्त चाडको बिदा भए पनि विश्वविद्यालयले समयसमयमा इमेल गरेर सचेत गराउने गरेको र बाहिर ननिस्कन भनेको दिनेशले बताए। सुपरमार्केट र सामान्य पसल पनि बन्द रहेकाले तरकारीलगायतका अत्यावश्यक उपभोग्य वस्तु महँगो भएको उनले सुनाए। उनले भने, ‘भ्रामक समाचारले दुःख दिँदोरहेछ। झ्यालबाहिर लुगा सुकाएको थिएँ। एउटा विदेशी साथीले अब त्यो लुगाबाट संक्रमण हुन्छ भनेर डर देखायो र फेरि मैले लुगा धोएँ।’

कोरोना भाइरस संक्रमण बढेपछि विभिन्न माध्यमबाट आएका भ्रामक समाचार (फेकन्युज) का कारण चिनियाँ र विदेशीले दुःख पाएका छन्। झ्याल पनि खोल्न नहुने, हेराहेर गर्दा आँखाबाटै भाइरस सर्ने, धोएर सुकाएको लुगाबाट पनि सर्ने, हवाईजहाजले आकाशबाट औषधि छर्ने, रक्सी खाँदा ठीक हुनेजस्ता भ्रामक समाचारले अन्योल बढाएपछि चीन सरकारले त्यसप्रकारका गतिविधि गर्नेलाई कारबाही गर्ने बताएको छ। विभिन्न विदेशी सञ्चारमाध्यमले पनि अवस्थालाई बढाइचढाई गरेर उछालेको भन्दै चीनले सचेत गराएको छ।    उहानबाट नजिकै रहेको आन्हुई प्रान्तको हफेईमा चिनियाँसँग बिहे गरेर विगत १२ वर्षदेखि बसिरहेकी शकुन्तला राईले आफूहरु सुरक्षित रहेको बताइन्। बाहिर हिँडडुल गर्नचाहिँ डर लागेकाले वसन्त चाड मनाउन आउन लागेकी बहिनीलाई आफूले नआउन भनेको उनले सुनाइन्। उनकी बहिनी दुई महिनाअगाडि मात्र चिनियाँसँग बिहे गरेर आएकी छन्। शकुन्तलाकी बहिनी उनी बसेको भन्दा लगभग २ सय मिलोमिटर टाढा छिन्। कोरोना भाइरसकै कारण यसपटक अलिक टाढा रहेका चिनियाँहरु आफन्त भेट्न नगएका र आफन्तलाई पनि नबोलाएको राईले सुनाइन्।

आन्हुई प्रान्तको हफेईस्थित विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पिएचडी सकेर हाल पोस्टडक गरिरहेका कैलालीका लोचन बटालाले यति बेला चीनमा रहनु नै सुरक्षित रहेको बताए। हतारहतार नेपाल जाँदा समस्या हुने भन्दै उनले थपे, ‘संक्रमण भइहाले पनि चीनमा हुँदा नै राम्रो हुन्छ। यहाँ अत्याधुनिक प्रविधि र उपचार विधि छ। नेपालमा त रक्त परीक्षण गर्ने सुविधा पनि छैन। रगत परीक्षण गर्न हङकङ पठाउनुपर्छ।’ उनी श्रीमती र तीन वर्षको छोरासहित हफेईमा बसिरहेका छन्।

यति बेला चीनभर सबैभन्दा धेरै बिक्री हुने सामग्री माक्स हो। बजारमा सबैतिर मास्कको अभाव छ। हफेईमा पनि माक्स अभाव रहेको बटालाले बताए। हफेईमा ठूला बजारहरु पनि निश्चित समय मात्र खुल्ने गरेका छन्।

चीनमा रहेका नेपालीलाई कोरोना भाइरसको संक्रमणबाट बच्न बेइजिङस्थित नेपाली दूतावास र चीनका विभिन्न क्षेत्रमा रहेका महावाणिज्य दूतावासहरुले सार्वजनिक सूचना र सचेतपत्र जारी गरिसकेका छन्। त्यस क्षेत्रका विद्यार्थीसँग नियमित सम्पर्कमा रहेको र चीनको परराष्ट्र तथा सार्वजनिक सुरक्षा मन्त्रालयसँग पनि नियमित समन्वयमा रहेर जानकारी लिइरहेको चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले नागरिकलाई बताए।

प्रकाशित: १३ माघ २०७६ ०१:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App