१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुई बस एकआपसमा ठोक्किँदा २९ घाइते

एकआपसमा ठोक्किएर क्षति पुगेका दुई बस । तस्बिरः महेश्वर

साउने (उदयपुर)- उदयपुरमा बिहीबार दिउँसो दुई यात्रुबाहक बस एकआपसमा ठोक्किँदा २९ यात्रु घाइते भएका छन्। गाईघाट–दिक्तेल सडक खण्डको सदरमुकामदेखि १७ किलोमिटर टाढा साउनेमा भएको दुर्घटनामा पर्नेमध्ये १० जना गम्भीर रहेको प्रहरीले जनाएको छ।

सदरमुकाम गाईघाटबाट जाँदै गरेको मे १ ख १७४० को बस विपरित दिसाबाट आउँदै गरेको बा २ ख ५४१८ नं. को बससँग त्रियुगा नगरपालिका १४ साउनेमा ठोक्किँदा ४ बालक ३ वृद्धासहित र दुवै चालक घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

घाइते हुनेहरुमा उदयपुरका १४ जना रहेका छन् भने बाँकी खोटाङ र एकजना ओखलढुंगाका रहेको अस्पतालमा ड्युटीरत जिल्ला प्रहरी जवान सलिम अन्सारीले बताए। उनका अनुसार घाइते सबैलाई जिल्ला अस्पतालमा उपचारार्थ ल्याइएकोमा १० जनाको रिफर गरिएको छ भने बाँकीको त्यहीँ उपचार भइरहेको छ। अझै केही बिरामीलाई रिफर गर्नुपर्ने अवस्था आउन सक्ने रहेको अस्नारीले बताएका छन्।

गम्भीर घाइतेहरु त्रियुगा नगरपालिका १४ धाब्लाङकी १४ वर्षीया सलिना राई, सोही ठाउँकी २३ वर्षीया सविना राई, रौतामाई गाउँपालिका ६ का २९ वर्षीय अश्वीन राईलाई उदयपुर अस्पतालमा प्रारम्भिक उपचारपछि विराटनगर रिफर गरिएको छ। त्यस्तै खोटाङ बाराहापोखरी गाउँपालिका १ का ५ वर्षीय प्रविण श्रेष्ठ, खोटाङकै दिप्रुङ चुईचुम्मा गाउँपालिका ७ की ५५ वर्षीया डम्बरकुमारी खत्री, सोही ठाउँका ३९ वर्षीय ताराकुमार श्रेष्ठ र दिप्रुङ चुईचुम्मा ९ का ४२ वर्षीय देउकुमार थापा र ६४ वर्षीया पञ्चमाया थापा पनि रिफर भएका छन्।

प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरका अनुसार गाईघाटदेखि साउनेतर्फ गईरहेको र खोटाङको दिप्रुङबाट गाईघाटतर्फ आउँदै गरेका बस साउने जंगलस्थित घुम्तीमा ठोक्किँन पुग्दा दुर्घटना भएको हो। दुर्घटनामा एउटा बसका चालक ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका ८ घर भई त्रियुगा नगरपालिका ३ बस्दै आएका ४१ वर्षीय सुरेश खड्का पनि घाइते भएका छन्। अर्को बसका चालक त्रियुगा नगरपालिका १५ रानीबासका यमन भन्ने दिपक थापा भने फरार रहेकाले खोजी भईरहेको एसपी मगरले बताएका छन् ।

 

 

प्रकाशित: ९ माघ २०७६ १२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App