१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चौतारालाई भूकम्प जोखिम मुक्त नगर बनाउने घोषणा

सिन्धुपाल्चोक–भूकम्पबाट सर्वाधिक क्षति बेहोरेको सिन्धुपाल्चोकको चौतारा नगरपालिकालाई भूकम्प जोखिममूक्त सहर बनाउने घोषणा गरिएको छ ।
नगरपालिकाद्वारा सोमबार आयोजित कार्यक्रममा राष्ट्रिय भवन संहिता २०६० पूर्ण रुपले कार्यान्वयन गर्ने संकल्प गर्दै सदरमुकामसमेत रहेको चौतारालाई भूकम्प जोखिममूक्त बनाउने घोषणा गरिएको हो ।

संयूक्त राष्ट्र संघीय विकास कार्यक्रम, बृहत्तर बिपद् जोखिम व्यवस्थापन कार्यक्रमको सहयोग रहेको कार्यक्रममा स्थानीय राजनीतिक दल, सरकारी तथा गैरसरकारी संस्था, नागरिक समाज र भूकम्प पीडितले भवन संहिता पालना गर्न प्रतिवद्धता जनाए।

‘संहिता पूर्ण पालना गरेर चौतारा नगरलाई भूकम्प जोखिममूक्त बनाउँछौं,’ उनीहरुले एकै स्वरमा भने । चौतारा नगरपलिकाका प्रमुख कार्यकारी अधिकृत भुवनेश्वर लामिछानेले नगरलाई भूकम्प जोखिममूक्त सहर बनाउन भवन निर्माण सम्वन्धी मापदण्ड २०७३ समेत बनाएर कार्यान्वयनमा ल्याइएको बताए । उनका अनुसार उक्त मापदण्डमा व्यक्तिगत, व्यवसायिक, शैक्षिक, सामुदायिक भवन निर्माण गर्ने सम्वन्धी व्यवस्था गरिएको छ ।

युएनडिपी–सिडिआरएमपीकै सहयोगमा बनेको मापदण्डमा भवन निर्माणका लागि नगरपालिकाबाट पूरा गर्नुपर्ने प्रक्रिया र सेवासमेत उल्लेख इन्जिनियर अभिषेक मिश्रले जानकारी दिए । गत वर्ष वैशाख १२ को विनासकारी भूकम्पले नगरपालिकामा १ सय ३२ को ज्यान लिँदै ४ हजारभन्दा बढी व्यक्तिका घर ध्वस्त बनाएको थियो । भूकम्पबाट २३ विद्यालय, ४२ पूरातात्विक संरचना, सात सामुदायिक भवन र पाँचवटा स्वास्थ्य संस्थासमेत क्षतिग्रस्त बनेका थिए ।

भूकम्पपछि नगरपालिकामा झण्डै डेढ सय नक्सा पास भई भूकम्प प्रतिरोधी व्यापारिक तथा व्यक्तिगत आवास बनिरहेका छन् । चौतारा नगरपालिकालाई भूकम्प जोखिममूक्त बनाउने कार्यमा क्रियाशील युएनडिपी सिडिआरएमपीका इन्जिनियर आदित्यराज तिमिल्सिनाले घोषणाले सरोकारवालालाई भवन आचारसंहिता पालना गर्दै भूकम्पप्रतिरोधी घर बनाउन उत्साही बनाउने बताए ।

प्रकाशित: ११ पुस २०७३ १०:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App