१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

म्याद सकियो, काम ४० प्रतिशत बाँकी

निर्माणाधीन लुम्बिनी सडकखण्ड। तस्बिर : नागरिक

भैरहवा – भैरहवा–लुम्बिनी–तौलिहवा सडकको म्याद सकिएपछि आयोजनाले ४ महिना म्याद थपका लागि प्रक्रिया अगाडि बढाएको छ। कच्चा पदार्थ अभाव, रुख कटानमा ढिलाइ, विद्युतीय पोल समयमै नसारिदिँदा, खानेपानी पाइप व्यवस्थापनमा ढिलाइलगायत कारणले समयावधिमा निर्माण सम्पन्न गर्न नसकेको भन्दै सासेक सडक सुधार आयोजनाले पहिलो पटक म्याद थपका लागि प्रक्रिया अगाडि बढाएको हो।

स्तरोन्नति भइरहेको भैरहवादेखि तौलिहवासम्मको सडक अढाई वर्षमा सक्ने गरी २०७४ असारदेखि काम सुरु भएको थियो। ‘समयावधि सकिँदा भौतिक प्रगति ६० प्रतिशत मात्र भएको छ। बाँकी ४० प्रतिशत काम सम्पन्न गर्न म्याद थपसहितको निवेदन विभागमा पठाएका छौं,’ सासेकका भैरहवा–लुम्बिनी–तौलिहवा सडक आयोजनाप्रमुख प्रदीपराज शाक्यले भने, ‘पुस ६ गते म्याद थपका लागि निवेदन आएको थियो। बाँकी काम र कन्सल्टेन्टको रिपोर्टको आधारमा विभागमा हामीले पुस २८ गते ४ महिनाको म्याद थपका लागि पठाएका छौं।’

राष्ट्रिय प्राथमिकताको आयोजनामध्येको सो आयोजना २०२० जनवरी १२ मा सम्पन्न गर्ने लक्ष्यका साथ गावर कन्स्ट्रक्सन लिमिटेड गुणगाँव भारतले काम गरिरहेको छ। गत वर्ष निर्माण कम्पनीले कच्चा पदार्थ नपाएको र रुपन्देहीमै एकै पटक ठुल्ठुला विकास निर्माणका काम भएकाले पनि निर्माणमा केही ढिलाइ भएको हो। ‘समय थपका लागि हामीले पनि कडाइ गरेका छौं, अहिले निर्माण सामग्रीको अवस्था पनि सामान्य छ, थपिएको म्यादभित्र काम सकिन्छ,’ आयोजनाप्रमुख शाक्यले भने।

हालसम्म लुम्बिनीदेखि तौलिहवासम्मको २ लेन सडकखण्डमा पहिलो तह सकिएर १६ किलोमिटर दोस्रो तहको कलोपत्रे भएको छ। लुम्बिनीदेखि भैरहवातर्फ १६ किलोमिटरमा सबबेस, १२ किलोमिटरमा बेस र ९ किलोमिटरमा पहिलो तहको कालोपत्रे भएको छ। त्यसैगरी १ सय १५ वटा कल्भर्टमध्ये एउटा कल्भर्ट मात्र निर्माणाधीन छ, नालीको काम पनि सबै सम्पन्न भइसकेको आयोजनाका सूचना अधिकारी इन्जिनियर सागर पोखरेलले नागरिकलाई बताए।

भैरहवादेखि एयरपोर्टसम्मको ६ लेन सडक असफाल्ट मेसिनको प्रयोग गर्दै पिचको काम हुन्छ, सडकमा डिबी एसटी स्तर अर्थात् २ तहमा कालोपत्रे हुनेछ। सडकको कोरिया इन्जिनियरिङ कन्सल्टेन्ट लिमिटेड कर्पोरेसनले प्रविधिक कामहरूको समन्वय, निगरानी र परीक्षण गरिरहेको इन्जिनियर सागर पोखरेलले जानकारी दिए।

४१ दशमलव १३० किलोमिटर लामो सो सडकको भैरहवा बुद्ध चोकदेखि एयरपोर्टसम्म ३ दशमलव ६८ किलोमिटर ६ लेन, एयरपोर्टदेखि लुम्बिनीको पर्सा चौराहासम्म १४ दशमलव ४२० किलोमिटर ४ लेन र बाँकी पर्सा चोकदेखि तौलिहवासम्मको २३ दशमलव ३० किलोमिटर २ लेन सडक निर्माण हुनेछ। ६ लेन सडकको बीच भागमा ‘ग्रिन वेल्ट’ दुई दुई लेनको सडक र दायाँबायाँ सर्भिस लेनसहितको ‘फुटपाथ’ र सडकखण्डमा ३६ वटा यात्रु प्रतीक्षालय पनि बनाउने ठेक्का भएको गावर कन्स्ट्रक्सनका प्रोजेक्ट डाइरेक्टर पवन नयनले बताए। कच्चा पदार्थ अभाव, ठाउँठाउँमा स्थानीय अवरोध र मागअनुसार काम, डिजाइनमा परिवर्तनलगायत कारणले पनि केही ढिलाइ भएको छ। ‘काम निरन्तर गरिरहेका छौं। हामीले अहिलेसम्म कुनै प्रोजेक्टमा समय थप गरेको रेकर्ड छैन, यो पहिलो प्रोजेक्ट हो, कच्चा पदार्थ र मौसमले साथ दिएमा ४ महिनाभित्रै काम सम्पन्न गर्छौं,’ कन्स्ट्रक्सनका प्रोजेक्ट डाइरेक्टर नयनले भने, ‘साउथ एसियन सब रिजनल इकोनोमिक को–अपरेसन सासेकअन्तर्गत एसियाली विकास बैंक (एडिबी) को आर्थिक ऋण सहयोग र नेपाल सरकारको लगानीमा भैरहवा–तौलिहवा सडक सुधार आयोजनाअन्तर्गत निर्माण भइरहेको छ। सुरुको लागत १ अर्ब ९३ करोड ६ लाख ३६ हजार २ सय २७ रुपैयाँ ५५ पैसा भए पनि २ पटकको कामको अन्तरपछि २ अर्ब १६ करोड ८५ लाख को लागतमा निर्माण भइरहेको छ।

स्तरोन्नतिपछि यो सडकले तौलिहवा लुम्बिनी आसपासका अन्य सडकलाई भैरहवा र अन्तर्राष्ट्रिय विमानस्थलसँग जोड्नुका साथै यस क्षेत्रको व्यापारिक, कृषि, पर्यटन तथा बजारीकरणमा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ। लुम्बिनीसम्म पुग्ने पर्यटकलाई पनि निकै सहज हुने देखिएको छ।

बर्सेनी १५ लाख बढी आन्तरिक तथा बाह्य पर्यटक आउने लुम्बिनीको प्रमुख सडक समयमा निर्माण सम्पन्न नहुँदा साँघुरो, खाल्डाखुल्डी र धुलाम्य सडकका कारण निकै समस्या भई आवागमन पनि घटेको छ। ढिलासुस्तीले प्रदेश ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ र नेपाल सरकारकोे नेपाल भ्रमण वर्ष २०२० लाई पनि यसले प्रत्यक्ष असर गरेकोे छ।

लागत २३ करोड बढ्यो
सो सडक निर्माणको काम समयमै नसकिनु र डिजाइनमा परिवर्तन भएकाले भेरिएसन भन्दै लागतमा २३ करोडभन्दा बढी रकम थप भएकोे छ। ४५ प्रतिशत भुक्तानी पाएको निर्माण कम्पनीले पहिलो पटक कलभर्ट र २ लेन सडकको बजार क्षेत्रमा स्थानीयको मागअनुसार ४ लेन बनाएकाले १६ करोड थप गरेको छ भने दोस्रो पटक दुर्घटना न्यूनीकरणका लागि नयाँ जक्सन डिजाइनसहितको संरचना र त्रुटिरहित डिजाइन परिवर्तन गरेकाले काममा भेरिएसन भएपछि ७ करोड बढी थपेको हो।

निर्माण कम्पनीको माग, कन्सल्टेन्टको रिपोर्ट र आयोजनाको निरीक्षणमा २३ करोड ७८ लाख भेरिएसन रकम आयोजना निर्देशनालयको सिफारिसमा स्वीकृत गरी थपिएको हो। कुल लागत रकमकोे १२ दशमलव ३ प्रतिशत भेरिएसन भएको छ। थप भएपछि सडकको लागत २ अर्ब १६ करोड ८५ लाख भएको छ। निर्माणाधीन सडकमा ८५ दशमलव ५ प्रतिशत एडीबीको ऋण लगानी छ भने बाँकी १५ दशमलव ५ प्रतिशत लगानी नेपाल सरकारले गरेको छ।

प्रकाशित: ८ माघ २०७६ ०१:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App