१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अन्ततः सेनाको नियन्त्रणमा अलेप्पो

सिरिया–विद्रोहीको नियन्त्रणमा रहेको अलेप्पोका बाँकी भागबाट पनि विद्रोही लडाकुहरु अन्यत्र गएपछि उक्त शहर आफ्नो पूर्ण नियन्त्रणमा आएको सिरियाको सेनाले बताएको छ ।

सेनाले एउटा विज्ञप्ति जारी गर्दै अलेप्पोमा आफूहरुले सुरक्षा व्यवस्था कायम गरेको र विद्रोहीका लागि यो ठूलो धक्का भएको बताएको छ । सन् २०११ मा सिरियामा गृहयुद्ध शुरु भएयता राष्ट्रपति बसर अल असदका लागि यो ठूलो विजय हो । उनको समर्थनमा मानिसहरुले झण्डा फहराएर र नाराहरु लगाएर त्यसको खुशीयाली मनाइरहेको दृश्य सरकारी टेलिभिजनले देखाएको छ ।

एकजना सिरियाली सैनिकले भने, ‘अलेप्पोको यो विजय समग्र सिरियाको विजय हो । हामी यो विजय हाम्रा राष्ट्रपतिलाई समर्पित गर्न चाहन्छौं ।’ विद्रोहीको नियन्त्रणमा रहेको अलेप्पोको अन्तिम भूभागबाट गत साता ३५ हजार भन्दा बढी विद्रोही लडाकु र सर्वसाधारण अन्यत्र गएका थिए । अन्तर्राष्ट्रिय रेड क्रस कमिटीले उक्त क्षेत्र छोड्न चाहने सबै त्यहाँबाट अन्यत्रै गइसकेको बताएको  छ ।

सिरियाका लागि संयुक्त राष्ट्रसंघका दूतले आइन्दा राजनीतिक समाधानको खोजि गरिनुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघका अधिकारीका अनुसार गत सातामात्रै पूर्वी अलेप्पोबाट ३४ हजार सर्वसाधारण र विद्रोही लडाकुहरु बाहिरिएका छन् । उक्त क्षेत्रमा परेको हिमपात, तीव्र वेगमा लागेको हावा र यातायातको खराब अवस्थाका कारण त्यहाँबाट अन्यत्र जाने प्रक्रिया सुस्त भएको थियो ।

जसले गर्दा त्यहाँबाट बाहिरिन चाहने सर्वसाधारण घण्टौंसम्म कठ्यांग्रिदो अवस्थामा कुर्न वाध्य भएका थिए । पूर्वी अलेप्पोबाट बाहिरिएका मानिसलाई विद्रोहीको नियन्त्रणमा रहेको शहर बाहिरको पश्चिमी इलाका तथा इडलिब प्रान्तमा लगिँदै छ । रुस र टर्कीले मध्यस्थता गरेको सम्झौताको हिस्साअन्तर्गत इडलिब प्रान्तस्थित सरकारको नियन्त्रणमा रहेका दुईवटा नगरहरुका बासिन्दाहरुलाई त्यहाँबाट हटाइँदै छ । सिरियाका लागि संयुक्त राष्ट्रसंघका दूतले राजनीतिक समाधानको खोजी अब गरिनुपर्ने बताएका छन् ।

प्रकाशित: १० पुस २०७३ ०४:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App