आवेगले आलोचित आस्था

शनिबार, ०४ माघ २०७६, ०८ : १९ शिवहरि घिमिरे  | @shivsamir

काठमाडौं – त्रिभुवन विमानस्थलभित्र दिनहुँ हजारौं यात्रुलाई प्रहरीले चेकजाँच गर्छ। सुन र विभिन्न अवैध सामान ओसारपसार हुने सम्भावनाका कारण प्रहरीले चेकिङ कडा बनाएको छ। विमानस्थलको अन्तिम चेकिङ कक्षमा अझ कडाइ हुन्छ। त्यहाँ मोबाइल, पर्स, झोला, बेल्टलगायत सामाग्री एक्सरे मेसिनद्वारा चेकजाँच गरिन्छ। व्यक्तिलाई पनि चेकिङ कक्षमा लगेर राम्ररी चेकजाँच हुन्छ। बुधबार पनि प्रहरीले यात्रुलाई चेकजाँच गरिहेको थियो। गायिका आस्था राउत त्यही लाइनमा उभिएकी थिइन्। अरु यात्रुलाई सहज ढंगले चेकजाँच गरेका प्रहरीले आस्थालाई पनि उसैगरी चेकजाँच गर्न लागे। जहाज ढिलो हुन लागेको भन्दै राउतलाई बाहिरैदेखि रिस उठिसकेको थियो। उनी सांगीतिक प्रस्तुति दिन सिक्किम जाने क्रममा थिइन्। उनको उडान करिब डेढ घण्टा ढिलो भएको थियो। त्यसको रिस राउतले चेकिङ कक्षमा देखाइन्।

चेकिङका क्रममा उनी हतार गर्दै थिइन्। त्यसै क्रममा प्रहरीलाई उनले असहज व्यवहार देखाइन्। त्यति बेला यात्रुलाई चेकिङ गर्न प्रहरी जवान रमिता श्रेष्ठ खटिएकी थिइन्। राउतले चेकजाँचका क्रममा असहज महसुस गरेपछि शंका मान्दै प्रहरी महिलाले झन् कडा रुपमा चेकजाँच गर्न लागिन्। त्यस क्रममा राउत र प्रहरीबीच भनाभन भयो। चेकजाँच सकिएपछि राउत भित्र छिरिन्। भद्रपुरमा ओर्लिएलगत्तै करिब ३ बजेतिर राउत गाडीबाट फेसबुक लाइभमा जोडिइन्। सो भिडियोले बिहीबार सबैतिर हल्ला मच्चायो। १० मिनेट ३० सेकेन्डको भिडियोमा राउतले ‘प्रहरी मेरो साथी’ नारा मजाक भएको तर्क गरेकी छन्। आफूलाई एक महिला प्रहरीले झर्केर तँ भन्दै ज्याकेट खोल्नुस् भनेको र दुव्र्यवहार भएको उनले भिडियोमा बताएकी छन्। भिडियोमा राउतले प्रहरीलाई ‘डन्ठे’ र ‘बन्दुके’ जस्ता अपशब्द प्रयोग गरेकी छन्।

विमानस्थलका निमित्त प्रहरी प्रमुख एसएसपी रामकृपाल शाहले गायिकाले प्रहरीमाथि नै अभद्र व्यवहार गरेको बताए। ‘भिडियोमा ड्युटीमा खटिएकी प्रहरी कर्मचारीको मनोबल गिराउने काम भएको छ। विमानस्थलमा सबै यात्रुलाई प्रहरीको एउटै व्यवहार हुन्छ। गायिका र नेता भनेर कसैलाई छुट हुँदैन,’ उनले भने।

राउतले प्रहरी संगठनको चरित्रमाथि नै दाग लाग्नेगरी आक्षेप लगाएपछि उनको सर्वत्र आलोचना भएको छ। प्रहरीले समेत यस विषयमा छानबिन गर्ने भएको छ। प्रहरी अधिकारीहरुले सिंगो प्रहरी संगठनमाथि नै नचाहिँदो टिप्पणी गरेको भन्दै स्वच्छ छानबिन हुने बताएका छन्। नेपाल प्रहरीका प्रवक्ता शैलेश थापाले भिडियो छानबिनको क्रममा रहेको बताए। उनले भने, ‘भिडियोमाथि छानबिन हुँदैछ, एकजनाको विषयलाई लिएर प्रहरी जगत्माथि खनिनु राम्रो होइन। हामीले ड्युटीमा खटिएकी प्रहरी महिला, गायिका र भिडियोलाई आधार बनाएर कारबाही प्रक्रिया थाल्छौं।’ गायिका राउतले बिहीबार सामाजिक सञ्जालमार्फत प्रहरीका बारेमा आफूले गरेको टिप्पणीमा माफी मागेकी छन्।

यस्ताे छ भिडियाेमा
आस्थाले एक हातले कफी र अर्को हातले झोला एक्सरे मेसिनमा राख्छिन्। हतार भएझैं चेकिङका लागि अघि बढ्छिन्। गेटमा प्रहरी महिलाले रोकिन आग्रह गर्छिन्। आस्थाको हातमा मोबाइल र कफीको कप हुन्छ। प्रहरी महिलालले कफीको कप चेकिङ कक्षमा राखिदिन्छिन्। त्यसपछि उनलाई चेकजाच गर्छिन्। आस्था एक्सरे मेसिनबाट झोला टिपेर अघि बढ्न खोज्छिन्। प्रहरी महिलाले चेकिङ राम्ररी नभएको भन्दै ज्याकेट खोल्न आग्रह गर्छिन्। आस्था फेरि गेटतर्फ फर्किन्छिन्। आस्थाको हातमा मोबाइल पनि छ। एक्सरे मेसिनबाट ज्याकेट भित्र पठाउँछिन् र ढोकाबाट भित्र छिर्छिन्। प्रहरी महिलाले चेकिङ कक्षमा लैजान्छिन्। आस्थाले कफीको कप त्यही छाड्छिन् र झोला र ज्याकेट टिपी अघि बढ्न खोज्छिन्। प्रहरीले उनको कफीको कप ल्याइदिन्छिन् र हातमा दिन खोज्छिन्। आस्थाले कप समाउन मान्दिनन्। औंला उठाएर प्रहरीसँग भनाभन गर्छिन्। प्रहरी महिलाले झोला समाउँदै कफी भित्र खन्याइदिन खोज्छिन्। आस्थाले झोला समाउँछिन्। तानातान गर्दा कफी टेबलमा पोखिन्छ। प्रहरी महिला अरुलाई चेकजाँच गर्नतिर लाग्छिन्। आस्थाले ज्याकेट लगाउँदै प्रहरी महिलामाथि औला उठाउँदै कराउँछिन्। नजिकै एकजना पुरुष आउँछन्। त्यसपछि आस्था रिसाउँदै अघि बढ्छिन। कफीको कप टेबलमै हुन्छ।




यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad