१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नेप्से साढे सात विन्दुले घट्दा अर्बमाथि कारोबार

काठमाडौं - लगातार तीन दिन बढेको सेयर बजारमा मंगलबार भने करेक्सन देखिएको छ। अल्पकालीन लगानीकर्ताले मुनाफा बुक गर्न सेयर आपूर्ति बढाएपछि बजार सूचक नेप्से ७.४८ विन्दुले खस्किएको छ। तीन दिनमा सेयर बजार ६० विन्दुभन्दा बढीले उकालो लागेको थियो। यसबीचमा कतिपय कम्पनीको सेयर भाउ १० प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो।

यसभन्दा अघि पनि लगातार तीन दिन बढेपछि बजारमा सामान्य करेक्सन देखिएको थियो। दैनिक चार्टमा मंगलबार नेप्सेले तलपट्टि लामो र माथिपट्टि छोटो धर्सो (छाया) भएको स्पिनिङ टप्स आकारको रातो महिनबत्ती बनाएको छ। तलपट्टिको लामो धर्साले बजारमा सेयर बेच्न लगानीकर्ता सक्रिय रहेको तर उनीहरुले बढाएको आपूर्ति क्रेताले खरिद गरेको संकेत गर्छ। समग्रमा स्पिनिङ टप्स आकृतिको महिनबत्तीले बजारको आगामी दिशा अन्योलमा रहेको संकेत गर्छ।

मंगलबार नेप्से ०.५९ प्रतिशतले ओरालो लाग्दा क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.७२ प्रतिशत (२ विन्दु) ले खस्किएको छ। यस दिन कारोबार भएका १२ वटा समूहमध्ये सातवटा समूहको सूचक रातो छ भने बाँकी समूह हरिया छन्। सबैभन्दा बढी ह्रास जलविद्युत् समूहमा देखिएको छ। यो समूहको सूचक १.१ प्रतिशतले खस्किएको छ। विन्दुगत आधारमा हेर्दा भने जीवन बिमा समूह बढी खुम्चिएको छ। यो समूहको सूचक ५१.६६ विन्दुले घट्दा निर्जीवन बिमा समूह पनि ४८.८ विन्दुले खस्किएको छ। त्यस्तै जलविद्युत् ११.३५, बैंकिङ १०.३६, लघुवित्त ८.७२, उत्पादनमूलक समूह ३.६८ र म्युचुअल फन्ड समूह ०.०८ विन्दुले ओरालो लागेका छन्।

घट्दो बजारमा पनि यस दिन व्यापार समूह ९.१५ प्रतिशतले बढेको छ। यस समूहमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य उच्च मात्रामा बढेपछि त्यसले सिंगै समूहको सूचक ६५.०७ विन्दुले उचालिन सहयोग गरेको हो। त्यस्तै वित्त समूह ८.४४, होटल्स ५.४१, अन्य ५.२१ र विकास बैंक ०.७ विन्दुले उकालो लागेका छन्।

खुम्चियो कारोबार रकम
नेप्से घटेसँगै कारोबार रकममा पनि ह्रास आएको छ। यस दिन एक अर्ब दुई करोड ६४ लाख ४३ हजार ६ सय ६६ रुपैयाँको सेयर कारोबार भएको छ। यो अघिल्लो दिनको तुलनामा ३९.८ प्रतिशतले कम हो। सोमबार एक अर्ब ७० करोड ५० लाख ६० हजार ६ सय ६४ रुपैयाँको सेयर किनबेच भएको थियो। घट्दो बजारमा पनि कारोबार रकम अर्ब नाघेबाट लगानीकर्ताले सस्तो मूल्यमा सेयर उठाउने मौका छोपेको विश्लेषण गरिएको छ।

यस दिन कारोबार रकमसँगै कारोबार संख्या र खरिदबिक्री भएको सेयर संख्यामा पनि संकुचन देखिएको छ। सोमबार १९ हजार तीन सय ५० कारोबारबाट एक सय ८३ कम्पनीका ५५ लाख १८ हजार ६ सय ३६ कित्ता सेयर खरिदबिक्री भएकोमा मंगलबार ११ हजार तीन सय १० कारोबारबाट एक सय ८३ वटै कम्पनीको ३७ लाख ६६ हजार ९ सय ८२ कित्ता सेयर किनबेच भएको छ। कारोबार रकमका आधारमा यस दिन पहिलो स्थानमा प्रभु बैंकको प्रमोटर सेयर परेको छ। यो सेयर ११ करोड ४३ लाखको खरिद बिक्री भएको छ। दोस्रो स्थानमा रहेको नागरिक लगानी कोषको सात करोड २७ लाख दुई हजार एक सय ६ रुपैयाँको सेयर किनबेच भएको छ।

यस्तै नेपाल लाइफ इन्सुरेन्स, एनआइसी एसिया बैंक र हिमालयन डिस्टिलरी क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन्। डिप्रोक्स लघुवित्त, प्रभु बैंक, कुमारी बैंक प्रमोटर सेयर, एनएमबी बैंक र साल्ट ट्रेडिङ कर्पोरेसन पनि उच्च कारोबार हुने १० कम्पनीभित्र पर्न सफल भएका छन्। यस दिन प्रभु बैंकको प्रमोटर सेयर नौ लाख कित्ता र कुमारी बैंकको प्रमोटर सेयर एक लाख ६२ हजार पाँच सय चार कित्ता खरिद बिक्री भएको छ। यस दिन सबैभन्दा बढी गुमाउनेमा दव्येश्वरी हाइड्रोपावरका लगानीकर्ता परेका छन्। यस कम्पनीको सेयर भाउ ८.६ प्रतिशतले घटेको छ। यस्तै बरुण हाइड्रोपावर, सप्तकोसी डेभलपमेन्ट बैंक, युनाइटेड मोदी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर र आशा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि पाँच प्रतिशतभन्दा बढीले खस्केको छ।

दुई कम्पनीमा सर्किट ब्रेक
घट्दो बजारमा पनि यस दिन दुईवटा कम्पनीको सेयर मूल्य १० प्रतिशत बढ्दा नेपाल स्टक एक्सचेन्जले सर्किट ब्रेक लगाउनुपरेको छ। सर्किट लाग्ने दुई कम्पनीमा  रैराङ हाइड्रोपावर र साल्ट ट्रेडिङ कर्पोरेसन छन्। यस्तै मल्टीप्रपोज फाइनान्सको सेयर मूल्य पनि ९.०३ प्रतिशतले बढेको छ। नेपाल फाइनान्स, पञ्चकन्यामाई हाइड्रोपावर, सिर्जना फाइनान्स, बिशाल बजार कम्पनी र कञ्चन डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

प्रकाशित: १ माघ २०७६ ०५:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App