१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राजधानी हेटौंडा कायम, नाम बागमती सर्वसम्मत

मकवानपुर - प्रदेश तीनको नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम भएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकले प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएको हो ।

 राजधानी दुई तिहाइ बढी मतले मकवानपुरको हेटौंडा कायम भएको छ। प्रदेश सभामा आइतबार बिहान भएको मतदानमा हेटौंडाको पक्षमा उपस्थित एक सय आठ सांसदमध्ये एक सय पाँच मत परेको हो।

तत्कालिन विवेकशील साझाका तीन सांसद बाहेक सबै दलका सांसदले हेटौंडाको पक्षमा मत जाहेर गरे। संविधानको धारा २८८ को उपधारा २ मा प्रदेशको राजधानी सम्बन्धित प्रदेश सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाइ बहुमतले निर्णय गर्ने उल्लेख छ।

एक सय दश जना सांसद रहेको प्रदेश सभामा नेकपाको दुई तिहाइ बढी अर्थात् ८० सांसद छन्। त्यस्तै, नेपाली कांग्रेसको २२, विवेकशील साझा(विवेकशील नेपालीका दुई, साझा विवेकशीलका एक) गरी तीन, नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का दुई, राप्रपा, राप्रपा संयुक्त र स्वतन्त्रका एक–एक सांसद रहेको छ।

नेकपाका संसदीय दलका नेता एवं मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी हेटौंडा कायम गरियोस भनी संविधानको धारा २८८ को उपदफा २ बमोजिम प्रस्ताव पेश गरेका थिए। प्रस्तावलाई नेपाली कांग्रेसका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, राप्रपाकी सांसद रीता माझी र राप्रपा संयुक्तकी सांसद रीना गुरुङले समर्थन गरेका थिए।

त्यस्तै, काभ्रेपलान्चोकको धुलिखेलको पक्षमा तत्कालिन विवेकशील साझाको तीन मत मात्र परेपछि अस्वीकृत भएको छ। काभ्रेको विपक्षमा एक सय एक मत खसेको सभामुख सानुकुमार श्रेष्ठले बताए। विवेकशील साझाका रमेश पौड्याल, शोभा शाक्य र बिराजभक्त श्रेष्ठले काभ्रेको धुलिखेलमा मतदान गरेका थिए। एक स्वतन्त्र सांसदको मत तटस्त रहेको छ।

नाम बागमती
प्रदेशको नाम बागमती कायम भएको छ। प्रदेशकाे नाम बागमती राखियाेस भन्ने प्रस्ताव सर्वसम्मत पारित भएकाे । यसकाे पक्षमा कुल उपस्थित १ सय ८ मध्ये सत प्रतिशत मतदान भएकाे हाे। विपक्षमा कुनै मत परेन।

कांग्रेस प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ प्रदेशको नाम बागमतीको प्रस्तावक रहेका थिए भने समर्थकहरुमा नेकपा प्रदेश संसदीय दलका मुख्य सचेतक रामेश्वर फुयाँल, राप्रपाकी रीता माझी, राप्रपा संयुक्तकी रीना गुरुङ, विवेकशील साझाका रमेश पौड्याल र शोभा शाक्य थिए।

प्रकाशित: २७ पुस २०७६ ०५:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App