४ पुस २०८१ बिहीबार
image/svg+xml
अन्य

डोकामा तरकारी व्यापार

कविराज कार्की
मंगलबार साँझ। बौद्धचोक आसपासमा डोकामा तरकारी बेच्न बसेका केही महिला। अनुहार उदास। म नजिकै जाँदा खुसी भइन्, तरकारी किन्न आयो भन्ने सम्झेर होला। मैले हाँसेर सागको मूल्य सोधेँ। उनले भनिन्, ‘२५ रुपैयाँ।’
‘महँगो भएन र ?’ मैले भनेँ।
उनले भनिन्, ‘हामीले पनि किनेर ल्याउने हो भाइ। हामीलाई त जम्मा पाँच रुपैयाँ फाइदा हुन्छ।’
यसपछि मैले कुरा मोडेर तरकारीबारे गफगाफ गरेँ। उनीजस्तै अरूसँग पनि गफगाफ गरेँ।

बौद्ध बस्ने ५५ वर्षीया राधा भुजेल पनि बिहान पाँचै बजे उठ्छिन्। मूलपानी पुग्छिन्। तरकारी खरिद गर्छिन्। र, तरकारीको डोको बोकेर बौद्धचोकतर्फ लाग्छिन्। उनलाई बौद्धचोक आइपुग्न करिब डेढ घण्टा लाग्छ।। उनले डोकोमा तरकारी बेचेर गुजारा चलाएको ३० वर्ष भयो। सवारीसाधनमा तरकारी ल्याउँदा भाडा तिर्नुपर्ने भएकाले बोकेरै ल्याउने गरेको उनले सुनाइन्।

उनको काँधमा छ, श्रीमान्को स्वास्थ्योपचार, घरखर्च जुटाउने र छोराछोरीको शिक्षादीक्षा। भुजेलले भनिन्, ‘म दैनिक पाँच सयदेखि ६ सयसम्म कमाउँछु। यसबाट घरखर्च चलाउन धौधौ हुन्छ।’

उनका श्रीमान् केही वर्षअघि बिरामी परे। वर्षौंसम्म सुधार भएन। यसपछि भुजेल कामको खोजीमा सहर–बजारमा भौँतारिइन्। तर, कहीँकतै पनि काम पाइनन्। पढे–लेखेका लाखौं युवायुवती बेरोजगारी भएको देखेर चित्त बुझाइन्। घरखर्च जुटाउने मेसोमा तरकारी व्यापार गर्ने अवसर जुट्यो। अनि, उनी वर्षौंदेखि यही पेसामा आबद्ध छिन्। चोकमा बसिरहँदा ग्राहक नपाइने भएकाले तरकारीको डोको बोकेरै भित्री चोकगल्ली डुलाउने गरेको उनले सुनाइन्।

४९ वर्षीया बबिता तामाङ मूलपानीबाट साग ल्याएर बौद्धचोकमा बेच्छिन्। उनले मूलपानीमा छिमेकीले मागेरै सकाउने भएकाले यहाँसम्म ल्याएको सुनाइन्। उनले भनिन्, ‘व्यापारमा कहिले बढी, कहिले कम त हुन्छ। तैपनि धेरथोर नाफा आउने भएकाले हामीले बजारसम्म तरकारी बेच्न ल्याएका हौं।’

उनले गुनासो गरिन्, ‘मौसमी तरकारी खेतीमा हामीले उचित भाउ पाउँदैनौं। बेमौसमी तरकारी खेतीमा भने बजार भाउ पाउँछौं।’ आत्मनिर्भर हुन तरकारी व्यापार गरेको उनले बताइन्। ‘कहिले तरकारी बेच्छौं, कहिले बेच्न नपाएर कुहिएर खाल्डोमा जान्छ। यतिबेला निकै घाटा हुन्छ। मन पोल्छ,’ तामाङले भनिन्।

त्यस्तै, काठमाडौं माकलबारीमा बस्ने शिरमाया तामाङले बौद्धचोकमै तरकारी बेच्छिन्। यसैबाट उनको गुजारा चलेको छ। १० वर्षअघि बिदेसिएका उनका श्रीमान् घर फर्किएनन्। यसपछि दुई छोरा र एक छोरीको पालनपोषण र शिक्षादीक्षाको जिम्मेवारी उनको काँधमा आयो। तरकारी व्यापारबाट दैनिक पाँच सयदेखि एक हजार कमाइ हुने उनले सुनाइन्। माकलबारीमा बजार नपाइएकाले बौद्धचोकमा ल्याएर साग बेच्नुपरेको उनले सुनाइन्। उनले दुईटा गाई पालेकी छन्। उनी गाईको दूध बेच्छिन्, गोबरबाट अर्गानिक मल बनाएर तरकारी खेती गर्छिन्।

‘कहिले नाफा त कहिले नोक्सान झेल्नुपर्छ। माकलबारी तिनचुली हुँदै बौद्ध चोकसम्म तरकारीको भारी बोकेर आउन करिब डेढ घण्टा लाग्छ,’ उनले भनिन्। सरकारले तरकारी बजार व्यवस्थापन नगरेकाले यहाँसम्म आउनुपरेको उनले गुनासो गरिन्।

प्रकाशित: २६ पुस २०७६ ०३:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App