१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेकपा सांसदद्वारा पार्टी निर्णयविरुद्ध जाने चेतावनी

मकवानपुर – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश सांसदहरूले सचिवालयकै निर्देशनको उल्लंघन गर्ने चेतावनी दिएका छन्। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितले स्थायी राजधानी हेटौंडा र नाम बागमती राख्न दिएको निर्देशनको विपक्षमा जाने दाबी नेकपाकै अधिकांश सांसदले गरेका छन्।
प्रदेशसभाको बुधबारको बैठकमा बोल्ने २१ सांसदमध्ये अधिकांशले हेटौंडाभन्दा काभ्रे स्थायी राजधानीका लागि उपयुक्त रहेको दाबी गरे। काभ्रेका नेकपा सांसद लक्ष्मण लम्सालले औचित्य, सम्भावना र सामथ्र्यका हिसाबले काभ्रे राजधानीका लागि सबैभन्दा उपयुक्त रहेको जिकिर गरे। काभ्रेलाई राजधानी तोक्न प्रस्तावकसमेत रहेका नेकपाकै सांसद चन्द्रबहादुर लामाले १३ जिल्लाकै केन्द्रमा पर्ने र सुविधा, भौतिक संरचना तथा जग्गाका हिसाबले राजधानी काभ्रेको विकल्प नरहेको बताए।

काभ्रकै नेकपा सांसद गोमा भुर्तेल र रत्नप्रसाद ढकालले पार्टीले हस्तक्षेप गरे पनि भौगोलिक र प्राकृतिक हिसाबले पायक पर्ने भएकाले काभ्रे नै राजधानी बनाउन सहयोग गर्न आग्रह गरिन्। अर्की सांसद बसुन्धरा हुमागाईंले संघीय राजधानी काठमाडौं उपत्यकासँगै रहेको र प्रदेशका १३ मध्ये आठ जिल्लाको सिमाना जोडिएकाले काभ्रेलाई नै राजधानी तोक्नुपर्नेमा जोड दिइन्।

नेकपाकै सिन्धुपाल्चोककी सांसद इन्द्रमाया गुरुङ र काठमाडौंकी सांसद रमा आले मगरले घुमाउरो पारामा राजधानी काभ्रे तोक्नुपर्ने बताए। ‘उत्तरी क्षेत्रका जनतालाई काठमाडौं आउन धेरै समय लाग्छ,’ उनीहरूले भने, ‘त्यसैले पायक पर्ने स्थानमा राजधानी तोक्नुपर्छ।’

नेकपाका दोलखा सांसद विशाल खड्का र नेकपाका भक्तपुर सांसद प्रतिमा श्रेष्ठले प्रदेशको अवस्था, भूगोल, पहिचान, सामथ्र्य, विविधताका आधारमा राजधानी तोक्नुपर्ने भन्दै काभ्रेकै पक्षमा धारणा राखे। नेकपाकै रामेछाप सांसद शान्तिप्रसाद पौडेलले ७७ प्रतिशत बढी जनसंख्यालाई उपयुक्त भएकाले काभ्रेलाई सहज रूपमा राजधानी तोक्नुपर्ने उल्लेख गरे। कांग्रेसका काठमाडौं सांसद नरोत्तम वैद्यले मुख्यमन्त्री डोरमणि पौडेलका कारण ढिलाइ भएको आरोप लगाउँदै काभ्रेलाई स्थायी राजधानी तोक्नुपर्नेमा जोड दिए।

नेकपाका चितवन सांसद विजय सुवेदीले काभ्रे, भक्तपुरले काठमाडौंको जनघनत्व बढाउने भएकाले हेटौंडा नै राजधानी बनाउन उपयुक्त रहेको बताए। कांग्रेसका चितवन सांसद बलराम पौडेल, गीता वाग्ले र भक्तपुरकी सांसद विजया श्रेष्ठ केसीले हेटौंडालाई स्थायी राजधानी तोक्दा फाइदाजनक हुने बताए।

राप्रपाकी रामेछाप सांसद रीता माझीले स्थायी राजधानी हेटौंडामै तोक्नुपर्ने बताइन्। नेकपाका भक्तपुर सांसद शशीजंग थापाले १० वटा तथ्यसहित भक्तपुरलाई राजधानी तोक्न प्रस्ताव गरेको बताए। कांग्रेसका भक्तपुरकै सांसद कृष्णलाल भडेलले पनि राजधानी भक्तपुर हुनुपर्ने बताए। नेकपाका नुवाकोट सांसद हीरानाथ खतिवडाले स्थायी राजधानी नुवाकोटमा राख्नुपर्ने बताए। नेपाली कांग्रेसका काठमाडौं सांसद पुकार महर्जनले संविधानभन्दा माथि कोही नरहेकाले नेकपा सचिवालयको निर्णयको विरोध गर्दै आफूहरूको अधिकार खोस्न खोजेको भन्दै विरोध गरे।

प्रकाशित: २४ पुस २०७६ ०३:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App