७ वैशाख २०८१ शुक्रबार
अर्थ

मजदुरले रोके कालोपत्रे

खोटाङ, – पारिश्रमिक नपाएपछि आक्रोशित कामदारले खोटाङको महुरे–राजापानी सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम रोकेका छन् । ठेकेदारले वर्षौंसम्म पारिश्रमिक नदिएर झुलाएपछि कामदारले गाईघाट–दिक्तेल सडकको महुरे–फोक्सिङटार सडक खण्डअन्तर्गत महुरेदेखि सिमपानी (राजापानी) सम्मको सडक कालोपत्रेको काम रोकेका हुन् ।
जिल्ला प्रशासन कार्यालय खोटाङमा दुई महिनाअघि भएको छलफलमा निर्माण कम्पनी भारत कन्स्ट्रक्सन÷सिद्धी शाही जेभीका प्रतिनिधिले पुस २० सम्ममा पारिश्रमिक भुक्तानी गर्ने कागज गरेका थिए। अहिले सम्झौता अनुसारको भुक्तानी नदिएपछि कामदारले सडकको काम रोकेको प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्ययले बताए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३, नुनथला, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका कामदारको आइतबार विजयखर्कको मालामा भएको भेलाले काम ठप्प बनाउने निर्णय गरेको हो। तोकिएको मितिमा पारिश्रमिक नपाएको विरोधमा सो सडक खण्डमा काम गरिरहेका डेढ सयभन्दा बढी कामदारले काम रोकेका छन् ।

आक्रोशित कामदारले निर्माण कम्पनीको ६ वटा टिप्पर, एउटा पानी ट्यांकर, दुईवटा स्काभेटर, एउटा बोलेरो र एउटा ब्याकहोलोडरको चाँबी नियन्त्रणमा लिएर प्रहरी चौकी बुइपालाई बुझाएको प्रशासनले जनाएको छ। पारिश्रमिक दिने भनिएको मिति र स्थानमा ठेकेदारको प्रतिनिधिसमेत देखा नपरेको कामदारको गुनासो छ। डेढ–दुई वर्षदेखि पारिश्रमिकविहीन पसिना बगाइरहेका कामदारले तोकिएको मितिमा पैसा नपाएपछि काम रोकेर विरोधमा उत्रिएको बुइपाका वडाध्यक्ष दिनेश राईले बताए। निर्माण कम्पनीले श्रम गरेको पारिश्रमिक नदिएसम्म काम अवरुद्ध पार्ने कामदारको चेतावनी छ ।

ठेकेदारले वर्षौंसम्म पैसा नदिँदा सडक कालोपत्रेका क्रममा गिटी, ढुंगा र सिमेन्टको काम गरिरहेका कामदार न घर फर्कन सकेका छन् न त निरन्तर काम गर्न नै सकेका छन्। महुरेमा रातदिन गिटी कुटेका महिला कामदारले समेत पारिश्रमिक पाएका छैनन्। गिटी कुटेवापत प्रतिव्यक्ति कम्तीमा ३० हजार रुपैयाँ नपाएको महिला कामदारको गुनासो छ। साइडको जिम्मा लिएर कामदार ल्याएर काम गराइरहेका पेटी ठेकेदारले समेत भुक्तानी पाउन सकेका छैनन्। ‘गाईघाट–दिक्तेल सडक योजना प्रमुख पशुपति ज्ञवाली, ठेकेदारका प्रतिनिधि र कामदारबीचमा पुस २० गतेभित्रमा पारिश्रमिक दिने सम्झौता गराइएको थियो,’ प्रमुख जिल्ला अधिकारी उपाध्ययले भने, ‘तर ठेकेदारले कामको गति पनि बढाएन। कामदारलाई भुक्तानी दिन पनि सकेन। निर्माण व्यवसायी दिपेन्द्र शाहीलाई दुई हप्ताअघि नै भुक्तानी दिनका लागि भनेको थिएँ तर वास्ता गरेनन्। अवरुद्ध काम अघि बढाउने र कामदारको पैसा दिलाउने पक्षमा प्रयास भइरहेको छ ।

लामो समयसम्म कामदारलाई पारिश्रमिक नदिएका ठेकेदारले सडक आसपासका होटल व्यवसायी, खाद्य तथा किराना पसल, पेट्रोल पम्प लगायतको उधारो रकमसमेत नतिरेको बताइएको छ। निर्माण कम्पनीका कर्मचारीले होटल तथा पसलमा खाएको र पेट्रोल चलाएको लाखौं पैसा नपाएपछि स्थानीय व्यवसायीसमेत कामदारको पक्षमा उभिएका छन्। कामदारले सडक कालोपत्रेको काम ठप्प बनाएको विषयमा बुझ्न खोज्दा भारत कन्स्ट्रक्सन÷सिद्धी शाही जेभीका साइड इन्चार्ज पुष्प साहीसँग सम्पर्क हुन सकेन। गाईघाट–दिक्तेल सडक योजनाका इन्जिनियर प्रविन चौधरीले भने प्रशासनमा दुई महिनाभित्र कामलाई द्रूत गतिमा अघि बढाउने र बाँकी भुक्तानी दिने सहमति भए पनि भुक्तानी पाउनेगरी काम नगरेकाले थप भुक्तानी दिन सकिएको र कामदारले काम रोकेको बताए । करिब ९१ करोडको खर्चमा २०७७ साउन ११ गतेसम्ममा पूरा गर्नेगरी २०७३ असार ३० गते सम्झौता गरेर महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रेको काम थालेको निर्माण कम्पनीले हालसम्म ३५ प्रतिशत भौतिक र ३३ प्रतिशत वित्तीय प्रगति गरेको बताइएको छ ।

 

प्रकाशित: २२ पुस २०७६ ०३:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App