१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सार्वजनिक जग्गामै गड्छन् सबैको आँखा

ललितपुर-पाटन मंगलबजारस्थित ललितपुर उपमहानगरपालिकाको पुरानो भवन रहेको सरकारी जग्गालाई केही व्यक्तिले व्यापारिक भवन बनाउन खोजेको पाइएको छ। गत वर्षको भूकम्पले क्षति पुर्‍याएपछि उक्त भवनमा बस्दै आएको मंगलबजार प्रहरी प्रभाग अस्थायी टहरा निर्माण गरी दरबार क्षेत्रको पछाडि  सर्‍यो।

अहिले खाली रहेको त्यो भवन क्षेत्रलाई स्थानीयले खुला रूपमै कायम गर्न माग गरेका छन् । ललितपुर उपमहानगरपालिकाका र केही राजनीतिक दलका प्रतिनिधिले भने उक्त जग्गामा व्यापारिक कम्प्लेक्स बनाउन खोजेको पाइएको छ ।

‘पाटन दरबारको अगाडिबाहेक यहाँ खुला स्थान छैन, त्यसैले यसलाई खुला ठाउँ कायम गर्न हामीले उपमहानगरपालिकासँग माग गरेका छौँ,’ पाटन मंगलबजारका सुरेश शाक्यले भने, ‘स्थानीयले खुला ठाउँको माग गरे पनि उपमहानगरपालिका र केही राजनीतिक दलका प्रतिनिधिले यसलाई व्यापारिक भवन बनाउने भनेका छन्, हामी यसको विरोधमा छौँ ।’

पाटन दरबार क्षेत्र प्रवेश गर्ने चोकमै रहेको उक्त १५ रोपनी जग्गा ललितपुर उपमहानगरपालिकाको नाममा छ । ललितपुर उद्योग वाणिज्य संघका पूर्वाध्यक्ष अजरमान जोशी पनि उक्त जग्गालाई खुला रूपमा कायम गर्नुपर्ने माग राख्छन् ।

‘हामीले उक्त जग्गामा पहिले ढुंगेधारा रहेको र त्यसको फोटो पनि सुरक्षित छ भन्ने सुनेका छौँ,’ उनले भने, ‘फेरि यो जग्गा दरबार क्षेत्रको मुटुमा छ, यस्तो स्थानमा व्यापारिक भवन बनाउनै मिल्दैन, हामीले उक्त जग्गालाई पुरानै स्वरुपमा उतार्नुपर्ने माग पनि राखेका  छौँ ।’

ललितपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत भरतमणि पाण्डेले उक्त जग्गा सार्वजनिक भएकाले त्यसलाई कसरी प्रयोजनमा ल्याउने भन्ने विषयमा अझै निर्णय नभएको जानकारी दिए । ‘उक्त स्थानमा पहिला ढुंगेधारा भएको भन्ने सुन्नमा आएकाले उत्खनन् गर्दा यदि ऐतिहासिक सम्पदा फेला गरेमा त्यसलाई पुरानै स्वरुप दिइनेछ,’ उनले भने, ‘पुराताŒिवक वस्तु नभेटिएमा व्यापारिक भवन तथा खुला स्थान पनि बनाउन सकिन्छ ।’ उनले उपमहानगरपालिकाभित्र रहेका केही राजनीतिक दलका नेताले व्यापारिक भवन बनाउन मागसमेत गरेकाले स्थानीय र दलका प्रतिनिधिको चित्त बुझ्ने गरी जग्गालाई प्रयोगमा ल्याइने बताए ।

उपमहानगरपालिकाका राजनीतिक संयन्त्रका विभिन्न दलका नेताको धारणा भने फरक छ । माओवादी संयन्त्रका अध्यक्ष बाबुराजा बज्राचार्य र नेकपा एमालेका नगर सभापति गोपाल महर्जनको तर्क मिल्दोजुल्दो छ । उनीहरुले उक्त जग्गामा व्यापारी भवन बनाउँदा उपयुक्त हुने बताए ।

‘हामीले यसलाई व्यापारिक भवन बनाउँदा पनि राम्रै हुन्छ,’ माओवादी संयन्त्रका अध्यक्ष बज्राचार्यले भने, ‘पाटनमा घुम्न आउने पर्यटकका लागि पनि यसको खाँचो पर्ने देखिन्छ ।’

एमालेका नगर सभापति गोपाल महर्जनले स्थानीयको राय सुझाव लिएर मात्र व्यापारिक भवन बनाउने बताए ।

त्यस्तै, उपमहानगरपालिका कांगे्रसनगर सभापति राजेश महर्जनले उक्त जग्गालाई कसरी प्रयोग गर्ने भनेर अझै निर्णय भइनसकेको बताउँछन् । ‘स्थानीयबाट यस ठाउँमा ढुंगेधारा छ भन्ने सुनिएको छ,’ उनले भने, ‘त्यस्तो रहेछ भने त्यसलाई पुरानै स्वरूप दिनुपर्छ ।’

भवनको इतिहासलाई कोट्याउँदै पूर्वमेयर वुद्धिराज बज्राचार्य भन्छन्, ‘उक्त भवन २००८ सालपहिले नै स्थापना भएको थियो ।’

यता, लामा समय सम्पदा संरक्षणमा काम गर्दै आएका पूर्वमेयर बज्राचार्यले उक्त जग्गामा मल्लकालीन समयमा बनाएको ढुंगेधारा पुरिएकाले पुरानै स्वरुप दिनुपर्ने बताए । ‘यो जग्गामा भवन बनाउँदा ऐतिहासिक ढुंगेधारा पुरिएका छन्,’ उनले भने, ‘हामी त्यहाँ उत्खनन् गरी पुरानै अवस्थामा कायम राख्न जरुरी छ ।’

पर्यटन क्षेत्रको उद्गम थलो मानिने दरबार क्षेत्रमा पर्याप्त खुला स्थान नभएकाले उक्त जग्गालाई खुला रुपमै राख्न आवश्यक रहेको बताउँछन्, पर्यटकलाई पाटन क्षेत्रको अवलोकन गराउँदै आएका सुमित राई । उनी भन्छन्, ‘बाहिरी पर्यटक अलि खुला स्थान रोज्छन्, तर पाटन दरबार क्षेत्रमा पर्याप्त खुला स्थान छैन । त्यसकारण यसलाई खुला रुपमै व्यवस्थापन गर्दा राम्रो होला ।’

पुरातŒव विभागका प्रवक्ता रामबहादुर कुवँरले सम्पदा क्षेत्रमा व्यापारिक भवन बनाउनु नसुहाउँदो विषय रहेको बताए । ‘पुराताŒिवक सम्पदा क्षेत्रमा व्यापारिक भवन बनाउन हामी दिँदैनौ,’ उनले भने, ‘उत्खननका क्रममा पुराताŒिवक वस्तु फेला नपरेमा बरु खुला स्थान कायम गर्न सकिन्छ, तर व्यापारिक भवन बनाउँन मिल्दैन ।’

यता, यहाँ प्रहरी भवन बनाउँदा उपयुक्त हुने प्रहरीको भनाइ छ । ‘दरबार क्षेत्रको सुरक्षालाई हेर्दा उक्त जग्गामा प्रहरी भवन बनाउँदा उत्तम हुन्छ,’ ललितपुरका प्रहरी प्रमुख एसएसपी पीताम्बर अधिकारीले भने, ‘केही स्थानीयले पनि उक्त जग्गामा प्रहरी बस्नुपर्ने माग पनि राखेका छन् ।’ उनले यदि उत्खनन गर्दा पुराताŒिवक वस्तु फेला परेमा पुरानै स्वरुपमा राख्न सकिने बताए ।

मंगलटोल सुधार समिति अध्यक्ष किरणमान प्रधानले उक्त स्थानलाई खुला रुपमै कायम गर्नुपर्ने बताउँछन्। उनले भने, ‘राजनीति दलका नेता, स्थानीय, व्यापारी र उपमहानगरपालिकाको मनसाय त्यहाँ व्यापारिक भवन बनाउने छ, तर यहाँ भवन बनाउनु हुँदैन ।’

त्यस्तै, पुरातŒव विभाग ललितपुर शाखा प्रमुख काजीमान प्याकुरेलले भवनको भग्नावशेष हटाउँदै जाँदा यदि पुराताŒिवक सम्पदा भेटिएमा त्यसलाई तुरुन्तै रोकेर उत्खनन गरिने बताए । उनले भने, ‘हामीले उक्त स्थानमा व्यापारिक भवन बनाउन दिँदैनौ, उक्त जग्गामा दरबार क्षेत्रका सम्पदा जोडिएकाले त्यसलाई छलफल गरेर मात्र प्रयोग गर्छौं ।’

प्रकाशित: ६ पुस २०७३ ०२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App