१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चिनियाँ गिरोह तितरबितर

काठमाडौं – नेपालमा बसेर चिनियाँ धनाड्य व्यक्ति र एकल महिलालाई निशाना बनाएर प्रविधिमार्फत धनमाल लुट्दै आएको चिनियाँ गिरोहमध्येका १ सय २२ जनालाई प्रहरीले पक्राउ गरि मुद्दा चलाएपछि अवैध ढंगले आपराधिक गतिविधि गर्ने चिनियाँ गिरोहको टोली तितरबित्तर भएको छ। प्रहरीले जासुस र विशेष सूचनाको आधारमा चिनियाँ गिरोह बसेको क्षेत्रमा छापा मारेसँगै त्यसरी नै अवैध कार्य गर्नेको टोली रातारात भागेको वा छरिएर बसेको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रहरीले हजारभन्दा बढीको संख्यामा यस्तो गिरोह नेपालभित्र विभिन्न ठाउँमा छरिएको हुनसक्ने अनुमान गरेको थियो। ‘एउटा स्थानलाई आधार बनाएर योजनाबद्ध ढंगले अनुसन्धान गर्दा धेरै गिरोह समातिए,’ केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एक अधिकारीले भने, ‘त्यसयता यसरी नै अन्यन्त्रै अपराधिक काम गर्दै आएका केही व्यक्ति तितरबितर भएका छन्, संख्या ठूलो भएकोले प्रहरीले समातेर साध्य लाग्दैन।’

पुस ७ गते सोमबार प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको थियो। पर्यटन भिषामा नेपाल छिरेका उनीहरूको भिसा म्याद समाप्त भए पनि उपत्यकाका भित्री र छेउछाउका घर तथा होटल भाडामा लिएर बस्दै आइरहेका थिए। प्रहरीले केही दिनयता चलाएको अनुसन्धानपछि चीनबाट नेपालमा आएर विभिन्न ठगीधन्दा गर्ने चिनियाँ गिरोहको सर्कल नै हुनसक्ने जनाएको छ। तर, सूचना सबैतिर चुहिएपछि अन्य टोली तितरबितर भएको प्रहरीको भनाइ छ। ‘हामीले पोखरा, चितवन र बुटबल क्षेत्रमा पनि यस्तो टोली छ भनेर अनौपचारिक सूचना पाएका थियौं, त्यस क्षेत्रमा पनि अनुसन्धान भइरहेको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहले भने, ‘गिरोहको ठूलो जालो नै यस्तो काममा सक्रिय भएकाले प्रहरीले प्रक्राउ गरेर पनि साध्य छैन, पक्राउ परेर कारबाही अघि बढाइएकाको बयानपछि अरुमाथि प्रहरीले थप अनुसन्धान थाल्छ।’

उनका अनुसार गिरोहको टोलीले सामाजिक सञ्जाल तथा अन्य साइटको प्रयोग गरेर एकल महिला, धनाड्य व्यक्तिको पैसा लुट्ने कार्य गर्दै आइरहेका थिए। उनीहरूलाई नजिक बनाउन थोरैथोरै पैसा पठाइदिने र धेरै पैसा असुल्ने जस्ता काम गिरोहभित्र हुने गरेको प्रहरीले जनाएको छ। तर, नेपालविरुद्ध के गतिविधि गरिहेका थिए भन्ने विवरण र तथ्य भने अझै खुल्न सकेको छैन।

केन्द्रिय अनुसन्धान ब्युरो(सिआइबी)का एसपी प्रवक्ता बेलबहादुर पाण्डेले पक्राउ परेका १ सय २२ जनालाई काठमाडौं परिसरमा जिम्मा लगाइसकिएको र अभद्र व्यवहारको मुद्दामा कारबाही प्रक्रिया अघि बढिसकेको जानकारी दिए। उनका अनुसार गिरोहको टोलीसँग अनुसन्धान भइरहे पनि अध्यागमन विभागसँगको समन्वयपछि मात्रै उनीहरूलाई नेपालमै राख्ने वा चीन पठाउने भन्ने निक्र्योल हुनेछ। ‘उनीहरूको साथबाट मोबाइल, ल्यापटप, क्यामेरा र अन्य फिजिकल इभिडेन्स भेटिएका छन्, तीनका आधारमा पनि उनीहरूले गर्ने धन्दा केके रहेछन् भनेर अनुसन्धान गर्न सहयोग पुगेको छ,’ उनले भने, ‘उपत्यका बाहिर पनि केही गिरोह छ भन्ने हल्ला सुनिएको छ, त्यसमा प्रहरीले आफ्नै तरीकाले अनुसन्धान गरिरहेको छ।’

गिरोहका टोलीले काठमाडौंमा कम्पनी नै दर्ता गरेर सफ्टवेयरको काम गर्दै आइरहेको थियो। कम्पनीमार्फत केही सरकारी कायालयको वेबसाइटसमेत मर्मतको जिम्मा लिएको थियो। टोलीले मर्मत गर्दै आएको स्थानीय विकास मन्त्रालयको पुरानो वेबसाइट समेत ह्याक भएको थियो। मन्त्रालयले साइटमा अपलोड गरेका सबै सामग्री उडेका थिए।
विमानस्थलभित्र कडाइ

प्रहरीले अनुसन्धान थालेको सूचना चुहिएपछि नेपालमा आएर अपराध गर्ने चिनियाँ टोली उपत्यकाबाहिर र चिनतर्फ नै फिर्ता भइसकेको हुनसक्ने भन्दै त्रिभुवन विमानस्थलभित्र जाँचमा थप कडाइ गरिएको छ। विमानस्थलका प्रहरी प्रमुख डिआइजी सूर्य उपाध्यायका अनुसार आइटीको बढी प्रयोग भइरहेको बेला बाहिरी गिरोहले त्यसलाई नै हतियार मानेर अपराध गर्नेक्रम बढेको छ। चीनबाट नेपाल आएर आइटीको प्रयोग गरी अपराधिक गतिविधिमा संलग्नलाई पक्राउ गरिपछि विमानस्थलभित्र थप कडाइ गरिएको छ। ‘नेपालमा आएर अपराध गर्ने गिरोहले उम्कन पाउँदैन,’ उनले भने, ‘भ्रमणका लागि आउने पर्यटकको संख्या पनि बढी छ, उनीहरूलाई सद्भावका साथ स्वागत गर्छाैं तर चोर र तस्कर सजिलोसँग उम्कन दिँदैनौं।’

प्रकाशित: १५ पुस २०७६ ०२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App