१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

यहुदी नेताको घरमा चाड मनाउँदै गरेकामाथि छुरा प्रहार

हनुका पर्व मनाइरहेका यहुदीमाथि भएको छुरा आक्रमणबारे जानकारी लिन आएका न्युयोर्क राज्य सभाका सदस्य डोभ हिकिन्दलाई सुन्दै यहुदी। तस्बिर: एजेन्सी।

अमेरिका – अमेरिकाको न्युयोर्क सहरनजिकै एक यहुदी नेताको घरमा ‘हनुका’ (धार्मिक चाड) मनाउन जम्मा भएकामध्ये पाँचजनालाई छुरा प्रहार गरिएको छ। हनुका  झिलिमिली बत्ती बालेर मनाइने यहुदीहरुको एक धार्मिक चाड हो। प्रहरीका अनुसार हनुका मनाउँदै गरेको सातौं रातमा जम्मा भएका यहुदीहरुमाथि एकजना व्यक्तिले जथाभावी छुरी प्रहार गरेका थिए। चक्कु प्रहारबाट पाँचजना यहुदी घाइते भएका छन्।

गम्भीर घाइते पाँचैजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको सरकारी अधिकारीहरुले बताएका छन्। छुरा प्रहारबाट घाइते भएका यहुदीहरुलाई पूर्ण रूपमा निको हुन समय लाग्ने अस्पताल स्रोतले उल्लेख गरेको छ। यहुदी नेताको घरकै सभाहलमा भैरहेको कार्यक्रममा सहभागीमाथि छुरा प्रहार गरिएको थियो।

स्थानीय समयअनुसार शनिबार राति छुरी लिएको उक्त व्यक्तिले यहुदी धर्मावलम्बीलाई लक्षित गरी आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। घटनास्थल अमेरिकाको न्युयोर्क सहरको उत्तरतर्फ ३५ माइल पर जर्सी सहरको नजिकै पर्ने स्थानीय अधिकारीहरुले बताएका छन्।

प्रहरीका अनुसार हनुका चाड मनाइरहेका यहुदीमाथि राति १० बजेतिर छुरा प्रहार गरिएको थियो। छुरा प्रहारको जानकारी पाएलगत्तै घटनास्थलमा पुगिएको ¥याम्पो सहरका प्रहरी प्रमुख ब्राड वेइडेलले बताएका छन्। छुरी कसले प्रहार ग¥यो भन्ने विषय आइतबारसम्म पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ। घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले बताएको छ। धार्मिक कार्यक्रम भइरहेको स्थानमा छुरा हान्नुको कारण पनि पत्ता लाग्न सकेको छैन।

धार्मिक कार्यक्रममा सहभागी अरन कोहनका अनुसार उनले छुरा हान्ने व्यक्तिलाई अकस्मात रूपमा छेउतर्फबाट आइरहेको देखेका थिए। ‘म पूजा गरिरहेको थिएँ,’ ६५ वर्षे कोहनले भनेका छन्, ‘अकस्मात हातमा चक्कु लिएको व्यक्तिले जथाभावी आक्रमण गर्न सुरु ग¥यो। उसले ढोकाभित्र प्रवेश गर्नेबित्तिकै आक्रमण गर्न थाल्यो। आक्रमण यति छिटो थियो की हामीसँग कुनै पनि प्रतिक्रिया दिने र सोच्ने समय नै थिएन।’

धार्मिक चाड मनाइरहेका व्यक्तिलक्षित आक्रमणलाई यहुदी विरोधी भावना भन्दै चौतर्फी विरोध गरिएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यहुदी धार्मिक गुरुको घरमा जम्मा भइ हनुका पर्व मनाउँदै गरेका व्यक्तिमामाथि छुरी प्रहार  गरिएको घटनालाई यहुदी विरोधी भावना भन्दै विरोध जनाएका छन्। उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्। 

शनिबार आक्रमण भएको क्षेत्रनजिकै गत महिना पनि एकजना व्यक्तिले चक्कु लिएर घुमिरहेको आफूहरुले देखेको स्थानीयले बताएका छन्। सोही स्थानमा शनिबार राति आक्रमण भएको थियो।

प्रकाशित: १४ पुस २०७६ ०१:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App