१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

जसले दुइटा नोबेल जितिन्

थोरै वैज्ञानिकको नाम थाहा पाउने सामान्य मान्छेले पनि सुनेको र दुई–दई चोटी नोबेल पुरस्कार पाउने थोरै व्यक्ति हो म्याडम क्युरी । त्यो पनि रसायनशास्त्र र भौतिकशास्त्रमा। व्यक्तिगत जीवन एकदमै सरल र दुःखदायी तर सार्वजनिक ख्याति प्रशस्त भएको व्यक्तिको नाम हो यो।
ख्याति पनि कतिसम्म भने ‘म्याडम क्युरी’ भन्ने नामकै आधारमा चिठी उनीकहाँ पुग्थ्यो, पूरा ठेगाना नै लेख्न पर्दैनथ्यो । जिन्दगीको ठूलो अंश अभाव र गरिबीमा बाँच्न परेकोले होला पछि पर्याप्त आम्दानी हुँदा पनि ठूला पसलमा छिर्न धकाउँथिन् यिनी ।
दस वर्षकै हुँदा यिनकी आमाको क्षयरोगका कारण मृत्यु भयो । एउटी दिदीको पनि अल्पायुमै मृत्यु भयो। विवाहको दसौं वर्षमा पति पनि गुमाइन् । महिला भएकै कारण वैज्ञानिक समुदायमै भेदभावको शिकार भइन् । नोबेल पुरस्कार र वैज्ञानिक उपलब्धि पनि पतिकै कारण प्राप्त भएको, यिनको खासै योगदान थिएन सम्म भनियो । एकल महिला, दुई स–साना बच्चा, फ्रान्सको प्रवासी जीवन असाध्यै कष्टकर थियो । यही क्रममा वैज्ञानिक पाउल ल्याङ्गेभिनसँगको यिनको निकटता भयो । यो निकटताको पनि व्यापक आलोचना भयो ।
क्युरीको जन्म पोल्यान्डमा भएको थियो । त्यतिबेला पोल्यान्ड भन्ने देश नक्शामा थिएन । यो तीन भागमा टुक्रिएको थियो । एउटा टुक्रामा जर्मनीको, अर्कोमा अस्ट्रियाको र तेस्रोमा रुसको शासन थियो । पोल्यान्डको राजधानी वार्सा रुसको नियन्त्रणमा थियो । रुसको इतिहास, रुसी भाषा, जारका गौरवगाथा, यिनै थिए पोल्यान्डका केटाकेटीले पढ्ने विषयहरू । विद्यालयमा पोल भाषा बोलेमा सजाय हुन्थ्यो । रुस र रुसी नियमकानुन विरुद्ध गतिविधि गर्नुको अर्थ थियो मृत्युदण्ड या साइबेरियामा निर्वासन । यस्तै वातावरणबीच वार्सामा एउटा परिवार थियो, स्क्लोदोव्स्का परिवार । पतिपत्नी दुवै स्कुलमा पढाउँथे । पतिले पढाउने विषय थियो गणित र भौतिकशास्त्र । सन् १८६७ नोभेम्बर ७ मा जन्मिएकी कान्छी छोरीको नाम थियो मान्या स्क्लोदोव्स्का । यिनै मान्या पछि गएर म्याडम क्युरीको नामले प्रसिद्ध भएकी हुन् । मान्याको दिमाग तेज थियो । कुनै पनि कुरा बढीमा दुईचोटी मात्र पढ्नु पथ्र्याे । स्कुलमा आफ्ना दौतरीमध्ये सबैभन्दा सानी भए पनि सबभन्दा तेज यिनै थिइन् । त्यसो त स्क्लोदोव्स्का सन्तान सबै नै प्रतिभाशाली थिए ।
मान्या, उनकी एउटी दिदी र दाइ तीनैजनाले स्कुलको अन्तिम परीक्षामा स्वर्णपदक प्राप्त गरेका थिए । दिदी र दाइ दुवै पछि गएर योग्य चिकित्सकका रूपमा स्थापित पनि भए ।
स्क्लोदोव्स्का परिवार आत्मसम्मानपूर्ण जीवनशैलीको मूल्य चुकाइरहेको थियो । मान्यासँग जम्मा दुई जोर लुगामात्र हुन्थ्यो घरमा बस्दा र बाहिर निस्कँदा लगाउने । यहाँसम्म कि यो उनको बानी नै भयो । पछि प्राध्यापक हुँदा पनि सबै सहकर्मीहरूको छुट्टै पोशाक हुन्थ्यो तर उनको थिएन । विवाहको बेलामा समेत नयाँ लुगा किन्ने पैसा थिएन उनीसँग । कलेज जाने पोशाकमै विवाह गर्न तयार थिइन् उनी । दिदीकी सासूले उनलाई विवाहको लुगा उपहार दिने भइन् । तर उनले भनिन्, त्यसो भए उज्यालो रङको नदिनू, कालो वा निलो रङको कपडा तयार पारिदिनू ताकि पछि प्रयोगशालामा पनि लगाउन पाइयोस् ।
वार्सामा केटीहरूलाई विश्वविद्यालयमा प्रवेश थिएन । मान्याका दाइ विश्वविद्यालय भर्ना भए । मान्या र मान्याको दिदीको इच्छा थियो पेरिस गएर पढ्ने । तर पेरिसको खर्च त परै जाओस्, यात्राको लागि पनि पैसा थिएन उनीहरूसँग । बाबुको आम्दानीले बस्न र खानलाई पनि मुस्किल थियो । एकसे एक प्रतिभाशाली तर न पढ्न पाएका छन् न कुनै रोजगार नै । बच्चाहरूलाई ट्युसन पढाएर पैसा बचत गर्ने र पेरिस गएर पढ्ने सपना बुनेका थिए यी दिदीबहिनीले । तर त्यो सोचे जस्तो थिएन, भ्यागुताको धार्नी पुग्ने लक्षण देखिएन । वार्सामा भूमिगत विश्वविद्यालय पनि चलेको थियो । त्यसमा केटीहरू पढ्न पाउँथे । उनीहरूले त्यसमा पढे पनि केही समय । त्यो समाधान थिएन ।
मान्याको दिमागमा एउटा कुरा आयो, पालोपालो गरेर पढ्ने, पहिले दिदीले पढ्ने बहिनीले सहयोग गर्ने, अनि दिदीको पढाइ सकिएपछि बहिनीले पढ्ने दिदीले सहयोग गर्ने । यसमा केही भरथेग बाबुले गर्ने भए । सल्लाहअनुसार दिदी पेरिस पुगिन्, बहिनी एउटा धनी कृषकको घरमा परिवारिक शिक्षिकाको रूपमा वार्साबाट धेरै टाढा गाउँमा पुगिन् । उनको पारिश्रमिक थियो वार्षिक पाँच सय रुबल अर्थात मासिक ४० रुबल चानचुन । झन्डै आधाजति त पेरिस पठाउनुपथ्र्याे दिदीको सहयोगको लागि । बाँकी २० रुबलले आफ्नो सबै खर्च पुर्याउनुपथ्र्यो उनले । लुगा किन्ने, घुम्न जाने, वार्सा आउने यी कुराको लागि धेरै अघिदेखि योजना बनाउनुपथ्र्याे र बचत गर्दै जानुपथ्र्यो । यतिसम्म कि मान्यासँग चिठीको लागि टिकट किन्ने पैसा समेत हुँदैनथ्यो ।
यो बीचमा आफ्नो पढाइको भोक भने शान्त पार्ने प्रयास गरिरहिन्, समाजशास्त्र, इतिहास, साहित्य पढेर । गरिब किसानका बच्चाहरूको लागि निःशुल्क कक्षा पनि सञ्चालन गरिन् । यति गरेर यो घरमा उनले तीन वर्ष बिताइन् । जागिर सकिँदा उनीसँग पैसा फिटिक्क बचेको थिएन ।
यो समयमा मान्याको जीवनमा एउटा घटना घट्यो । रोजगारदाताको छोरासँग मान्याको प्रेम बस्यो । तर उनीहरू आफ्ना छोराले यस्ती दरिद्र केटीसँग विवाह गरोस् भन्ने चाहँदैनथे ।  मान्यालाई विवाह र प्रेमसँगै वितृष्णा पलायो । त्यतिबेलासम्म उनकी दिदीले पेरिसमै विवाह गरिसकेकी थिइन् । दिदीले हात बढाइन् । बस्ने, खाने समस्या समाधान भयो । दिदीलाई खर्च पठाउनु नपरेपछि पछिल्लो तीन वर्षको अवधिमा उनले केही बचत पनि गरेकी थिइन् । बाबुले पनि केही सहयोग गर्ने वचन दिए । अनि मान्या लागिन् रेलको चौथो दर्जाको टिकट काटेर पेरिसतिर ।
ऐतिहासिक विश्वविद्यालय सोर्बनमा भर्ना भइन् मान्या । तर उनले ‘मान्या’को ठाउँमा ‘मेरी’ लेखाइन् आफ्नो नाम, मेरी स्क्लोदोव्स्का ।  दिदीभिनाजु दुवै डाक्टर थिए । भिनाजु राजनीतिमा चासो राख्थे । मानिसको आवतजावत स्वाभाविक रूपमा बढी हुन्थ्यो त्यस घरमा । मेरीलाई एकान्त मिलिराखेको थिएन पढ्नको लागि । फेरि त्यहाँबाट विश्वविद्यालय जाने आउने समय पनि बढी लाग्थ्यो । सोर्बनको नजिकै एउटा कोठा लिइन् । उनको महिनाको बजेट थियो ४० रुबल अर्थात करिब १०० फ्य्राङ्क । असाधारण रूपले साधारण जीवन बाँच्न थालिन् मेरी, बाहिर किनेर केही पनि नखाने, कतै नजाने, मनोरञ्जनमा भाग नै नलिने आदि । यसो गर्दा उनलाई समय पनि प्रशस्त भयो पढ्नका लागि ।
उनीसँग दुइटा प्लेट, एउटा काँटा, एउटा चम्चा, एउटा चक्कु, एउटा कप, एउटा केट्ली र तीनवटा गिलास मात्र थियो । तीनवटा गिलास किनभने कहिलेकाहीँ दिदीभिनाजु आएको बेला चिया खाने तीनजना हुन्थे ! खानेकुरामा पनि सीमितता आयो । हप्तौं पाउरोटी र नौनी मात्र खाने गर्न थालिन् । कहिले खाँदै नखाने । तर पढिरहने । एकचोटी त कलेजमै बहोस भइन् कमजोरीले गर्दा ।
दुःख र सङ्घर्षलाई छिचोल्दै उनले सन् १८९३ मा भौतिकशास्त्रमा र १८९४ मा गणितमा स्नातकोत्तरको डिग्री हासिल गरिन् । कम बोल्ने, कम साथी बनाउने तर तीक्ष्ण र दुब्ली केटीको रूपमा चर्चित थिइन् मेरी । रुसी, पोल, जर्मन, फ्रेन्च र अङ्ग्रेजी यी पाँच भाषा उनलाई आउँथ्यो । पढाइ सकेर वार्सा फर्किने अनि बाबुसँगै बस्ने उनको योजना थियो । तर त्यसो हुन सकेन ।
समयले उनीबाट धेरै कुरा खोजेको थियो । पछिल्लो डिग्रीको परीक्षा आउँदै गर्दा उनको भेट एक असाधारण व्यक्तिसँग भयो । तिनको नाम थियो पिएर क्युरी । पिएर डाक्टरका छोरा, डाक्टरकै नाति थिए । सोह्र वर्षमा स्नातक र अठार वर्षमा स्नातकोत्तरको डिग्री लिएका पिएरले त्यो बेलासम्ममा भौतिकशास्त्रमा छुट्टै पहिचान बनाइसकेका थिए । उनको विवाह गर्ने विचार थिएन । तर जब मेरीलाई भेटे, पिएरलाई आफूले सोचेको जस्तो केटी फेला पारेको बोध भयो ।
पिएरको मायाले मेरीलाई अन्ततः पेरिसमै राखिछाड्यो । विज्ञानले एउटा यस्तो विरल जोडी पायो जसको योगदान स्वर्णाक्षरले लेखिनेवाला थियो । मेरी स्क्लोदोव्स्का अब श्रीमती क्युरी अर्थात म्याडम क्युरीको रूपमा परिवर्तित भइन् ।
पिएर स्कुलमा पढाउँथे । त्यहीँ उनको प्रयोगशाला पनि थियो । त्यसताका उनको चासो चुम्बकीय गुण र स्फटिक संरचनामा थियो । मेरीको करले उनले विद्यावारिधी गरे । अनि पिएरको करले मेरीले पनि विद्यावारिधीको लागि दर्ता गरिन् । त्यो बेलासम्म संसारमै विज्ञानमा विद्यावारिधी गर्ने कुनै महिला थिएनन् । विज्ञानको दुनियाँमा भर्खरै दुई ठूला घटना घटेका थिए । १८९५ मा एक्सरे पत्ता लागेको थियो ।
त्यसको एक वर्षपछि हेनरी बेक्विरलले युरेनियम धातुमा अर्कै प्रकारको किरण पत्ता लगाएका थिए । यसबारे थप जानकारी थिएन, बेक्विरल किरण भनेर जानिन्थ्यो यसलाई । मेरीले यही बेक्विरल किरणमाथि सोध गर्ने निर्णय गरिन् ।
प्रयोगशालामा पिएर एकातिर, मेरी अर्कोतिर आ–आफ्ना प्रयोग गरिरहेका हुन्थे । प्रयोगका क्रममा मेरीले नयाँ नयाँ कुरा देख्न थालिन् । युरेनियमबाट निस्केको त्यो किरण वास्तवमा त्यसको पारमाणविक गुण नै हो भन्नेमा उनलाई यकिन भयो । अझ क्रान्तिकारी कुरा त के भने युरेनियम तत्व रहेको त्यो खनिजमा त्यस्तै किरण पैदा गर्ने अहिलेसम्म पत्ता नलागेको तर युरेनियमभन्दा शक्तिशाली अरू पनि तत्व छ भन्नेमा पनि उनलाई विश्वास हुन थाल्यो । मेरीको प्रयोगबाट प्रभावित भएर पिएर पनि आफ्नो प्रयोग छोडेर यसैमा संलग्न भए । पिएरको लामो अनुभव, तीक्ष्ण दिमाग र ज्ञानले मेरीको अनुसन्धानलाई धेरै फाइदा पु¥यायो ।
अनि सन् १८९८ मा क्युरी दम्पतीले नयाँ किरणको अस्तित्व प्रमाणित गरे र यसको नाम राखे रेडियोधर्मी किरण । रेडियोधर्मी किरणका लागि स्विडेनस्थित नोबेल एकेडेमीले सन् १९०३ मा हेनरी बेक्विरल र क्युरी दम्पतीलाई संयुक्त रूपमा भौतिकशास्त्रमा नोबेल पुरस्कारले सम्मान गर्यो । भौतिकशास्त्रमा विद्यावारिधी गर्ने पहिलो महिला पनि भइन् मेरी क्युरी । यो स्वयंमा क्रान्ति थियो ।
रेडियोधर्मी किरणलाई तत्वको पारमाणविक गुणको रूपमा स्थापित गरिसकेपछि क्युरी दम्पतीले अर्को दुई नयाँ तत्व पत्ता लगाए । एउटाको नाम मेरीले आफ्नो मातृभूमि पोल्यान्डको नामबाट पोलोनियम राखिन् । अझ शक्तिशाली अर्को तत्वको नाम रह्यो रेडियम । तर उनीहरूसँग भएको थोरै खनिजबाट पोलोनियम र रेडियम छुट्टयाउन सकिने थिएन ।
खनिज किन्न उनीहरूसँग पैसा पनि थिएन । फ्रान्स सरकार वा कसैले सहयोग गर्ने सम्भावना पनि थिएन । भाग्यवश उनीहरूलाई एक टन खनिज अस्ट्रियाबाट निःशुल्क प्राप्त भयो । प्रयोगशालाको समस्या छुट्टै थियो । पिएरको स्कुलबाहिर एउटा छाप्रोमा सामान्य प्रयोगशाला खडा भयो । र त्यहीँ मेरीले वर्षौं लगाएर एक टन खनिजलाई प्रशोधन गरेर जम्मा एक डेसीग्राम रेडियम निकालिन् क्लोराइड लवणको रूपमा ! शुद्ध रेडियम त उनले सन् १९०७ मा मात्र निकाल्न सकिन् ।
यी प्रयोगहरूसँगसँगै धेरै कुरा घटित हुँदै थिए । युरेनियम र यी नयाँ तत्वहरू रेडियोधर्मी किरण छोड्ने क्रममा बिस्तारै क्षयीकरण हुँदै जान्छन् र कालान्तरमा अर्को तत्वको रूपमा परिणत हुन्छन् भन्ने कुरा थाहा भयो । विज्ञानमा यो ठूलो क्रान्ति थियो । जैविक पदार्थमात्र होइन अजैविक पदार्थको पनि क्रमविकासको कुरा यसले स्थापित ग¥यो । अर्कोतिर रेडियमबाट निस्कने किरणले जीवित कोषलाई प्रभावित पार्ने कुरा पनि पत्ता लाग्यो । पिएरले यो किरण आफ्नो नाङ्गो पाखुरामा थापे । यसले डढाएको मासु र छाला विसेक हुन महिनौँ लाग्यो । मेरीले टेस्टट्युबमा बन्द रेडियमको किरण आफ्नो हातमा थापिन् । यसले क्यान्सरजस्ता रोगको उपचार गर्ने क्युरीथेरापी विधिको पनि विकास ग¥यो ।
यो बीच क्युरी दम्पत्तिलाई दुई पुत्री प्राप्त भयो सन् १८९७ र १९०४ मा । जेठी छोरी इरेन जोलिओट क्युरीको जीवन पनि विज्ञानमै बित्यो । प्रयोगशालामा कृत्रिम रेडियोधर्मी तत्व निर्माणका लागि जोलिओट क्युरी दम्पतीलाई रसायनशास्त्रमा सन् १९३५ को नोबेल पुरस्कार प्राप्त भयो । कान्छी छोरी एभ क्युरी अन्तर्राष्ट्रिय स्तरको पत्रकार, लेखक बनिन् । यो पछिको कुरा भयो । तर क्युरी दम्पतीलाई अभाव र गरिबीले चाहिँ छोडेन । ख्याति अन्तर्राष्ट्रिय थियोस अनुसन्धान गर्ने प्रयोगशाला थिएन । फ्रान्स सरकारको कुनै सहयोग थिएन ।
विश्वविद्यालयले हक्की स्वभावका पिएरलाई प्राध्यापकमा नियुक्ति दिन चाहिरहेको थिएन । तर क्युरी दम्पतीले भने रेडियम र यसलाई छुट्याउने रसायनिक प्रक्रियाको एकस्वाधिकार आफूहरूमा राख्न चाहेनन्, सार्वजनिक गरिदिए । नत्र उनीहरू असाधारण रूपले धनी हुनसक्थे । बल्ल बल्ल सन् १९०५ मा सोर्बनले पिएरलाई प्राध्यापकको हैसियत प्रदान ग¥यो ।
मेरीको भाग्यमा चाहिँ पीडा भोग्नु बाँकी नै थियो । सन् १९०६ को अप्रिल १९ तारिख पेरिसको साँघुरो सडकमा हिँड्दै गरेका पिएरलाई तीब्र गतिको घोडागाडीले ठक्कर दियो । दुर्घटनामा पिएरको टाउको फुट्यो। ख्यातिप्राप्त यी वैज्ञानिकको मस्तिष्क सडकमा छरपष्ट भएर छरियो । मेरीले एकैचोटी पति, साथी, शिक्षक, सहयोगी सबै गमाइन् । आठ वर्ष र सोह्र महिनाका छोरीहरू, फ्रान्सको प्रवासी जीवन, वैज्ञानिक सपना, रेडियमको कुरा अनि गरिबी मात्र साथमा थिए ।
सोर्बनले मेरीलाई पिएरको ठाउँमा नियुक्ति दियो । पिएरको उत्कृष्ट प्रयोगशाला बनाउने सपना सिङ्गै बाँकी थियो । उदास र भावशून्य अनुहारको साथ मेरीले अनुसन्धान, अध्यापन र परिवारलाई घचेट्दै लगिन् । यसैबीच सन् १९११ मा नोबेल एकेडेमीले उनलाई रेडियमका लागि रसायनशास्त्रको नोबेल पुरस्कार पनि दियो । दुइटा नोबेल पुरस्कार पाउने उनी पहिलो व्यक्ति र एकमात्र महिला हुन् ।
अर्कोतिर युरोपमा युद्धको वातावरण विकास हुँदै थियो । सन् १९१४ मा प्रथम विश्वयुद्धको सुरुवात भइछाड्यो । जर्मनीको आक्रमण पेरिसमा पनि आइपुग्यो । युद्धकालमा मेरीले आफ्नो वैज्ञानिक ज्ञानको ठूलो प्रयोग गरिन् । एक्सरे उपकरणहरू राखेर मोबाइल गाडीहरू दौडाउँदै मेरीले मानवताको ठूलो सेवा पु¥याइन् । गोली लागेर घाइते भएकाहरूको उपचारमा मेरीको योगदानले अन्ततः औषधीविज्ञानमा रेडियोलोजी शाखालाई जन्मायो । मानवतावादी योगदानको कदर गर्दै मे १५, सन् १९२२ मा राष्ट्रसंघले सर्वसम्मतिबाट उनलाई अन्तर्राष्ट्रिय बौद्धिक सहयोग समितिको सदस्यमा मनोनयन ग¥यो ।
युद्धअगाडि पेरिसमा रेडियम अनुसन्धान केन्द्र स्थापना भएको थियो । युद्धपश्चात मेरीको दैनिकी बन्यो अनुसन्धान केन्द्रको निर्देशन, अनुसन्धान र सोर्बनमा अध्यापन । जीवनको सादगीमा भने कुनै अन्तर आएन । लगाउने लुगा उही र उस्तै थियो । तर मेरी सार्वजनिक चर्चा र प्रसिद्धिबाट सधैं परपर रहिरहिन्। उनको मृत्युमा अल्बर्ट आइन्सटाइनले गरेको टिप्पणी यस्तो थियो, आजसम्म ख्यातिले भ्रष्ट नगरेको एउटै व्यक्ति म्याडम क्युरीमात्र हुन् ।
एउटा अनौठो व्यंग्य के समेत हुनपुग्यो भने रेडियम पत्ता लगाउने यी वैज्ञानिकको अनुसन्धान केन्द्र रेडियमकै अभाव झेलिरहेको थियो । यो जानकारीले मर्माहत एक अमेरिकी महिला पत्रकारको अभियानबाट अमेरिकी महिलाहरूको तर्फबाट मेरीले एक ग्राम रेडियम उपहार पाइन्, जसको मूल्य सन् १९२१ मा एक लाख अमेरिकी डलर थियो । अमेरिकी राष्ट्रपति हार्डिङको हातबाट मेरीले यो रेडियम संस्थाको नाममा ग्रहण गरिन् । मेरीले आफ्नै सक्रियतामा वार्सामा पनि रडियम अनुसन्धान केन्द्र स्थापित गरिन् जसको लागि फेरि अमेरिकी महिलाहरूसँग गुहार मागिन् एक ग्राम रेडियम उपलब्ध गराउन ।
पिएरको अनुपस्थितिमै सही मेरीले पिएरको सपना पूरा चाहिँ गरिन् । मेरीको सल्लाह, सुझाव र निर्देशन प्राप्त गर्नका लागि विद्यार्थीहरू संसारको कुनाकुनाबाट आउने क्रम बढ्दै रह्यो । कमसे कम पोल्यान्डको एकजनालाई छात्रवृत्ति दिलाउन उनको हर प्रयास हुन्थ्यो । कदाचित् त्यसो हुन सकेन भने उनी आफ्नै पैसा त्यसमा लगाउँथिन् पोल्यान्डको विद्यार्थीको लागि ।
विज्ञानमा महिलाहरूलाई सधैं प्रोत्साहित गर्थिन् उनी । उनको प्रवचन सुन्न विद्यार्थी मात्र होइन सर्वसाधारण मानिसहरू पनि आकर्षित हुन्थे । प्रयोगशालाभित्रै रमाउने र विश्राम गर्न नचाहने उनलाई आफ्नै सिर्जना रेडियमले चाल नपाउने गरी खाइसकेको थियो । उनीआफूलाई बिरामी देखाउन भने चाहन्नथिन् । हाडेमासीले रक्तकोषहरू बनाउन छोडिसकेको थियो । सन् १९३४ को जुलाई ४ का दिन यही रहस्यमय रोगका कारणले उनको मृत्यु भयो । यो रोगलाई पछि ल्युकेमिया भनेर जानियो । रेडियम र रेडियोधर्मी किरणहरूले उनका औँलाहरूलाई छियाछिया त पहिले नै पारिसकेका थिए । आफू जोखिममा परे पनि आफ्ना विद्यार्थीहरूलाई सावधानीको शिक्षा दिन भने उनी कहिले पनि चुकिनन् । उनका पोशाक, नोटबुक आदिबाट अझै पनि यी किरणहरू निस्किरहेका छन् । उनले प्रयोग गरेका यी सामानहरू अहिले सुरक्षा कवचभित्र कैद छन् । उनको नोटबुक हेर्न चाहने व्यक्ति विशेष एप्रोन लगाएरमात्र ती नोटबुकसम्म पुग्न पाउँछ ।
(लोहनी त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक हुन् ।)

 

प्रकाशित: १८ असार २०७३ ०५:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App