१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डाक्टर नहुँदा सेवा अवरुद्ध

भैरहवा – रुपन्देही जिल्ला अस्पताल (भीम अस्पताल) मा दरबन्दी भए पनि महिनौंदेखि डाक्टर उपस्थित नहुँदा स्वास्थ्य सेवा प्रभावित बनेको छ। जिल्लाको सरकारी अस्पतालको रूपमा रहेको सो अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. ज्वाला थापा महिनौंदेखि कार्यालयमा जानकारी नै नदिई अनुपस्थित रहेकाले स्वास्थ्य सेवा प्रभावित बनेको हो।

डा. ज्वाला स्त्रीरोग विशेषज्ञको रूपमा दरबन्दीमा भए पनि अस्पताल नआएकाले उपचार सेवा अवरुद्ध भएको अस्पताल प्रशासनले जनाएको छ। दरबन्दी कायम रहेकाले सो पदमा करारमा पनि चिकित्सक राख्न नमिल्ने हुँदा अस्पतालले सेवा सञ्चालन गर्न सकेको छैन। चिकित्सक भर्ना गर्न कठिनाइ आइरहेकाले अस्पतालको सेवामा असर देखिएको छ।

केही महिनादेखि अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको रूपमा नवीन दर्नाल आएपछि अस्पतालमा सुधारात्मक अवस्था देखिए पनि धेरैजसो बिरामी स्त्रीरोगसम्बन्धी आउने र दरबन्दी भए पनि स्त्रीरोग विशेषज्ञको सेवा नभएकाले अस्पताल ओझेलमा परेको छ।

नौ महिनादेखि दरबन्दीअनुसार चिकित्सक भए पनि ४४ दिन मात्र हाजिर गरेको देखिएको छ। २०७४ साल कात्तिकमा डा. ज्वाला स्त्रीरोग विशेषज्ञ र उनका पति डा. विप्लव सापकोटा मेडिकल सुपरिटेन्डेन्टको रूपमा आएका थिए। २०७५ चैतसम्म सँगै काम गरेका उनीहरूमध्ये चैतमै मेडिकल सुपरिटेन्डेन्ट काठमाडौं काजमा गएकाले डा. ज्वालाको पनि हाजिरमा अनियमितता बढेको छ।

२०७५ चैत १ देखि २०७६ वैशाख ३ गतेसम्म असाधारण बिदा लिएकी उनी वैशाखभर आठ दिन मात्र अस्पताल बसेकी थिइन्। वैशाखको २९ देखि जेठ ६ गतेसम्म उनको हाजिर काटिए उनले जबरजस्ती हाजिर गरेको अस्पतालको हाजिर पुस्तिकाबाट देखिन्छ। असारमा प्रसूति काज लिएकी उनले सो महिनामा तीन दिन मात्र हाजिर गरेकी थिइन्।

साउनमा पनि तीन दिन नै हाजिर गरेकी थापा बाँकी दिन घर बिदा लिएर बसेको देखिन्छ। भदौ दोस्रो साता हाजिर भएकी उनी एक सातापछि पुनः काठमाडौं काजमा गएको अस्पतालका प्रशासन प्रमुख गोविन्द ज्ञवालीले जानकारी दिए। भदौ पहिलो साता काजमा गएकी थापा अहिलेसम्म सम्पर्कमा नरहेको अस्पताल प्रशासनको भनाइ छ। उनले न बिदा लिएकी छिन् न कुनै प्रकारको काज नै।

स्त्रीरोगसम्बन्धी सेवा अहिले अस्पतालमा कार्यरत अन्य मेडिकल अधिकृतबाट गराउनु परेको मेडिकल सुपरिटेन्डेन्ट नवीन दर्नालले बताए। उनका अनुसार वैशाखदेखि नै नियमित नभएकाले उनको तलब रोकिएको छ, भुक्तानी भएको छैन। दर्नालले आफै पनि स्त्रीरोग विशेषज्ञ भएकाले अस्पतालको प्रशासनिक कामदेखि प्रसूतिसम्म आफैले हेर्ने गरेको बताए।

यस विषयमा काठमाडौंमा रहेकी डा. ज्वालाले आफू समायोजनमा परेर प्रदेश ३ मा आएको बताइन्। भदौदेखि नै अस्पतालमा हाजिर नभएको भन्ने प्रश्नमा उनले बिदा लिएको दाबी गरे पनि अस्पताल प्रशासनले यस्तो कुनै बिदा नलिएको जानकारी दिएको छ।

बालरोग विशेषज्ञ सेवा
यसअघि अस्पतालमा बालरोग विशेषज्ञको दरबन्दी रहेको र दरबन्दीअनुसारका चिकित्सक नरहेकाले अस्पतालले करारमा बालरोग विशेषज्ञ भर्ना गरेको छ। विशेषज्ञ चिकित्सकको अभावमा दरबन्दी भएर पनि सेवा दिन नसकेको अस्पतालले लामो समयको प्रयासपछि बालरोग विशेषज्ञ सेवा सुरु गरेको हो।

बालरोग विशेषज्ञ डा. आरिफ हुसेनले बालरोग विशेषज्ञ सेवा सुरु गरेको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले जानकारी दिए। भीम अस्पतालमा आवश्यक पूर्वाधार र उपकरण उपलब्ध भए पनि दरबन्दीका डाक्टर नहुँदा विशेषज्ञ सेवा सञ्चालन हुन सकेको थिएन। अस्पतालले हाइड्रोसिल अप्रेशन र स्थायी परिवार नियोजन सेवा पनि सुरु गर्ने तयारी गरेको छ। स्थापना कालमा तीन श­ड्ढयाबाट सुरु भएको अस्पतालले २०३५ सालमा १५ शड्ढया र २०४१ सालदेखि २५ शड्ढयासहित सुविधा प्रदान गर्दै आएको छ।

प्रकाशित: ९ पुस २०७६ ०२:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App